कुम्भमेला जाँदै गरेको बोलेरो बससँग ठोक्किँदा १० जनाको घटनास्थलमै मृत्यु

एजेन्सी : भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा भइरहेको कुम्भ मेलामा जाँदै गरेका छत्तीसगढका १० जना भक्तजनको सडक दुर्घटनामा मृत्यु भएको छ। दुर्घटनामा १९ जना घाइते भएका छन्।
कोरबाबाट १० जना श्रद्धालु बोलेरोमा प्रयागराज जाँदै गरेकोमा उत्तर प्रदेशको मिर्जापुर-प्रयागराज राजमार्गमा रहेको मनुकापुरा गाउँ नजिकै राति अबेर उनीहरूको बोलेरो बससँग ठोक्किँदा दुर्घटना भएको हो।
ठोक्किँदा बोलेरोको अगाडिको भाग नराम्ररी चकनाचुर भएको थियो र बोलेरोमा सवार सबै १० जनाको घटनास्थलमै मृत्यु भएको थियो। त्यसैगरी बसमा सवार १९ यात्रु पनि घाइते भएका छन्। उनीहरूलाई रामनगरको सरकारी अस्पतालमा भर्ना गरिएको छ।
बसमा सवार सबै मध्य प्रदेशको राजगढ जिल्लाका बासिन्दा हुन्। उनीहरू महाकुम्भमा स्नान गरेर वाराणसी जाँदै थिए।
फागुन ३, २०८१ शनिबार ११:५१:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।