डा. सुनीलको अनुभव : पाँच वर्षकै उमेरमा चार कक्षा पढे, खिम्ती हाइड्रोपावरले डाक्टरी यात्रा नै बदल्यो

डा. सुनीलको अनुभव : पाँच वर्षकै उमेरमा चार कक्षा पढे, खिम्ती हाइड्रोपावरले डाक्टरी यात्रा नै बदल्यो

डा. सुनीलकुमार जोशी मामाघरको हजुरआमालाई देखेर डाक्टर पढेका रहेछन्। उनकी मामाघरकी हजुरआमा मुटु, दमजस्ता रोगले थला परेकी थिइन्। ८/९ वर्षको हुँदादेखि नै पटक-पटक वीर अस्पतालमा भर्ना गरेर उपचार गरेको सम्झन्छन्, सुनील।

सुनीलको जन्म घर वीर अस्पतालबाट नजिकै रहेको नगल टोल हो। त्यसैले उनी पनि बेलाबेलामा अस्पताल भर्ना भएकी हजुरआमालाई खाना लिएर अस्पताल पुग्थे।

अस्पतालमा डाक्टर, नर्स लगायत स्वास्थ्यकर्मीहरू सेतो एप्रोन लगाएर सफा अनि चटक्क परेको देख्थे उनी। अस्पतालमा बस्दा उनको बाल मस्तिष्कले सोच्यो- ‘ओहो! डाक्टर भएपछि त यसरी सफा भएर चटक्क लुगा लगाउन पाइने रहेछ।’

हुर्कँदै बढ्दै जाँदा उनको बाल मस्तिष्कमा ‘डाक्टर बन्नुपर्छ’ भन्ने छाप बसिरह्यो।

साथीहरूले ‘फुच्चे’ भनेर हेपेपछि...
वीर अस्पतालको नजिक नघल टोलमा २०२६ मा जन्मिएका सुनीलले वसन्तपुरको ‘ड्रिमल्याण्ड स्कुल’मा ‘कखरा’ सिके। त्यहाँ उनले एक कक्षा पुग्नुअघिको ‘आधि क्लास’ केही महिना पढे। घरमा पढ्ने वातावरण राम्रो भएकाले उनी बुवासँग घरमै पढ्थे।

‘आधि क्लास’पछि सुनीलले घर नजिकै रहेको क्षत्र पाटीको जुद्धोदय विद्यालयमा पढ्नका छनोट परीक्षा दिए। छनोट परीक्षाको नतिजा राम्रो भयो। परीक्षा दिँदा त विद्यालयका ‘रामप्रसाद सर’ले सिधै चार कक्षामा भर्ना भएर पढ्न पो सुझाव दिए।

त्यो बेला उनी पाँच वर्षका मात्रै थिए। बुवाले पाँच वर्षका सुनीललाई जुद्धोदय विद्यालयमा चार कक्षामा भर्ना गरिदिए। उनी विद्यालय जान्थे। पढ्थे। तर, अरुभन्दा निक्कै सानो भएकाले उनलाई कक्षाका ठूला साथीहरूले ‘ओइ फुच्चे’ भन्दै साह्रै हेप्न थाले। उनले विद्यालयमा लगेको खाजा पनि साथीहरूले खोसेर खाइदिन्थे।

एक पटक त तत्कालीन सोभियत संघका विद्यार्थीले एक जना नेपाली विद्यार्थीलाई कक्षा कोठामा पिटेछन्। त्यसपछि ती हातपात गर्ने सोभियत संघका विद्यार्थीलाई प्रहरीले थुनेको उनी सम्झन्छन्। ती पिट्ने विद्यार्थीका बुवाआमा पहुँच भएकै थिए। तर, उनीहरूले छोरालाई छुटाउन सकेनछन्।

खाजा खोसेर खाइदिन थालेपछि सुनील घरबाट दैनिक जसो ‘२५ पैसा’को ढ्याक बोकेर विद्यालय जान्थे। खाजा खाने पैसा बोक्न थाले भन्ने थाहा पाएपछि साथीहरूले उनको पैसा पनि खोसेर लगिदिन थाले। त्यसपछि सुनील विद्यालयको पर्खालमा पैसा इट्टाले छोपेर लुकाएर विद्यालय भित्र छिर्थे। अनि ‘टिफिन टाइम’मा त्यो २५ पैसाले चिउरा, आलु किनेर खाजा खान्थे उनी। २५ पैसाको खाजाले उनी अघाउँथे।

पछि त पर्खालमा इट्टाले छोपेर उनले लुकाएको पैसा पनि साथीहरूले चोरिदिन थालेछन्। कक्षाका ठूला साथीहरूले अति हेप्न थालेपछि साथीहरूसँग सुनील झगडा गर्न थाले। पाँच वर्षका उनले १०/१२ वर्षका साथीहरूसँग शारीरिक रूपमा भिड्न त सक्दैन थिए। तर, साथीहरूसँग छाडा शब्दमा गाली गर्न थाले। विद्यालयको त्यो बानी घरमा पनि हटेन, उनी घरमा पनि छाडा नै बोल्न थाले।

सर्वोत्कृष्ट नम्बर ल्याउँदा गणितका शिक्षकले पिटेपछि ...
जुद्धोदय विद्यालयमा समस्या भएपछि बुवाआमाले त्यहाँबाट झिकेर सुनीललाई नक्साल स्थित ‘शहीद स्मारक विद्यालय’मा एक कक्षामा भर्ना गरिदिए। केही महिना चार कक्षामा पढेका उनलाई एक कक्षाको किताब पढ्न त गाह्रै भएन। उनी धेरैजसो समय घर नजिकैकी ‘मिस’सँग गाडीमा विद्यालय जाने आउने गर्थे। त्यहाँ उनले तीन कक्षासम्म पढे। शहीद स्मारक विद्यालयमा पढ्दाको एउटा घटना सुनील कहिल्यै भुल्दैनन्।

त्यो बेला गल्ती गर्ने विद्यार्थीलाई लट्ठीले पिटेर सजाय दिने चलन भएको उनी सम्झन्छन्। एक दिन सुनील कक्षा कोठामा बसेर पढिरहेका थिए। एक जना गणित विषय पढाउने शिक्षक रिसले चूर भएर कक्षा कोठामा छिरे। अनि केही नभनी सुनील लगायतका विद्यार्थीहरूलाई ढाड र खुट्टामा लट्ठीले हान्न थाले। त्यो कलिलो अवस्थामा लट्ठीले पिटेपछि उनी नरुने कुरै भएन। रोए।

पिटि सकेपछि ती शिक्षकले कक्षामा रिसाउँदै भने, ‘मैले तिमीहरूलाई त्यत्रो पढाएको। तै पनि तिमीहरू जाँच बिगार्छौ?’ अनि सुनीललाई पनि ती शिक्षकले परीक्षामा लेखेको उत्तर पुस्तिका दिँदै ‘यस्तो पनि लेख्छन्?’ भने। सुनीलले यसो हेरे। त्यो उत्तर पुस्तिका त उनको हैन रहेछ। अनि उनले शिक्षकलाई भने, ‘सर यो त मेरो हैन।’

त्यसपछि ती शिक्षकले झस्कँदै ‘हो र?’ भने। ती शिक्षकले रोल नम्बर सोधे। अनि सुनीलले आफ्नो रोल नम्बर बताए। रोल नम्बरअनुसार गणित परीक्षाको उत्तर पुस्तिका हेर्दा सुनीलको कक्षामा गणित विषयको नम्बर त सर्वोत्कृष्ट पो रहेछ। सबै भन्दा बढी नम्बर ल्याएका सुनीललाई पिटेको थाहा पाएपछि ती पिट्ने शिक्षकको एकाएक मुहारमा परिवर्तन आयो।

सर्वोत्कृष्ट भएका विद्यार्थीलाई पिटेकोमा ती शिक्षकलाई आत्मग्लानि भएको देखिन्थ्यो। अनाहकमा सर्वोत्कृष्ट विद्यार्थीलाई पिटेपछि ती शिक्षक केही नभनी कक्षाबाट बाहिरिएछन्। त्यो बेला बालापनमा पिटाइ खाएको त्यो घटना अझै सुनीलको मानसपटलमा गढेर बसेको रहेछ।

शहीद स्मारकमा तीन कक्षासम्म पढेपछि सुनीललाई बुवाले बालाजुस्थित ‘सिद्धार्थ वनस्थली स्कुल’मा चार कक्षामा भर्ना गरिदिए। उनले त्यहीँबाट २०४१ मा एसएलसी गरे।

सुनीललाई सानैबाट डाक्टर नै बन्ने इच्छा थियो। तर, उनका बुवाको चाहना भने छोरा पाइलट बनोस भन्ने थियो। डाक्टर नै बन्ने सपना बोकेर उनले अमृत साइन्स कलेज (अस्कल)मा भर्ना भएर आइएस्सी पढ्न थाले।

रसियामा पढ्दाको त्यो सम्मान, विदेशी डाक्टर पिट्नेलाई जेल
आइएस्सीपछि डाक्टरी विषय अध्ययन गर्नका लागि सुनीलले कडा मेहनत गरे। त्यो बेला नेपालमा महाराजगञ्ज चिकित्सा क्याम्पसमा मात्रै एमबीबीएस अध्ययन गर्न पाइन्थ्यो। त्यो पनि सीमित सिट हुन्थ्यो। त्यसैले नेपालमा एमबीबीएस अध्ययनका लागि अवसर पाउन मुस्किल थियो। त्यो बेला आयआर्जन कम हुनाले भारतमा पढ्ने अवसर पाउन पनि कठिन थियो।

उनले तत्कालिन सोभियत संघमा एमडी (चिकित्सा शास्त्र)अध्ययन गर्न जानका लागि छनोट परीक्षा दिए। छनोट परीक्षा पार गरे। उनले त्यहाँ छात्रवृत्ति कोटामा अध्ययन गर्ने मौका पाए अनि सुनीलसहित तीन जना चिकित्सा शास्त्रको अध्ययनका लागि सन् १९८९ मा सोभियत संघको रसियास्थित मस्को पुगे।

दोलखामा काम गर्दा नै उनले सोचे, ‘ओहो! नेपालमा व्यवसायजन्य स्वास्थ्य सुरक्षा आवश्यक रहेछ।’ यो विषय अध्ययन र राम्रो नीति नियम आवश्यक भएको उनले महसुस गरे। अनि उनको अध्ययनको सोच पनि मोडियो।

त्यहाँ पुगेको चौथो दिनमा मेडिकल कलेज छनोट गरेर मस्कोबाट रेल चढेर सुनील र साथीहरु चार दिन पाँच रातमा ‘ताजिक स्टेट मेडिकल युनिभर्सिटी’ पुगे। त्यहाँ उनी लगायत साथीहरूले भाषा अनि एमडी अध्ययन गर्न थाले।

नयाँ ठाउँमा पुग्दा मनमा डर त्रास नहुने कुरै भएन। त्यो बेला विदेशी र छात्रवृत्तिमा अध्ययन गर्न सोभियत संघमा पुगेका विद्यार्थीहरूलाई निक्कै सम्मानका साथ हेरिने गरेको उनी सम्झछन्। विदेशी विद्यार्थीलाई स्थानीयले छिस्रिक्क चलाएको वा दुर्व्यवहार गरेको खण्डमा सोभियत संघका नागरिकलाई कडा कारबाही समेत भएको सुनीललाई अझै याद छ।

एक पटक त तत्कालीन सोभियत संघका विद्यार्थीले एक जना नेपाली विद्यार्थीलाई कक्षा कोठामा पिटेछन्। त्यसपछि ती हातपात गर्ने सोभियत संघका विद्यार्थीलाई प्रहरीले थुनेको उनी सम्झन्छन्। ती पिट्ने विद्यार्थीका बुवाआमा पहुँच भएकै थिए। तर, उनीहरूले छोरालाई छुटाउन सकेनछन्। पछि पिटाइखाने ती नेपाली विद्यार्थीले माफी दिएपछि मात्रै पिट्ने विद्यार्थी छुटेको सुनीलले सुनाए।

त्यहाँको सात वर्षे एमडी अध्ययन सकेपछि सुनील सन् १९९६ मा नेपाल फर्किए।

चिनेको डाक्टर नभेट्दा काउन्सिलमा नाम दर्ता गर्नै कठिन
नेपाल फर्किएपछि नेपाल मेडिकल काउन्सिलमा नाम दर्ता हुनुपर्ने थियो। त्यो बेला चिकित्सकको नाम दर्ताका लागि एक जना चिनेका चिकित्सक साक्षी बस्नुपर्ने थियो। तर, डा. सुनीलको त कोही पनि आफन्त डाक्टर थिएनन्।

तर सँगै डाक्टरी विषय अध्ययन गरेर फर्किएकी साथीको बुवाले चिनेका एक जना चिकित्सक (स्वर्गीय डा. जिस्नुप्रसाद रिजाल)ले उनको लागि साक्षी बसेर दर्ताका लागि सिफारिस गरे। रिजाल मेडिकल काउन्सिलको पहिलो नम्बरमा दर्ता हुने चिकित्सक रहेछन्।

ती चिकित्सकको सिफारिसले उनको र उनकी साथीको पनि नाम काउन्सिलमा दर्ता भयो। त्यसपछि भने उनी ढुक्क भए। पछि नाम सिफारिस गर्न चिकित्सक चिनाउने तिनै महिला साथीसँग डा. सुनीलको विवाह भयो।

डा. सुनीललाई वीर अस्पतालमा काम गर्ने भने इच्छा मरेकै थिएन। काउन्सिलमा दर्ता भएपछि उनले वीर अस्पतालमा काम गर्न पनि थाले। त्यो बेला डाक्टरको खाँचो थियो। तर, पनि बिना तलब काम गर्नुपर्ने अवस्था थियो। एक वर्ष काम गरिसकेपछि उनले वीरमा मासिक तीन हजार पाउन थाले। उनले एउटा निजी अस्पतालमा पार्ट टाइमरका रूपमा पनि काम गर्थे।

सुनीलले वीरमा एक वर्ष आकस्मिक कक्ष अनि करिब एक वर्ष सर्जरीको युरोलोजी विभागमा काम गरे। उनले त्यहाँ डा. असर्फी शाह र डा. अर्जुनदेव भट्टसँग युरो सर्जरीसम्बन्धी ज्ञान तथा सीप सिक्ने मौका पाए। पछि-पछि त उनी युरो सर्जरी सम्बन्धी जटिल किसिमका सर्जरी समेत गर्न सक्ने भए।

अध्ययनको त्यो मोड र अनुसन्धानमा लगाव
वीर अस्पतालमा करिब दुई वर्ष काम गरिसकेपछि डा. सुनील दोलखाको खिम्ती ‘हाइड्रोपावर प्रोजेक्ट’ पुगे। काठमाडौंमा जन्मे हुर्केका उनी त्यो अनकन्टारमा काम गर्न थाले। हिँडेर गाउँ-गाउँमा पुग्थे उनी। त्यहाँ उनले ‘हाइड्रोपावर’मा काम गर्ने मजदुर, कर्मचारी अनि स्थानीयको औषधि उपचार गर्थे। स्थानीय तहमा विभिन्न स्वास्थ्य शिविर लिएर गाउँ-गाउँ पुगेर उनले बिरामीको औषधि उपचार गरे।

दोलखामा उनले जिल्ला जनस्वास्थ्य कार्यालय लगायतसँग मिलेर काम गर्थे। त्यहाँ बिरामी हेर्न भ्याइनभ्याइ हुन्थ्यो उनलाई। खिम्ती हाइड्रपावरको जागिरे भएर काम गर्दा दुर्घटनामा परेका धेरै घाइतेलाई उनले औषधि उपचार गरे।

त्यहाँ काम गर्दा नै उनले सोचे, ‘ओहो! नेपालमा व्यवसायजन्य स्वास्थ्य सुरक्षा आवश्यक रहेछ।’ यो विषय अध्ययन र राम्रो नीति नियम आवश्यक भएको उनले महसुस गरे। अनि उनको अध्ययनको सोच पनि मोडियो।

दोलखामा डा. सुनीलले करिब दुई वर्ष काम गरे। दोलखापछि नै डा. सुनीलले कडा मेहनत गरेर नर्वे सरकारको ‘नोराद’ फेलोसिप गर्ने अवसर पाए। त्यो अध्ययनका लागि करिब तीन हजार आवेदकमध्ये १६ जना छनोट भएका रहेछन्।

डा. सुनीलका एक सय ५० भन्दा बढी वैज्ञानिक आलेख (ओरिजिनल रिसर्च) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका जर्नलमा प्रकाशित भएका छन्। अनुसन्धानको नसामा डुब्ने चिकित्सक उनका सम्पादकीय तथा रिभ्यु आर्टिकलगरी दुई सय भन्दा बढी वैज्ञानिक आलेख प्रकाशित छन्।

अनि दोलखाको खिम्तीमा काम गरेकैले उनले १६ भित्र परेर नर्वेमा त्यो फेलोसिप गर्ने अवसर पाएका रहेछन्। उनी सन् २००० मा नर्वे पुगे। त्यो नै उनको चिकित्सकीय जीवनको अध्ययनको मोड थियो।

त्यहाँको ‘युनिभर्सिटी अफ वर्गेन’मा डा. सुनीलले ‘व्यवसायजन्य स्वास्थ्य सुरक्षा’ विषय पढ्न थाले। जुन कोर्सलाई ‘मास्टर्स इन अकुपेश्नल मेडिसिन’ र ‘सामुदायिक चिकित्सा’ पनि भनिन्छ।  सन् २००२ मा ‘व्यवसायजन्य स्वास्थ्य सुरक्षा’ विषय अध्ययन सकेर उनी नर्वेबाट नेपाल फर्किए।

नेपाल फर्किएपछि डा. सुनीलले विशेषगरी पेशाका क्रममा हुने दुर्घटनाका विषयमा केन्द्रित रहेर काम गर्न थाले। नेपाल फर्किएपछि डा. सुनील काठमाडौं मेडिकल कलेजमा लेक्चररका रूपमा काम गरे।

‘व्यवसायजन्य स्वास्थ्य सुरक्षा’ विषयको अध्ययन गरेर नेपालमा त्यो बेला काम गर्ने आफू पहिलो चिकित्सक समेत भएको उनले सुनाए। डा. सुनीलले पछिसम्म पनि शल्य चिकित्सा विषय अध्ययन गर्ने सोच भने छोडेका थिएनन्।

तर, उनले ‘व्यवसायजन्य स्वास्थ्य सुरक्षा तथा सामुदायिक चिकित्सा’ विषयमा नै केन्द्रित भएर काम गर्दै गए। अनि यही विषयमा नै उनी रमाए।

उनले काठमाडौं मेडिकल कलेजमा काम गर्न थालेको करिब २२ वर्ष भयो। प्रा. डा. हेमाङ्ग दीक्षितले निक्कै माया गरेकाले पनि धेरै शैक्षिक काम गर्न सफल भएको उनले सुनाए।

डा. सुनील बढुवा हुँदै प्राध्यापक भएको ११ वर्ष भइसकेको छ। काठमाडौं विश्वविद्यालय अन्तर्गत आफू ‘सामुदायिक चिकित्सा’ विषयको पहिलो नेपाली चिकित्सक तथा प्राध्यापक समेत भएको उनले सुनाए।

हाल बिरामीको औषधि उपचार, चिकित्सा शास्त्रका विद्यार्थीलाई पढाउने अनि चिकित्सा तथा स्वास्थ्यसँग सम्बन्धी वैज्ञानिक खोज तथा अनुसन्धान गरी मुख्य तीन वटा काम गर्नु डा. सुनीलको दैनिकी हो।

डा. सुनीलका एक सय ५० भन्दा बढी वैज्ञानिक आलेख (ओरिजिनल रिसर्च) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका जर्नलमा प्रकाशित भएका छन्। अनुसन्धानको नसामा डुब्ने चिकित्सक उनका सम्पादकीय तथा रिभ्यु आर्टिकलगरी दुई सय भन्दा बढी वैज्ञानिक आलेख प्रकाशित छन्।

उनी युनिभर्सिटी अफ अक्सफोर्ड र युनिभर्सिटी अफ वेष्ट अफ इङ्ल्याण्डमा समेत भिजिटिङ प्रोफेसरका रुपमा प्राध्यापनरत छन्। अनुसन्धानलाई जटिल बनाउन नहुने र सामान्यीकरण गर्नुपर्ने डा. सुनीलको धारणा छ।

फागुन ३, २०८१ शनिबार ११:४०:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।