मद्रसा इस्लामिया स्कूल : खुलेको ५० वर्षपछि दर्ता, ८२ वर्षमा बल्ल माध्यमिक तहको अनुमति

काठमाडौं : मुस्लिम समुदायका बालबालिकालाई कुर्आन्, उर्दु तथा अरबी भाषा पढाउन राणा शासनमा मद्रसा इस्लामिया स्कूल खोलियो। वि.सं १९९६ सालमा स्थापना भएको स्कूल काठमाडौंकै सबैभन्दा पुरानो मध्येको एक हो।
निजी तथा आवासीय सामुदायिक गुठी अन्तर्गत रहेको मद्रसा नेपाली जामे मस्जिदकै पछाडि छ। मस्जिदकै जग्गामा रहेको स्कूलको सम्पूर्ण खर्च जामे मस्जिदलेनै बेहोर्दै आएको छ।
स्थापनाको सुरुवाती दिनमा मुस्लिम समुदायका बालबालिकालाई मात्र शिक्षा दिएको यस विद्यालयमा अहिले भने गैर मुस्लिम समुदायका बालबालिकाले समेत अध्ययन गर्छन्। साढे दुई सय विद्यार्थी पढिरहेका यहाँ कक्षा कोठा पुगेको भए पनि खेलकुदको लागि भने टुँडिखेल नै कुद्नुपर्ने अवस्था देखिन्छ।
‘पहिला शिक्षा मात्र दिने भनेर बनाएको भए पनि अहिले शिक्षासँगै अतिरिक्त क्रियाकलापहरू पनि गराउन आवश्यक भएपछि हामीले त्यसको कमी महसुस गरेका छौँ,’ प्रधानाध्यापक फिरोज खान भन्छन्।
यद्यपि यसबारेमा मस्जिद समितिमा कुरा राखेको उनको भनाइ छ। अहिले पढाइ भइरहेको स्कूलको भवन मस्जिद जत्तिकै पुरानो हो। २०७२ सालको भूकम्पमा क्षति नपुगेकाले अहिले सोही भवनबाट पठनपाठन भइरहेको छ।
स्कूलमा अहिले कुर्आन् पढ्ने ३३ विद्यार्थी छन्। कुर्आन् पढ्दा छात्र र छात्राले सँगै बसेर नमाज(सलाह) पढ्दैनन्। छात्राहरूको लागि मस्जिदकै अर्को भवनको सिसाघर बनाइएको छ।कुर्आन् पढ्ने ३३ जना विद्यार्थी भने यहाँ आवासीय रूपमा नै बस्छन्। जसको सम्पूर्ण खर्च मस्जिद समितिले नै बेहोर्छ।
आठदेखि १४ वर्ष उमेर समूहका विद्यार्थीहरूले इस्लामिक धर्म अनुसार मात्रै पढ्ने गरेकोमा त्यसपछि भने थप शिक्षाका लागि उनीहरू अन्य विद्यालयमा जान नचाहनेको प्रअ खान बताउँछन्।
‘हाम्रो धेरै अभिभावकहरूले आफ्नो सन्तानले कुर्आन् र उर्दु चैँ राम्रोसँग जानोस् भन्ने चाहनुहुन्छ। त्यही भएर उहाँहरू यतिमै पनि सन्तुष्ट हुनुहुन्छ’, प्रअ खानले बताए।
स्कूलले माध्यमिक तहको कक्षा लिन अनुमति पाएपछि विद्यार्थी संख्या पनि बढेको छ। यसका अलावा छात्राको संख्या पनि बढेको प्रअ खानले जानकारी दिए।
‘छात्र मात्र पढ्दै आएकोमा अहिले भने छात्राको संख्या पनि बढेको छ,’ उनी थप्छन्, ‘दुई वर्ष अघिसम्म पनि यहाँ आठ पढेका विद्यार्थीहरू नौ-दश कक्षा पढ्नको लागि भने अन्य विद्यालय धाउनुपर्थ्यो। जसकारण ती विद्यार्थीहरूसँगै उनका भाइबहिनीले समेत विद्यालय छोड्नुपर्थ्यो। अब त्यो बाध्यता हटेको छ।’
आधा शताब्दीपछि विद्यालयको अनुमति !
उर्दु, अरबी, कुर्आन्, दिनियात र तारिख लगायतका इस्लामिक विषयसँगै नेपाल सरकारद्वारा स्वीकृत भएका अनिवार्य विषयहरू नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, सामान्यज्ञान, कम्प्युटर र स्वास्थ्य तथा शारीरिक शिक्षा पनि यहाँ पढाउने गरिन्छ। तर, धार्मिक शिक्षा बाहेक अन्य शिक्षा पढाउन थालेको चाहिँ २०५० सालपछि मात्रै हो।
हिफ्ज र नाजराका विद्यार्थीहरूलाई धार्मिक ग्रन्थसँगै सामान्य नेपाली र हिसाब सिक्दै आएकोमा बाहिरी विद्यालयमा पढ्न जाँदा भने गाह्रो भएको रहेछ। वि.सं १९९६ सालमै स्थापना भए पनि औपचारिक रूपमा दर्ता भने भएको रहेनछ। लामो समयसम्म विद्यार्थीहरूलाई धार्मिक पढाइपछि थप अध्ययनका लागि अन्त जानुपर्छ भन्ने नै महसुस भएनछ।
यद्यपि समय क्रमसँगै बाहिरी शिक्षाको पनि आवश्यकता भएपछि मात्र विद्यालय दर्ता र अन्य पढाइलाई पनि स्थान दिइएको प्रअ खानको भनाइ छ।
‘२०५० सालपछि यहाँका विद्यार्थीहरूले अरु पनि पढाइको आवश्यकता सम्झियो। तर, यहाँबाट बाहिर जाँदा विद्यार्थीलाई गाह्रो यो,’ प्रअ खान भन्छन्, ‘काठमाडौंकै अन्य स्कूलहरूले हाम्रो स्कूलको बारेमा थाहा नभएको र यहाँबाट दिने सर्टिफिकेटनै नक्कली हो भन्नेसम्म भ्रम भएपछि औपचारिक रूपमै मद्रसा दर्ता भएको हो।’
२०५२/०५३ मा पाँच कक्षासम्म पढाउन पाउनको लागि अनुमति पाएको मद्रसाले २०५६ मा भने आठ कक्षासम्मको लागि अनुमति लियो। अनि त्यसको लगभग २३ वर्षपछि मात्र यसले माध्यमिक तहको अनुमति पायो। नौ जना एसईईमा सहभागी भए। नतिजा पनि उत्कृष्ट नै आयो। यहाँ अहिले गैरमुस्लिम शिक्षक र विद्यार्थी पनि छन्।
वडाको सिफारिसमा मुस्लिम, गैर मुस्लिम समुदायका विद्यार्थीलाई समेत यहाँ नि:शुल्क पढाउने गरेको प्रअ खानले बताए। यहाँका ७० प्रतिशत विद्यार्थीहरू नि:शुल्क छात्रवृत्तिमा पढ्ने गर्छन्।
‘मद्रसामा पढ्दैमा धर्म परिवर्तन हुँदैन’
प्रअ खानले प्रधानाध्यापकको रुपमा मद्रसाको नेतृत्व गर्न थालेको छ वर्ष भयो। तर, धार्मिक स्कूल नै भए पनि समुदाय र स्थानीयबाट पाउन पर्ने साथ र सहयोग भने अझै पनि पाउन नसकेको उनको अनुभव रहेछ। अन्य देशमा जस्तो नेपालमा इस्लामिक समुदायलाई ‘आतंकवादी’नै नभने पनि मस्जिदकै पछाडि मस्जिदकै मैदानमा विद्यालय भएको कारण यहाँ धर्म परिवर्तन गरिदिने भ्रम स्थानीयहरूमा भएको उनी बताउँछन्।
‘उहाँहरूको मनसायमा चैँ हाम्रो विद्यालयमा पढाउँदा बच्चाहरूलाई पनि मुसलमान बनाइदिन्छ, धर्म परिवर्तन गरिदिन्छ भन्ने रहेछ,’ प्रअ खान भन्छन्, ‘मैले मेरै साथीहरूलाई पनि आफ्नो बच्चा यहाँ पढाउन कत्ति आग्रह गरिरहेको हुन्छु। पढाइमा हामी अरु भन्दा कम छैनौँ, शुल्क पनि धेरै लिदैनौँ भन्दा पनि उहाँहरूले पढाउन चाहनुभएन। त्यसपछि मैले पनि कर गर्न सकिनँ।’
स्थानीय बालबालिकाहरू सामुदायिक विद्यालयमा अध्ययन नगरेको तथ्याङ्कहरू सार्वजनिक भइरहँदा यो मद्रसाको अवस्था पनि फरक देखिएन। यहाँ पनि स्थानीय बालबालिका निकै कम छन्। विद्यालयमा कुर्आन् पढ्नका लागि भने शुल्क नलाग्ने प्रअ खान बताउँछन्।
‘कुर्आन् मात्र पढ्न त नि:शुल्क नै हो। अझ आवासीयको सुविधा पनि छ। तर अरु सरकारी पाठ्यक्रम समेत सर्टिफिकेट लेभलकै पढ्न त फरक पर्छ। त्यो अभिभावकहरूले बुझ्न गाह्रो मान्नु भइरहेको छ,’ उनी भन्छन्, ‘कतिले त तिर्ने क्षमता हुँदा-हुँदै पनि तिर्न खोज्नु हुन्न। अभिभावकहरूले पनि विद्यालयमा उत्तिकै चासो देखाएर अघि बढ्न हामीलाई अझै एक दशक लाग्छ होला।’
करिब २० वर्ष छँदा लेखापालको रुपमा मद्रसामा छिरेका खान आफैँ पनि काठमाडौंकै मुस्लिम हुन्। यो २० वर्षमा उनले विद्यालयमा धेरै परिवर्तन भएको देखेका छन्। धार्मिक शिक्षा हुँदै आधुनिक शिक्षाको समावेश र अतिरिक्त क्रियाकलापमा विद्यालय धेरै अगाडि देखिन्छ।
‘पहिले हेरेर अहिले जमिन आसमानको फरक देखिन्छ,’ उनी भन्छन्, ‘धार्मिक स्कूल भएको कारण सबैजना जागरुक र शिक्षित हुनैपर्ने बेला आइसक्यो। समाज प्रविधिमा अघि बढिसक्यो। अब हामीले स्कूललाई पनि त्यसैतर्फ लैजानुपर्ने चुनौती छ। प्रविधिमैत्री हुनु भनेको आफैँमा धेरै खर्चालु हुनु पनि हो।’
अभिभावकको साथ कहिले मिल्ला ?
शतप्रतिशत विद्यार्थी एकै समुदायको हुँदा पनि स्कूलमा अभिभावकको चासो भने कम नै देखियो। कुनै पनि स्कूल राम्रो हुनको लागि शिक्षक, अभिभावक र विद्यार्थीको उत्तिकै भूमिका हुने गर्छ। जसको सन्तुलन मिलाउने जिम्मा पनि स्कूलकै हो। तर आफुहरूले सन्तुलन मिलाउन खोज्दा खोज्दै पनि निक्कै असहज परिरहेको प्रअ खानको गुनासो छ।
‘हो धेरै अभिभावक व्यवसाय गर्नुहुन्छ। त्यही बुझेर हामीले मिटिङ नै छुट्टीको समयमा राख्ने गर्छौँ,’ उनले भने, ‘तर पनि अभिभावकहरू आउँदै आउनुहुन्न। हामीले अभिभावकसँग दोहोरो हातेमालो गर्न खोजे पनि उहाँहरूले चासो नदेखाउनु हुँदा दु:ख लाग्छ।’
उनका अनुसार अहिले पनि धेरै छात्राहरू भान्साकै काममा अल्झिने अनि छात्रहरू भने आफ्नो पुर्ख्यौली पेशामा अल्झिने गरेका छन्।
शुक्रबार नमाज पढ्नुपर्ने भएको कारण कक्षा कोठा त बन्द नै हुने गर्छ। शनिबार भने स्वतः विद्यालय छुट्टी हुने गर्छ। जसले गर्दा तुलनात्मक रूपमा विद्यालयमा धेरै बिदा हुने गरेको देखियो। यति हुँदा पनि यहाँका विद्यार्थीहरूलाई गणित र विज्ञान विषयमा भने समस्या नभएको प्रअ खानको दाबी छ।
काठमाडौं बाहिरका र भारतसँगको सीमा छेउ-छाउका भएको कारण नेपालमै जन्मिए पनि धेरै विद्यार्थीलाई नेपाली बोल्न भने समस्या हुने गरेको रहेछ। भोजपुरी र मैथिली भाषा बढी बोल्ने विद्यार्थीको लागि नेपाली भाषा पढाउन सुरूमा असहज भए पनि पछि भने अरु विषयमा गाह्रो नहुने उनले बताए।
‘पहिला त नेपालीनै बोल्न सिकाउन पर्ने हुन्छ। अनि उर्दु, अंग्रेजी र हुँदै सिक्छन्,’ उनले भने, ‘तर अरु गाह्रो भनिएको विषयमा त हामीलाई त्यति धेरै गाह्रो भएको छैन। उनीहरूले पछि पनि राम्रै विषय लिएर पढ्ने गर्छन्। तर पारिवारिक आर्थिक अवस्थाले गर्दा धेरैले पढाइलाई उच्च तहसम्म लान भने सक्दैनन्।’
पढाइलाई स्तरीय बनाउन सरकारी पाठ्यक्रममै भर नपरेको समेत उनले बताए। धार्मिक विषय पहिलो प्राथमिकतामा परेको कारण त्यससँगै अन्य पाठ्यक्रमलाई पनि लगेको देखियो। तर, गैर मुस्लिमको लागि भने मुस्लिम समुदायका विद्यार्थीलाई जस्तो अनिवार्य छैन। ऐच्छिक विषयको रूपमा उर्दु र अरबी भाषा भने लिन समेत पाइने रहेछ।
कुर्आन् मात्र पढाउने शिक्षक बाहेक यहाँ जम्मा १९ जना शिक्षक छन्।
फागुन १, २०८१ बिहीबार ११:४२:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।