एयरटेल सहकारी ठगी : ६४ करोड बिगो, २८ जना प्रतिवादी

एयरटेल सहकारी ठगी : ६४ करोड बिगो, २८ जना प्रतिवादी

काठमाडौं : सहकारीमा रहेको वचतकर्ताहरुको ६४ करोड २८ लाख अपचलन गरेको आरोपमा एयरटेल बचत तथा ऋण सहकारी संस्थाको संचालक समितिका सदस्यसहित २८ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दायर भएको छ।

बिहीबार काठमाडौँ जिल्ला अदालतमा दायर भएको मुद्दामा उनीहरूले काठमाडौँ महानगरपालिका वडा नम्बर २२ मा रहेको एयरटेल बचत तथा ऋण सहकारी संस्थामा रहेको वचनकर्ताहरूको रकम अपचलन गरेको दाबी गरिएको छ।

अभियोग पत्रमा राजकुमार अग्रवाल, विकास गोयडका, जितेन्द्र प्रसाद साह, भगवती देवी कलवार, हेमराज बरमैचा, लक्ष्मी खड्‌का, केदार लुइँटेल, हेम राज लुइँटेल, उत्तम अर्याल, कविता अग्रवाल, हरिभक्त सिवाकोटी लगायतलाई प्रतिवादी बनाइएको छ।

यसैगरी विनोद कुमार अग्रवाल, श्रीराम अधिकारी, नवराज अधिकारी, राजेश आले, सुशील अधिकारी, अनिल लुइँटेल, राज कुमार बुढाथोकी, राजेश कृष्ण प्रसाद श्रेष्ठ, शिवराज नेपाल, शिव खतिवडा, शिवओम श्रेष्ठ यसका प्रतिवादी छन्।

बिहीबार दायर भएको अभियोगपत्रमा हेमराज लुइँटेल, शारिका जैन, चन्द्र प्रसाद भण्डारी, विशाल आचार्य, सविन घिमिरे, राज कुमार, केदार लुइँटेल, सुरेन्द्र बहादुर न्हुच्छे प्रधान, सन्तोष खत्री, जनकराज खकुरेल, वर्धमान पिन्वा, दयाराम पौडेललाई प्रतिवादी बनाइएको छ।

एटेल बचत तथा ऋण सहकारीबाट प्राप्त ऋणीहरूले लिएको ऋणको विवरण समेतका आधार प्रमाणहरूबाट प्रतिवादीहरूमध्ये राज कुमार अग्रवाल र सारिका जैनले सहकारीको सञ्चालक समितिमा रहेको अवस्थामा अन्य प्रतिवादीहरुसंग एक आपसमा मिलेमतो गरी बचतकर्ताहरूले सहकारीमा बचतको लागी राखेको रकम आफू खुसी आफ्नो नाममा तथा आफू अनुकूलका विभिन्न व्यक्तिहरूको नाममा कानुन विपरीत ऋण प्रवाह गरेको अभियोग पत्रमा दाबी गरिएको छ।

अभियोग पत्रमा उनीहरूले ६४ करोड, २८ लाख, २१ हजार कानुन विपरीत लिई हानी नोक्सानी पुर्याई सहकारी ऐन, सम्बन्धी कसुर गरेको दाबी गरिएको छ। सो सहकारी २०६६ देखी सञ्चालनमा आएको थियो।

अभियोग पत्रमा उनीहरूले एयरटेल बचत तथा ऋण सहकारी संस्थाबाट ऋण लिई उक्त ऋण खाने पचाउने नियत राखी तिर्नु पर्ने ऋण समयमा नतिरी सहकारीलाई हानी नोक्सानी पुर्याई सहकारीलाई ठगी गरेको उल्लेख छ।

फागुन १, २०८१ बिहीबार १९:२७:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।