दबाबपछि समातिए प्रहरी कुटपिटमा जोडिएका एमाले विद्यार्थी नेता जोशी, आपराधिक रेकर्ड पटके

काठमाडौँ : प्रहरी कुटपिट घटनामा संलग्न रहेको आरोपमा एमाले विद्यार्थी सङ्गठन अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमल जोशी पक्राउ परेका छन्। काठमाडौं प्रहरीले बिहीबार उनलाई पक्राउ गरेको हो।
माघ २४ राति डिउटीमा खटिएका दरबारमार्ग वृत्तका प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नर्गेन्द्रराज विष्ट ठमेलमा एक समूहबाट कुटिएका थिए। सो समूहले प्रहरीको मोटरसाइकल लडाएर तोडफोड गर्ने, प्रहरीलाई हेल्मेटले हानेका थिए।
प्रहरी अनुसन्धानमा सो घटनामा पाँच जना संलग्न रहेको देखिएपछि ताप्लेजुङका दिनेश सिग्देल र डडेल्धुराका रमेश फुलारा माघ २७ मा पक्राउ परेका थिए। घटनास्थलको फुटेजमा जोशी प्रहरी कुट्न खोज्नेलाई छुटाउन खोजेको देखिएको थियो।
अन्य दुई जना फरार छन्। घटनामा जोशी समेत संलग्न भए पनि सत्ताधारी दलको विद्यार्थी नेता भएकाले कार्वाहीको दायरामा नल्याएको भन्दै संसद् र सामाजिक सञ्जालमा आलोचना भएपछि गृहमन्त्री रमेश लेखकले नै प्रहरी कुटपिटमा संलग्न जो कसैलाई कार्वाहीको दायरामा ल्याउन निर्देशन दिएका थिए।
प्रहरीमा रहेको रेकर्ड अनुसार जोशी पटके देखिएका छन्। उनीमाथि यस अगाडि नै ज्यान मार्ने उद्योग अभद्र व्यवहारदेखि लिखत किर्तेसम्ममा मुद्दा चलेको थियो।
फागुन १, २०८१ बिहीबार २०:२१:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।