साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घट्यो

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घट्यो

काठमाडौँ : साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्ला दुई कारोबार दिन सामान्य अङ्क बढेर बन्द भएको नेप्से, बिहीबार पुनः घटेर बजार बन्द भएको हो।

बिहीबार नेप्से परिसूचक ७.२६ अङ्क घटेर २६७८.४७ विन्दुमा झर्यो। त्यस्तै, बिहीबार सेन्सेटिभ इन्डेक्स ०.५२ अङ्क घटेको छ भने फ्लोट इन्डेक्स ०.४७ अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२० अङ्क घटेको छ।

नेप्सेसँगै बिहीबार कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ८ अर्ब ७१ करोडको शेयर खरिदबिक्री भएको बजारमा बिहीबार३०२ स्टकको ७८ हजार ८३५ पटकको कारोबारमा ७ अर्ब ९२ करोड १३ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ७५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

 बिहीबार चार स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। बिहीबार कुमारी सबल योजनाको इकाई, मातृभूमि लघुवित्त वित्तीय संस्था, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र पोखरा फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यस्तै, बिहीबार वाराही हाइड्रोपावर पब्लिकको शेयर मूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ। बिहीबार न्यादी हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयर मूल्य बिहीबार ८६ रुपैयाँ ८० पैसा घटेर ७८१ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ।

कारोबार रकमका आधारमा बिहीबार पनि एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट शीर्ष स्थानमा छ। सो कम्पनीको बिहीबार३४ करोड १४ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, बिहीबार सिईडिबी होल्डिङ्गसको करिब २७ करोडको शेयर कारोबार भएको छ भने राधी विद्युत् कम्पनीको २० करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये बिहीबार ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। बिहीबार वित्त उपसमूहको परिसूचक सर्वाधिक १.८८ प्रतिशत बढेको छ। लगानी र लघुवित्त उपसमूहको परिसूचक भने बिहीबार सामान्य बढेको छ। बिहीबार विकास बैंक र जलविद्युत उपसमूहको परिसूचक करिब १ प्रतिशत घटेको छ।

फागुन १, २०८१ बिहीबार १६:१४:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।