अदालतले दिएका आदेश कार्यान्वयन गर्नु सबैको कर्तव्य हो : मुख्य न्यायाधीश भट्टराई

अदालतले दिएका आदेश कार्यान्वयन गर्नु सबैको कर्तव्य हो : मुख्य न्यायाधीश भट्टराई

सुर्खेत : उच्च अदालत सुर्खेतका कामयम मुकायम मुख्य न्यायाधीश कृष्णलाल भट्टराईले सार्वजनिक सरोकारका विषयमा अदालतले दिएका आदेश कार्यान्वयन गर्नु सबैको कर्तव्य रहने बताएका छन्।

सुर्खेतमा आयोजित एक कार्यक्रममा उच्च अदालत सुर्खेतबाट भएका फैसला र कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘सार्वजनिक चासोका विषयमाख अदालतमा रिट परेको खण्डमा अदालते सबैको हित हुनेगरी आदेश गर्छ। त्यसको पालन गरी कार्यान्वयन गर्नु सरकार र नागरिकको महत्वपुर्ण भूमिका रहन्छ,’ उनले भने, ‘अदालतको आदेशलाई सुझावका रुपमा लिइ कार्यान्वयन गर्दा मानव अधिकारको पनि रक्षा हुन्छ।’

मुख्य न्यायाधीश भट्टराईले अदालतका आदेशलाई गम्भीरतापूर्वक लिए त्यसले फाइदा नै पुग्ने भन्दै विश्वमा समेत रिटको प्रचलन बढिरहेकाले मुद्दाको फ्रेमिङ्ग गर्दा कानुन व्यवसायीहरूले समेत ध्यान दिनुपर्ने बताए।

उनले अदालतबाट हुने फैसला कार्यान्वयन भएमात्र पीडितले न्यायको अनुभूति गर्न पाउने बताए। उनले फैसला कार्यान्वयन गर्ने सरोकारवाला सबै पक्षको समन्वय र सहकार्य र समन्वयात्मक रुपले अगाडि बढ्नुपर्नेमा जोड दिए।

कार्यक्रममा प्रदेश मामिला समितिका सभापति कल्याणी खड्काले फैसला कार्यान्वयनमा सामुहिक समन्वयको आवश्यकता रहेको बताइन्। फैसला कार्यान्वयन कसले गर्ने? भन्ने विषयमा बुझाई फरक-फरक भएको भन्दै उनले फैसला कार्यान्वयन कार्यपालिकाबाट हुनुपर्ने सुझाव दिइन्।

फैसला कार्यान्वयनले न्याय सम्पादनमा प्रभाव पार्ने बताउँदै सभापति खड्काले अदालतले गरेका फैसला कार्यान्वयन प्रदेश मामिला समितिले पनि कार्यान्वयनमा ध्यान दिने बताइन्।

फागुन १, २०८१ बिहीबार १४:०७:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।