न हिमपात, न वर्षा : फुस्रा हिमाल, पहेँलिए बारीका बाली

न हिमपात, न वर्षा : फुस्रा हिमाल, पहेँलिए बारीका बाली

गलेश्वर (म्याग्दी) : हिउँदको समय सकिन तीन साता मात्रै बाँकी छ। बितेको हिउँदको पाँच महिनामा न त हिमपात भयो न त वर्षा नै। हिउँदमा हिमपात नभएपछि सेता हिमालहरू फुस्रा बन्दै गएका छन्। पानी नपर्दा खेतबारीमा लगाएका खाद्यान्न लगायत तरकारी बाली पहेँलिन थालेका छन्।

माघ नसकिँदै गर्मी बढेको र विगतका वर्षको तुलनामा जाडो कम भएको म्याग्दीको बेनी नगरपालिका–२ का ८९ वर्षीय वेदप्रसाद उपाध्यायले बताए।

जल तथा मौसम विज्ञान विभागले मङ्सिर १५ देखि फागुन १६ सम्मको हावापानी आकलन गर्दा औसतभन्दा कम पानी पर्ने र न्यूनतमदेखि अधिकतम तापक्रम बढ्ने पूर्वानुमान यसअघि नै सार्वजनिक गरेको  थियो।

हिउँदमा औसतभन्दा कम पानी पर्ने प्रक्षेपण जल तथा मौसम विभागको थियो। तत्काल पानी पर्ने र हिमपात हुने सम्भावना नदेखिएपछि हिउँदे खडेरी पर्ने भन्दै विज्ञहरूले कृषि, जल, वन, ऊर्जालगायत क्षेत्रमा असर पर्ने चिन्ता व्यक्त गरेका थिए।    
जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले यही अवस्था रहिरहने हो भने तत्काल पानी पर्ने र हिमपात हुने सम्भावना नरहेको बताइन्।

‘अहिलेको अवस्थामा वर्षा र हिमपात भइहाल्ने लक्षण देखिँदैन। सुख्खा खडेरीको लक्षण देखिएको छ। यद्यपि फेब्रुअरी नसकिएसम्म समग्र यो हिउँद कस्तो भयो भन्न मिल्दैन” प्रवक्ता पोखरेलले भनिन्।

हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण पर्यावरणीय सङ्कट देखिन थालेको भन्दै विज्ञले चिन्ता व्यक्त गरे। हिमालमा हिउँको मात्रा घट्दै गएको छ। हिमालमा हिउँ कम जम्मा भएको र त्यसको स्तर (हिउँ रेखा) तल–माथि हुने गरेकोले पर्यावरणीय सङ्कट बढ्दै जान थालेको देखिन्छ।

नेपालमा मुख्यालय रहेको इसिमोडले हालै सार्वजनिक गरेको हिउँ अध्ययन अद्यावधिक रिपोर्ट २०२४ अनुसार हिमालय क्षेत्रमा सन् २०२४ को जाडो याममा सरदरभन्दा कम हिउँ पर्ने र जमिनमा हिउँ रहिरहने समय अवधि पनि घट्ने जनाएको थियो।    

हिमालमा हिमस्खलन हुने क्रम बढ्दै जाने तर समयमा हिमपात नहुने र भए पनि अत्यन्त कम मात्रामा हुने गरेकोले केही वर्ष अघिसम्म चाँदी जस्तै टल्कने सेता हिमाल पछिल्ला केही वर्षयता काला पहाडमा परिणत हुँदै जान थालेका इसिमोडमा कार्यरत वैज्ञानिक शेर मोहम्मदले बताए।

‘पानीको बहावको समय र तीव्रतामा व्यापक फेरबदलको सङ्केत देखिएको छ। यो शोधकर्ता, नीति निर्माता र तल्लो तटीय क्षेत्रमा रहने समुदायका लागि खतराको घण्टी हो’ मोहम्मदले भने।

इसिमोडका वैज्ञानिकले पानी अभाव, बाढी, खडेरीजस्ता प्राकृतिक प्रकोपबाट जोगिन सक्रिय कदम उठाउनुपर्ने र हरित गृह ग्यास उत्सर्जन घटाउनुपर्नेमा जोड दिँदै आएका छन्। हिउँद याममा हिउँ पर्ने क्रम घटेको र हिमालय क्षेत्रको जमिनमा हिउँ धेरै समयसम्म रहिरहन नसक्ने समस्या देखिन थालेको वैज्ञानिकको भनाइ छ।    
    
म्याग्दीको मुदीमा रहेको संसारको सातौँ अग्लो धौलागिरि हिमालमा हिउँको मात्रा घट्दै गएको देखिन्छ। आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल पहिले बाह्रै महिना पूरै हिउँले ढाकिने गरे पनि केही वर्षयता हिमालको तल्लो भाग हिउँविहीन बनेको म्याग्दीका पर्यटन व्यवसायी चक्रबहादुर तिलिजा पुनले बताए।      

‘पहिले धौलागिरि हिमशृङ्खला पूरै हिउँले ढाकिएको हुन्थ्यो, पछिल्ला केही वर्षयता हिमालका तल्लो भाग काला पहाडजस्ता देखिन थालेको छ, जाडो याममा समेत हिमालहरू नाङ्गिएको देखिन्छ,’ तिलिजाले भने।

डिभिजन वन कार्यालय म्याग्दीका वन अधिकृत चन्द्रमणी सापकोटा पहिले चाँदीझैँ टल्कने हिमाल अहिले उराठलाग्दा देखिन थालेको बताउँछन्। असोज र कात्तिकमा अत्यधिक वर्षा हुनु, मङ्सिर, पुस र माघ महिनामा पनि कम हिउँ पर्नु, जलवायु परिवर्तनको प्रभाव मान्न सकिने सापकोटाले बताए।

सुख्खा खडेरीको समय बढ्ने सङ्केत    
विभागको पूर्वानुमान महाशाखाले हिउँदको बाँकी रहेको तीन साताको समयमा पनि वर्षा र हिमपातको मौसमी प्रणाली नरहेको जानकारी दिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले तत्कालै हिउँदे वर्षा र हिमपात हुने लक्षण नदेखिएकाले सुख्खा खडेरी बढ्न सक्ने बताए। उनका अनुसार जलवायु परिवर्तन र तापक्रम वृद्धिका अब्जरभेसन आइरहेकाले मौसमी प्रणालीमा पनि परिवर्तन देखिएको हो।    

जलवायु विज्ञ डा धर्मराज उप्रेती पनि हिउँदको बाँकी अवधिमा पानी पर्ने सम्भावना न्यून देखिएको बताउँछन्।

‘गत वर्ष पनि ८० प्रतिशत कम वर्षा भएको थियो। यसपटक पछिल्ला दुई वर्षको रेकर्ड तोडिने अवस्था भइरहेको छ,’ डा उप्रेतीले भने, ‘कम वर्षा भएको यो लगातार तेस्रो हिउँद हो। फेब्रुअरी २८ पछि हिउँदे अवधि सकिएर प्रि–मनसुन सुरु हुन्छ, अब बाँकी तीन हप्ता हिउँदमा पानी पर्ने सम्भावना न्यून छ।’

डा उप्रेतीका अनुसार भूमध्य सागरको सतहको तापक्रममा आएको परिवर्तन र त्यसले सिर्जना गर्ने पश्चिमी वायु कमजोर भएसँगै अरब सागर र बङ्गालको खाडीमा पनि समुद्री सतहको तापक्रममा आएको परिवर्तनले पश्चिमी वायु कमजोर देखिएको छ। पश्चिमी वायु सक्रिय भएन भने वर्षा हुन नसक्ने उनको भनाइ छ।

‘यसपटक पश्चिमी वायु सक्रिय हुन सकेन। त्यसै कारणले यसपालि कर्णाली र सुदूरपश्चिमका केही भूभागमा बाहेक अन्यत्र वर्षा र हिमपात हुन सकेन’ उनका अनुसार अहिलेसम्म ९.२ प्रतिशत मात्रै वर्षा भएको छ।

‘हिउँदे अवधिमा औसतमा ६१ मिलिमिटर पानी पर्नुपर्ने हो तर ५.५ मिलिमिटर मात्रै परेको छ, त्यो पनि पश्चिमी भागमा मात्रै’ डा.उप्रेतीले भने।

धुर्वसागर शर्मा/रासस

फागुन १, २०८१ बिहीबार १५:५३:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।