ट्रम्प प्रभाव : टेक्ससमा तीन हजार नेपाली विद्यार्थी बेरोजगार, दैनिक खाद्यान्न पनि सहयोगमा

टेक्सस (अमेरिका) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीतिको प्रभावले अमेरिकाको टेक्ससको विभिन्न विश्वविद्यालयमा अध्ययनरत करिब तीन हजार नेपाली विद्यार्थी कामविहीन भएका छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पले गैर कानुनी आप्रवासीलाई निष्कासन गर्ने योजनालाई कडाइका साथ कार्यान्वयनमा ल्याएपछि त्यसको प्रत्यक्ष असर नेपाली विद्यार्थीमा परेको हो।
गैर कानुनी आप्रवासीको खोजी गर्ने क्रममा प्रहरीले दैनिक हजारौँ व्यावसायिक फर्ममा छापा मारिरहेको छ। सोही क्रममा कानुनी रूपमै बसोबास गरिरहेका र कामदार अनुमति पत्र (वर्क पर्मिट) भएका बाहेकले व्यावसायिक फर्ममा काम गरिरहेको भेटिएमा प्रहरीले चेतावनी दिने, पक्राउ गर्ने र केहीलाई निष्कासनसम्म गरेपछि अहिले नेपाली विद्यार्थी कामहीन भएका छन्।
गैर आवासीय नेपाली सङ्घ अमेरिकाको तथ्याङ्कअनुसार हाल अमेरिकाका विभिन्न विश्वविद्यालयमा करिब ५० हजार नेपाली विद्यार्थी अध्ययनरत छन्।
टेक्ससको ड्यालस फोर्टवर्थ क्षेत्रमा रहेका नेपाली विद्यार्थीको दैनिक खानामै समस्या देखिन थालेपछि सामाजिक अभियानकर्मीले विद्यार्थीका लागि खाद्यान्न सहयोग सङ्कलन गरिरहेका छन्।
कामविहीन नेपाली विद्यार्थीलाई कम्तीमा एक महिनाका लागि आवश्यक पर्ने खाद्यान्नमा विद्यार्थीलाई चामल, दाल, तेल, नुन, चना लगायतका खाद्यान्न सामग्री उपलब्ध गराउन लागिएको नेपाली समाज टेक्ससका महासचिव विजय भुसालले जानकारी दिए।
महासचिव भुसालका अनुसार हालसम्म ७ सय बढी नेपाली विद्यार्थीले खाद्यान्न बुझेर लगिसकेका छन्। सवारी साधन भएका विद्यार्थीले नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र युलेशबाट खाद्य सामग्री प्राप्त गर्न सक्ने र सवारी साधन नभएका विद्यार्थीलाई उनीहरूको ठेगानामा पुर्याउने व्यवस्था मिलाइएको उनले जानकारी दिए।
फागुन १, २०८१ बिहीबार १५:३५:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।