भ्यालेन्टाइन डे मनाउन भारतकै गुलाफको भर

भ्यालेन्टाइन डे मनाउन भारतकै गुलाफको भर

काठमाडौँ :  १४ फेब्रुअरीलाई प्रेम दिवसको रूपमा मनाउने क्रम नेपालमा पनि फैलिएसँगै यो दिन प्रेमको प्रतीक गुलाफको फूलको माग उच्च हुन्छ। तर यो समयमै नेपालमा उत्पादन भने कम हुन्छ। अनि प्रेम दिवस मनाउन पनि भारतबाटै ल्याएको गुलाफको भर पर्नुपर्छ।

काठमाडौँको कमलादीमा पुष्प व्यवसाय गर्दै आएका श्रीकृष्ण कार्कीका अनुसार भ्यालेन्टाइनको लागि गुलाफको फूलको उत्पादन कम हुन्छ। माग उच्च हुने भएपछि आयात गर्नुको विकल्प हुन्न।

‘भ्यालेन्टाइन डेका लागि नेपालको उत्पादनले माग धान्दैन। यो बेलामा उत्पादन कम हुने तर माग उच्च हुने गरेको छ। प्राय भारतबाट नै आउँछ’ उनले भने।

उनका अनुसार नेपाली गुलाबको मूल्य प्रतिगोटा ८० रुपैयाँ भए पनि भ्यालेन्टाइनको लागि भारतबाट आयात गर्दा १ सय ५० रुपैयाँसम्म पर्छ।

‘ग्राहकहरूलाई कम मूल्यमा दिन पाए हुन्थ्यो भन्ने त लाग्छ। तर हामीले किन्दा  नै बढी मूल्य पर्छ,’ उनले भने ‘यतिबेला १५० रुपैयाँमा बेच्नु परिरहेको छ। नेपालकै उत्पादन हुने हो भने ८० रुपैयाँमा नै दिन सकिन्थ्यो।’

पुष्प व्यवसाय बढीजसो विवाहको मौसममा मात्र फस्टाउने गरेको उनले सुनाए। सिजनेवल व्यवसाय भएकाले व्यवसाय टिकाउन कठिन भइरहेको उनले बताए।

युवाहरूमा उपहारका रूपमा फुल दिने परम्परा बढ्दै गएकोमा भने उनी खुसी देखिए।

दरबारमार्गमा व्यवसाय गर्दै आइरहेका अर्का व्यापारी सुशील केसीका अनुसार भ्यालेन्टाइन डेमा खपत हुने उपहारमा फूल नै बढी हुने गरेको छ।

करिब २३ वर्षदेखि व्यवसाय गर्दै आइरहेको सुनाउँदै उनले फुल र अन्य गिफ्ट आइटहरुको व्यापार राम्रो भइरहेको बताए।

‘पहिले भन्दा व्यापार राम्रो हुँदै गइरहेको छ। पसलहरू धेरै नै छन्, प्रतिस्पर्धा बढी छ। फुल एवम् गिफ्टका आइटमहरू नेपालमा उत्पादन कम हुने भएकाले भारतबाट ल्याउनु परेको छ’ उनले भने।

उनले भ्यालेन्टाइन डेका ९० प्रतिशत सामान भारतबाटै आउने गरेको बताए।

काठमाडौँ वानेश्वरका अर्का व्यापारी अंशु विक्रमका अनुसार भ्यालेन्टाइनमा गुलाब लिल्ली, जर्वेराजस्ता फूलहरूको बढी खपत हुने गरेको छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार प्रत्येक वर्ष फेब्रुअरी १४ मा मनाइने भ्यालेन्टाइन डे मा पाँच करोड १० लाख रुपैयाँ बराबरको चार लाख २५ हजार स्टिम गुलाब खपत हुने गरेको भए पनि स्थानीय उत्पादन अपुग हुने गरेको छ।

भारतबाट ७५ प्रतिशत गुलाब आयात हुने गरेको छ। नेपालमा मौसम अनुकूल मात्रै उत्पादन हुने र जाडो मौसमका कारण स्थानीय उत्पादन कम हुने हुँदा आयातमा भर पर्नु परेको व्यवसायीको भनाइ छ ।

मनीषा बस्नेत/नेपाल न्युज बैंक 

फागुन २, २०८१ शुक्रबार १७:३२:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।