ललितानिवास प्रकरण : पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईविरुद्धको मुद्दा पूर्ण इजलासमा

ललितानिवास प्रकरण : पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईविरुद्धको मुद्दा पूर्ण इजलासमा

काठमाडौं : ललितानिवास जग्गा प्रकरणमा निर्णय गर्ने पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई छानबिनको दायरामा ल्याउन माग गर्दै दायर गरिएका रिट निवेदनहरू सर्वोच्च अदालतको पूर्ण इजलासमा पेस हुने भएका छन्।

न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको संयुक्त इजलासले बिहीबार तीनवटा निवेदनहरूलाई पूर्ण इजलासमा पठाउन आदेश दिएको हो।

दुई न्यायाधीशबिच राय बाझिएमा वा विषयवस्तुको गम्भीरता र कानुनी व्याख्याको जटिलता देखिए विचाराधीन मुद्दा पूर्ण इजलासमा पेस हुनसक्ने कानुनी आधार रहेको छ। आदेशको प्रति तयार नभइसकेकाले सर्वोच्चको इजलासले के आधार टेकेको हो सो खुलेको छैन।

बालुवाटारमा रहेको ललितानिवास परिसरको सरकारी जग्गा व्यापारी, राजनीतिक नेतृत्व र भूमाफिया मिलेर व्यक्तिको नाममा लगेको खुलेपछि नेपाल र भट्टराई समेत छानबिनको दायरामा आएका थिए। उनीहरूको प्रधानमन्त्री भएको बेलामा भएका निर्णयका आधारमा समेत सरकारी जग्गा व्यक्तिको नाममा गएको खुल्दा पनि दुबैमाथि मुद्दा दायर भएको थिएन।

फागुन १, २०८१ बिहीबार १८:१७:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।