मलाई पाकिस्तानमा मृत्यदण्डको सजाय सुनाइँदै थियो : मार्क जुकरबर्ग

एजेन्सी : फेसबुकका सह-संस्थापक मार्क जुकरबर्गले पाकिस्तानमा आफूलाई मृत्युदण्डको सजाय सुनाउने अवस्था आएकोबारे बताएका छन्। मंगलबार एक अन्तर्वार्तामा जुकरबर्गले यस्तो बताएका हुन्।
फेसबुकमा एक प्रयोगकर्ताले फेसबुकमा पैगम्बर मोहम्मदको तस्वीर पोस्ट गर्दा उनीविरुद्ध मुद्दा दर्ता भएको उनको दाबी छ। यद्यपि, जुकरबर्गले यो घटना कुन वर्षमा भएको थियो भन्नेबारे उनले खुलाएनन्।
यस मुद्दामा, पाकिस्तानी सरकारले जुकरबर्गलाई ईश्वरनिन्दाको लागि व्यक्तिगत रूपमा जिम्मेवार ठहराउन माग गरेको थियो। यसैबीच उनले पाकिस्तान जाने आफ्नो कुनै मनसाय नभएको बताए।
मेटा (फेसबुकको मूल कम्पनी) र पाकिस्तानी सरकारबीच कानुनी लडाईं चलिरहेको बेला जुकरबर्गले यस्तो खुलासा गरेका हुन्। पाकिस्तानमा, फेसबुकमाथि देशको ईश्वरनिन्दा कानूनको उल्लङ्घन गर्ने सामग्रीलाई अनुमति दिएको आरोप छ।
विश्वका धेरै ठाउँमा अभिव्यक्ति स्वतन्त्रताको मूल्य अमेरिकी मूल्यमान्यताहरू भन्दा धेरै फरक रहेको भन्दै जुकरबर्गले ती देशहरूले उनीहरूलाई स्वीकार्य नहुने कुराहरूमा प्रतिबन्ध लगाउन चाहेको बताए।
पाकिस्तानमा संसारकै सबैभन्दा कडा ईश्वरनिन्दाको कानुन छ। यहाँ, कुर्आन् वा पैगम्बरको अपमान गरेमा आजीवन कारावासदेखि मृत्युदण्डसम्मको सजाय हुन सक्छ। यद्यपि, मृत्युदण्डको सजाय सुनाइए पनि अहिलेसम्म कसैलाई पनि फाँसी भने दिइएको छैन।
पाकिस्तानी मिडियाका अनुसार १९९० देखि, ईश्वरनिन्दाको आरोपमा भीडले ८० भन्दा बढी मानिसहरूलाई मारेको छ। कुर्आन् वा पैगम्बरको अपमान गरेको हल्लाको भरमा मात्रै पनि हजारौं मानिसहरूको भीडले अभियुक्तमाथि आक्रमण गर्ने गरेको यसअघिको इतिहास छ।
फागुन १, २०८१ बिहीबार १४:२७:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।