स्वास्थ्य मन्त्रालयले नसर्ने रोगका बारेमा अभियान सञ्चालन गर्दै, ३० वर्षमाथिकाको स्वास्थ्य परीक्षण गर्दै

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोगहरूको रोकथाम, प्रारम्भिक पहिचान, र व्यवस्थापनका लागि फागुन महिनामा नसर्ने रोगहरू(मधुमेह, उच्च रक्तचाप र मिर्गौला रोग) को पहिचानका लागि अभियान २०८१ सञ्चालन गर्ने भएको छ।
बिहीबार काठमाडौँमा एक कार्यक्रम गरेर मन्त्रालयले ‘नसर्ने रोगहरू पहिचानका लागि एक महिने अभियान सञ्चालन निर्देशिका २०८१’ अनुसार अभियान सञ्चालन गर्ने सार्वजनिक गर्यो।
स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट फागुन महिनाभर नसर्ने रोगको अवस्था पहिचान गर्न लक्षित उमेर समूहका व्यक्तिहरूको स्वास्थ्य परीक्षणका साथै स्वास्थ्य प्रवर्धन तथा जोखिम न्यूनीकरणका लागि बृहत् क्रियाकलापहरू सबै प्रदेश र स्थानीय तह मार्फत सञ्चालन गर्न लागेको मन्त्रालयले जानकारी दिएको छ।
अभियान अन्तर्गत नेपालभित्र बसोबास गर्ने ३० वर्ष भन्दा माथि उमेरका सबै व्यक्तिहरूको नसर्ने रोग सम्बन्धी अवस्था थाहा पाउन लागत–प्रभावकारी उपायका रूपमा स्थानीय तहका स्वास्थ्य संस्थाहरूमा विद्यमान स्वास्थ्यकर्मी र औषधि– उपकरणहरूको प्रयोग गरेर मधुमेह, उच्च रक्तचाप र मिर्गौला सम्बन्धी रोग र शरीरको उचाइ र तौलको अनुपात पहिचान गरेर नसर्ने रोगहरूको रोकथाम तथा समयमै व्यवस्थापन गर्ने उद्देश्य राखेको मन्त्रालयले जानकारी दिएको छ।
जनस्वास्थ्य सेवा ऐन २०७५ मा निर्दिष्ट भए बमोजिम नसर्ने रोग विरुद्धको लडाइँमा नेपाल सरकारका सामाजिक सुरक्षा तथा नीति, कार्यक्रमहरू, नेपालले विभिन्न समय समयमा गरेका अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू, चुनौतीहरू र उपलब्ध स्रोतसाधनलाई आधार बनाई गरेका कार्यक्रममा नसर्ने रोग रोकथाम र नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेको मन्त्रालयको दाबी छ।
फागुन १, २०८१ बिहीबार १५:०८:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।