लेबनानमा नेपाली शान्ति सैनिकमाथि उत्तेजित भिडको आक्रमण, उपरथी ढकाल घाइते

काठमाडौं : नेपाली शान्ति सैनिकमाथि बेरुतमा आक्रमण भएको छ। आक्रमणमा सेनाका उपरथी चोकबहादुर ढकाल घाइते भएका छन्।
गएराति १२ बजे लेबनानको राजधानी बेरुतनजिक यूएआईएफआईएल मिसनका डेपुटी फोर्स कमान्डर उपरथी ढकाल सवार कन्भोयलाई प्रदर्शनकारीको भिडले रोकी तोडफोड गरेको थियो। तोडफोडका क्रममा ढकाल घाइते भएका थिए।
ढकाललाई तत्कालै उद्धार गरी संयुक्त राष्ट्रसंघकै युएन लेभल-३ अस्पताल लगिएको थियो। अस्पतालले हाल उनी खतरामुक्त रहेको जनाएको छ।
डेपुटी फोर्स कमान्डर ढकाल आफ्नो कार्यकाल पूरा गरेर स्वदेश फर्कने क्रममा रहेका थिए।
घटनाको सम्बन्धमा यूएआईएफआईएल मिसन हेडक्वार्टरले प्रेस विज्ञप्ति जारी गर्दै दक्षिण लेबनानमा सुरक्षा र स्थिरता स्थापना गर्न सेवा गरिरहेका शान्ति सैनिक माथि भएको आक्रमणबाट स्तब्ध भएको जनाएको छ।
शान्ति सैनिक माथि भएको यस किसिमको आक्रमणको निन्दा गर्दै संयुक्त राष्ट्र सङ्घले लेबनानी सरकारलाई घटनाको तत्काल अनुसन्धान गरी आवश्यक कारबाहीको माग गरेको छ।
घटनाको भर्त्सना गर्दै लेबनानका प्रधानमन्त्री र लेबनिज आर्मड फोर्सले तत्काल अनुसन्धान गरी संलग्न व्यक्ति/समूहलाई कारबाहीको दायरामा ल्याउने बताएका छन्।
फागुन ३, २०८१ शनिबार १२:४९:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।