मञ्जुकुमारको हिजोको कुरा : पहिलो नेपाली रङ्गिन फिल्म ‘कुमारी’देखि डबल रोलको ‘जीवनरेखा’सम्म खिचेका छाँयाकार

मञ्जुकुमार श्रेष्ठको बुबा शिक्षा मन्त्रालयमा जागिरे थिए। अमेरिकी फण्डमा सानो ठिमीमा शैक्षिक शिक्षा सामाग्री केन्द्र खुल्यो। उनको बुबाले परिवारलाई देखाउनका एक दिन क्यामरा घर ल्याए। बालक श्रेष्ठको मनमा त्यो क्यामरा निकै गढ्यो। उनलाई लाग्यो एक दिन म क्यामरामेन बनेर यो चलाउँछु।
२०२९ मा शाही नेपाली चलचित्र संस्थानमा जागिरे भए उनी। ३० सालमा संस्थानबाट फिल्म ‘मनको बाँध’निर्माण हुने भयो। त्यो समयमा निर्देशक,लाइटमेन,क्यामेरामेन भारतबाट झिकाउनुपर्थ्यो।
फिल्म सुटिङ गर्दागर्दै क्यामेरामेन बिरामी भएपछि उनी आफैँले खिचे। त्यसपछि उनको छाँयाकारको यात्रा सुरु भयो। उनले नेपालको पहिलो रङ्गिन फिल्म ‘कुमारी’, ‘जीवन रेखा’ पनि खिचे। त्यसपछि उनले पछाडि फर्केर हेर्नु परेन।
२०३० सालबाट अहिलेसम्म ७० भन्दा बढी फिल्म खिचिसकेका छन् उनले। अहिले ७५ वर्ष पुगेका फिल्म निर्देशक,छाँयाकार, गीतकार र निर्मातासमेत भइसकेका श्रेष्ठले यसरी हिजोका कुरा सम्झिए :
बाल्यकालमा नै आर्टमा चाख
काठमाडौँको डिल्लीबजारमा जन्मिएको हो म। ७५ वर्ष पुगेको थाहै भएन। आफूले बिताएका क्षण सम्झँदा निकै आनन्द लाग्छ। सानैमा आर्टप्रति अलिक रुचि थियो मेरो। स्कुल नजाँदै पेन्सिलबाट मान्छेहरूको तस्बिर पेपरमा बनाउँथे। स्कुल सुरु भएपछि त अझैँ सक्रिय भइहालेँ।
त्यो समयमा मैले,गौतम बुद्ध लगायतका धेरै तस्बिर बनाइसकेको थिएँ। पछि गएर चित्रकार बन्छु जस्तो लागेको थियो।
त्यो समयमा राणा परिवार र केही समितिसँग मात्रै क्यामरा थियो। भिडियो त धेरै परको कुरा भइहाल्यो। सामान्य परिवारमा जन्मेको मलाई जसरी कागजमा चित्र कोर्न सकिन्छ त्यसरी नै फोटो खिच्न वा मान्छेले जे गर्यो त्यो भिडियो नै खिच्न पनि सकिन्छ भनेर कहाँ थाहा हुनु।
डिल्लीबजारको विजय मेमोरियल स्कुलबाट मेरो पढाई अगाडि बढेको हो। त्यहाँ पढ्दा पनि मेरो ध्यान स्केचमै थियो।
मेरो बुबासहित टोलको अन्य सदस्यहरूको सक्रियतामा विजय मेमोरियल स्कुल निर्माण भएको हो। मेरो बुबा शिक्षा मन्त्रालयमा काम गर्नुहुन्थ्यो। उहाँले धेरै सहयोग गर्नु भएको छ स्कुल बनाउन।
त्यही समयमा सानो ठिमीमा शैक्षिक शिक्षा सामाग्री केन्द्र खुल्यो। अमेरिकी सरकारको सहयोगमा खुलेको केन्द्रमा केही शैक्षिक सामाग्रीसँगै पुराना क्यामेराहरू पनि राखिएको रहिछ।
लेन्स भएको एउटा सानो क्यामेरा रहेछ। बुबाले त्यो क्यामरा देखाउन घरमा ल्याउनुभयो। यो २०१४-१५ को कुरा जस्तो लाग्छ। आफूले मिहिनेत गरेर कागजमा कोरेको स्केचभन्दा पनि राम्रो खिच्ने उपकरण नि हुँदो रहेछ भन्ने देख्दा छक्क पर्ने नै भइयो। अब स्केच हैन त्यो क्यामरा चलाउनुपर्छ भन्ने लाग्यो।
बुबासँग जिद्दी गर्दै फोटो खिच्न क्यामरा माग्दा बिग्रिएला भनेर डराएर दिनु भएन। देखाउन मात्र ल्याएको भनेर मान्दै मान्नु भएन। मैले पनि जिद्दी छाडिन।
बुबाले ‘लौ’ भनेर अनुमति दिएपछि क्यामेराबारे अंग्रेजी किताब पढ्दै त्यही अनुसार रिल किनेँ। क्यामेरामा लोड पनि गरेँ। वान ट्वान्टी सेभेन भन्ने रिल थियो। त्यसबाट १६ वटा फोटो खिच्न सकिन्थ्यो।
त्यहीँ रिलबाट मैले बैनी, भाइ, आमा, हजुरआमा लगायतको फोटो खिचेँ। त्यतिबेला रिल धुलाउन असन बजार आउनुपर्थ्यो। रिल धुलाएपछि त गजबको फोटोहरू पो देखियो।
फोटो चैँ ब्ल्याक एन्ड ह्वाइट। कलर फोटो धुलाउन त हङकङ लैजानुपर्थ्यो। मैले जीवनमा पहिलो पटक खिचेका ती फोटोहरू अहिले पनि छन्।
आफैँले खिचेको फोटो देखेपछि मलाई आर्ट भन्दा फोटोग्राफीमा इन्ट्रेस बढ्यो। आर्टमा के-के मिल्दैनथ्यो। फोटो त ठ्याक्कै आउने। किन आर्ट गर्नु, फोटै खिच्ने भनेर क्यामरा खोज्नतिर लागेँ।
क्यामरा किन्न पनि सकियो। फोटो धुलाउन घरमा नै डार्क रुम बनाएँ। अँध्यारोमा रिल हालेर, अँध्यारोमा नै राखेर धुनुपर्ने बुझेपछि त्यही अनुसार काम गरेँ। सिकियो।
सहयोगी त्यही फोटोग्राफीबारे एउटा अंग्रेजी भाषाको किताब थियो। त्यो पढ्ने अनि त्यही अनुसार गर्ने। त्यसपछि अब यसैलाई पेसा बनाउँछु भनेर लागेको सफल पनि भयो। अहिलेसम्म यही पेसामा छु।
२२ रुपैयाँ प्लेन भाडा
मलाई सबै खेलमा अति इन्ट्रेस थियो। फुटबल सिकाउने कोच नै थिए। फुटबलसँगै बक्सिङ, दौडमा रुचि थियो। दौडमा भाग लिन काठमाडौँबाट पहिलो पटक प्लेन चढेर वीरगन्जसम्म जान पाएँ। त्यो अञ्चलस्तरिय दौड प्रतियोगिता थियो।
प्लेन चढेर सिमरा गएँ। त्यहाँबाट गाडीमा वीरगन्ज जानुपर्थ्यो। यो चैँ २०२८ सालको कुरा हो। त्यतिबेला प्लेनको टिकट मूल्य २२ रुपैयाँ थियो।
क्यामेरा त मेरो साथैमा हुन्थ्यो। अञ्चलस्तरीय दौडमा सहभागी भएर पुरस्कार पनि जितेको थिएँ। तर प्राइज नलिई गाडी चढेर काठमाडौँ आए। गाडी चढ्ने खुब रहर थियो। त्यसैले पुरस्कार लिनु भन्दा अगाडि नै बस चढ्न हिँडेको म।
भन्सारबाट काठमाडौँ आउने जिपले १० रुपैयाँ भाडा लिन्थ्यो। गाडी एकदम कम चल्थेँ। भन्सारबाट छुटेका आएका जिपका ड्राइभरहरूले खर्च जुटाउन काठमाडौँ आउन लागेकालाई ल्याउँथे। म पनि १० रुपैयाँ तिरेर त्यस्तै गाडीमा काठमाडौँ आएको हो। त्यो जिप थियो। बढो मजा आयो।
त्यतिबेला दौडमा वैकुण्ठ मानन्धर, फुटबलमा रूपक शर्मा,राप्रपा नेपालका अध्यक्ष कमल थापा,बक्सिङमा मेरो गुरु आले भन्ने हुनुहुन्थ्यो।
भारतीय क्यामरामेन बिरामी हुँदा ‘मनको बाँध’ खिच्ने मौका
नेपालमा फिल्म बनाउन भनेर २०२९ सालमा शाही नेपाली चलचित्र संस्थान खुल्यो। म फोटोग्राफरका रूपमा त्यहीँ जागिरे भएँ। मासिक तलब ३ सय ५० रुपैयाँ थियो।
फोटो खिच्न भनेर जागिर त पाइयो तर संस्थानमा न फोटो खिच्ने क्यामेरा छ न भिडियो खिच्ने। म आफैँसँग भएको क्यामेराले फिल्मको फोटो खिच्न थालेको हो।
म संस्थानमा जागिरे भइसकेको थिएँ। ‘मनको बाँध’ नाममा फिल्म बन्ने भयो। म फिल्मको फोटोग्राफर। अहिलेको जस्तो प्याच्च फोटो खिचेर हुँदैनथ्यो त्यो बेलामा।
फिल्मको र फोटोग्राफरले खिचेको फोटो ठ्याक्कै म्याच हुनुपर्थ्यो। कलाकारको आधा अनुहारमा लाइट आधा अँध्यारो छ भने त्यही अनुसार खिच्नुपर्थ्यो।
शाही चलचित्र संस्थानमा हाकिम वैकुण्ठ मास्के र श्याम मोहन श्रेष्ठ हुनुहुन्थ्यो। बेकुण्ठ मास्के भनेको चाहिँ संस्थानको अलिक सिनियर। म त एउटा नर्मल, फोटो खिच्ने कामदार न थिएँ। उमेर पनि सानै थियो।
फोटो खिच्न एकदम गाह्रो। परीक्षण लिएको पनि हैन। आफैँले पढ्दै, सिक्दै गरेको। फिल्मको भिज्योल खिच्न भारतबाट क्यामरामेन आएका थिए।
फोटो खिचेसँगै फिल्म खिच्ने क्यामरामेनको पछि लागेर उसले के-के गर्छ भनेर मजाले नियालेर हेर्थेँ। त्यो बेलामा सिकाउन त कसले सिकाउँथ्यो र। उसले गरेको काम मज्जाले हेरेको थिएँ।
‘मनको बाँध’ को सुटिङ चलिरहेको अवस्थामा क्यामेरा मेन बिरामी हुनुभयो। त्यो बेलामा अहिलेको जस्तो मेमोरी कार्ड, सिडी भन्ने नै थिएन।
रिल हुन्थ्यो ठुलो। त्यो पनि अँध्यारोमा लोड गरेर अँध्यारोमा नै निकाल्नुपर्थ्यो। कालो ब्याग भित्र हालेर,हात भित्रै छिराएर त्यो रिल लोड गर्नुपर्ने,एकदमै परफेक्ट मान्छे चाहिन्थ्यो त्यसका लागि।
त्यो जानेको पनि थिइन,मलाई कसैले सिकाएनन् पनि। क्यामरामेन बिरामी भएपछि सुटिङ नै रोकिने भयो। अनि म गर्छु भनेर आँटे। हेरेको भरमा नै सक्छु भनेर जोखिम लिएँ।
धन्न हाँकिमले सबै कुरा जानेको छ भनेर पत्याए। मैले फिल्मको बाँकी ७० प्रतिशत नै खिचेँ। फिल्म रिलिज भएपछि मेरो नाम असिस्टेन्ट क्यामरामेनमा आयो। म त मक्ख। जोखिम उठाएको काम लाग्यो। अनि अब फोटोग्राफरबाट छाँयाकारको यात्रा सुरु भयो।
नेपालमा फिल्मकर्मीहरू थिएनन्। सबै भारतबाट नै लिएर आउनुपर्थ्यो। डिरेक्टरदेखि लाइटमेनसम्म भारतबाट नै आउँथे।
छाँयाकार भने अब नेपाली। मैले रङ्गिन फिल्म ‘कुमारी’,‘जीवन रेखा’सम्म खिचेँ। कुमारी त नेपालको पहिलो रङ्गिन फिल्म हो।
‘जीवन रेखा’मा गोपालराज मैनालीको डवल रोल थियो। त्यो बेलामा यस्तो प्रविधि नै थिएन। कसैले कल्पना गर्ने विषय पनि थिएन नि त्यस्तो प्रविधिमा डबल रोल खिच्ने भनेर। हेरौँ न त भनेर म राजी भएँ। खिचेँ। कतै हुन्न कि भनेर डर त लागिहाल्छ नै। नै पनि आँट पनि महत्वपूर्ण कुरा रहेछ। गरेको प्रयास सफल भयो। नेपालमा पहिलो डबल रोल भएको फिल्मको छाँयाकार पनि भइयो।
मेरो बुबा पनि फोटोग्राफी लाइनको होइन,मेरो बाजे पनि हैन। म भने यही क्षेत्रमा भिजेँ। रमाइलो लाग्यो। ७० वटा फिल्म खिचिसकेँ मैले। संस्थानमा २२ वर्ष काम गरेपछि राजीनामा दिएँ। छायाङ्कनको कामबाट भने राजीनामा दिएको छैन है।
फागुन १, २०८१ बिहीबार १८:००:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।