लाप्राकको अनौठो चलन, रोप्नु अगाडि गर्छन् मकैको विवाह

गोरखा : माघ शुक्ल द्वितीया तिथि पारेर गोर्खाको धार्चे गाउँपालिका–४ लाप्राकका किसानले मकैको विवाह गरे। मकैको बिहेपछि मात्र बारीमा रोप्नुपर्ने परम्पराअनुसार स्थानीयले सामूहिक रूपमा शुक्रवार मकैको बिहे गरे। विवाहमा गाउँको एक घरको ठुलो आँगनमा स्थानीय भेला भएर आआफ्नो घरको मकैको बीउसँगै स्थानीय घाँटुकन्या र कुमारलाई डोलीमा बोकी गाउँ परिक्रमा गराएर मकैको बिहे गरेका थिए।
स्थानीय परम्परा अनुसार मकै, कन्या र कुमार बोकेका जन्तीले वाद्यवादनसहित गीत गाउँदै, नाच्दै गाउँको परिक्रमा गरेका थिए।
’यहाँ मकैको बिहे गरेपछि मात्र बारीमा रोप्ने चलन छ’, स्थानीय मार्सिङ गुरुङले भने, “यसपालि पानी पर्न ढिलो भयो। बिहीबार अलिअलि पानी पनि पर्यो। अब मकै रोप्न हुन्छ भनेर मकैको बिहे गरेका हौँ।’
बिहेको अघिल्लो दिन बिहीबार डाँडापूजा गरिएको थियो। धार्चे गाउँपालिकामा खेत छैन। यहाँको मुख्य खेती नै मकै हो। स्थानीयका अनुसार मकैको बिहे गरेको दोस्रो सातादेखि सबै किसानहरूले बारीमा मकै रोप्न थाल्छन्।
लाप्राक एक वडा, एक बस्ती भएको गाउँ हो। यहाँ एकै गाउँमा पाँच सयभन्दा धेरै घरधुरी छन्। वर्षौँदेखि मकैको विवाह गर्ने परम्परा कायम छ। गाउँले सबै मिलेर मकैको जन्ती गएको, मकैको भोज खाएको र नाचगान गरेको स्थानीय मणिकामदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक धनबहादुर गुरुङले बताए।
प्रकृति पूजा गर्ने बोन सम्प्रदायले मकैको बिहे गरेपछि मात्र मुख्य बालीको रूपमा रहेको मकैखेती लगाउन सुरु गर्छन्। मकैको उब्जनी राम्रो होस्, असिना पानीले नास नगरोस्, रोग नफैलियोस् भनेर मकैको बिहे गर्ने गरेको गुरुङले जानकारी दिए।
बिहेका लागि गाउँका जैसीले निकालेको साइतअनुसार विवाहको अघिल्लो दिन हरेक घरका सदस्यले मकैका घोगा जमिनमा गाड्ने चलन छ।
‘अघिल्लो दिन गाडेको मकै पूजाको दिन बिहान झिकेर गाउँ परिक्रमा गरिन्छ’, गुरुङले भने, ‘बिहान सबै जना ठुलो आँगनमा जम्मा भइन्छ र महिलाहरूले घाँटु कुमारीलाई सिँगारेर अलि पर जङ्गलमा लुकाएर राख्छन्। अनि गाउँबाट एक जना बालकलाई दुलाहा जस्तो सिँगारेर डोलीमा चढाएर ढ्याङ्ग्रो, मादल र झ्याली बजाउँदै जन्ती लैजाने चलन छ।’
उनका अनुसार जङ्गलमा पुगेपछि कन्या र कुमारलाई दुइटा डोलीमा बोक्दै गाउँको परिक्रमा गरिन्छ। गाउँ फर्केपछि मकैलाई सुनपानी, गोबर र तीतेपातीले चोख्याउने चलन छ। यही मकैलाई अरू बिउमा मिसाएर गाउँका सबै किसानले बारीमा रोप्ने प्रचलन लाप्राकमा कायम छ।
-रासस
फागुन २, २०८१ शुक्रबार २१:४८:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।