कार्यसम्पादन मूल्याङ्कनमा लुम्बिनीमा धुर्कोट गाउँपालिका पहिलो

बुटवल : लुम्बिनी प्रदेशमा धुर्कोट गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा पहिलो भएको छ। प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्कअनुसार लुम्बिनीको गाउँपालिकामध्येमा धुर्कोट गाउँपालिका प्रथम भएको हो।
आयोगका अनुसार धुर्कोटले ७६ दशमलव सात अङ्क पाएको छ। प्रदेशमा गाउँपालिकाको तर्फबाट गुल्मीको रूरूक्षेत्र गाउँपालिका दोस्रो र छत्रकोट गाउँपालिका तेस्रो भए। रूरूक्षेत्रले ७६ दशमलव दुई र छत्रकोटले ७४ दशमलव आठ अङ्क प्राप्त गरेका छन्।
देशभरका सात सय ५३ पालिकामध्ये धुर्कोट १०औँ स्थानमा छ भने लुम्बिनी प्रदेशका एक सय नौ पालिकामध्ये तेस्रो स्थानमा छ।
प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश तथा पालिकाको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि–२०७८ अनुसार अङ्क प्रदान गर्छ। असार १० भित्र बजेट पेस गरे/नगरेको, असार मसान्तभित्र बजेट पास गरे/नगरेको, वार्षिक बजेट समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको, विनियोजित रकमअनुसार खर्चको अवस्था, बेरुजु, आवधिक योजनाको तर्जुमा, कक्षा १ देखि ८ सम्म विद्यार्थी भर्ना दरलाई वित्त आयोगले सूचकको रूपमा मापन गरेको छ।
त्यसैगरी कक्षा ८ को तुलनामा कक्षा ९ मा विद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट कक्षा १० मा एक दशमलव छ वा सोभन्दा बढी जिपिए प्राप्त गरेका विद्यार्थी प्रतिशत, चारपटक गर्भजाँच गरेको महिलाको अनुपातलगायत १७ सूचकका आधारमा वित्त आयोगले अङ्क प्रदान गर्ने धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले जानकारी दिए।
आयोगको तथ्याङ्कअनुसार गुल्मीको रेसुङ्गा नगरपालिका ७४ दशमलव चार, गुल्मीदरबार गाउँपालिकाले ६४ दशमलव दुई, मदाने गाउँपालिकाले ६८ दशमलव नौ अङ्क प्राप्त गरेका छन्।
मालिकाले ७३ दशमलव छ, इस्माले ५६ दशमलव छ, मुसिकोटले ६१ दशमलव चार, चन्द्रकोटले ६२ दशमलव दुई, सत्यवतीले ६३ दशमलव छ तथा कालीगण्डकीले ६० दशमलव दुई अङ्क प्राप्त गरेका छन् । गाउँपालिकाका अध्यक्ष पोखरेलले कर्मचारी, जनप्रतिनिधि र सिङ्गो समुदायको सहयोगका कारण यो सफलता हासिल भएको बताए।
फागुन २, २०८१ शुक्रबार २२:१९:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।