सामाजिक सञ्जाल विधेयक तत्काल फिर्ता नलिए पत्रकार महासङ्घले आन्दोलन गर्ने

काभ्रे: नेपाल पत्रकार महासङ्घले राष्ट्रिय सभामा दर्ता भएको सामाजिक सञ्जाल विधेयक फिर्ता लिन माग गरेको छ। महासङ्घको केन्द्रीय समितिले जारी गरेको २३ बुँदे ‘धुलिखेल घोषणापत्र’मा विधेयकका कतिपय व्यवस्था प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने र नागरिकका संवैधानिक हकमा अङ्कुश लगाउने किसिमका रहेको ठहर समेत गरेको छ।
महासंघका महासचिव रामप्रसाद दाहालका अनुसार बैठकले महासङ्घसहित सरोकारवालासँग सामान्य छलफलसमेत नगरी नागरिकका मौलिक हक हनन् हुने गरी ल्याइएको विधेयकलाई अगाडि बढाउनु उपयुक्त नहुने ठहर गरेको जानकारी दिए।
बैठकले विधेयक तत्काल फिर्ता लिई सामाजिक सञ्जाल प्लेटफर्महरूलाई मात्रै नियमन गर्ने गरी सरोकारवालासँग आवश्यक परामर्श गरेर पुनर्लेखन गर्न सरकार, संसद् र राजनीतिक दलहरूसमक्ष माग गरेको छ।
‘अन्यथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र न्यूमिडियाको प्रभावकारितामा अङ्कुश लगाउने गरी बन्ने विधेयकका विरुद्ध महासङ्घ सङ्घर्षमा उत्रिन बाध्य हुनेछ’ सार्वजनिक घोषणा पत्रमा लेखिएको छ।
बैठकले सञ्चार कानुनहरू निर्माण गर्दा पत्रकार महासङ्घसहित सरोकारवालासंगको सहकार्य र राय सुझाव लिने वातावरण सुनिश्चित गर्न समेत माग गरेको छ।
महासङ्घसहित सरोकारवालाले पटक पटक छलफल गरी संशोधनका लागि दिएका सुझावहरूलाई बेवास्ता गर्दै राष्ट्रिय सभाबाट मिडिया काउन्सिल विधेयक' पारित भएकोमा आपत्ति जनाउँदै बैठकले विगतमा महासङ्घसहित सरोकारवालाहरूले दिएका सुझावहरूलाई समेटेर मात्रै थप प्रक्रिया अघि बढाउन माग गरेको छ।
बैठकले केही सञ्चारमाध्यमहरूले नियमित पारिश्रमिक नदिएको गुनासो आइरहेको भन्दै पारिश्रमिक नियमित गर्न माग गर्दै सरकारसँग श्रमजीवी पत्रकार ऐनको कडाइका साथ कार्यान्वयन गर्न माग समेत गरेको छ।
बैठकले केही जिल्लामा सञ्चारकर्मीमाथि भएको दुर्व्यवहार र धम्कीको घटनामा महासङ्घको स्थलगत अध्ययन प्रतिवेदन कार्यान्वयनसहित कार्यस्थलमा पत्रकारको भौतिक सुरक्षाको ग्यारेन्टी गर्न गृह प्रशासनसमक्ष माग समेत गरेको छ।
महासंघको बैठकले प्रेस काउन्सिल नेपालले मिडियालाई कालोसूचीमा राख्ने लगायतका गतिविधि गरिरहेकोमा ध्यानाकर्षण भएको उल्लेख गर्दै काउन्सिललाई आफ्नो क्षेत्राधिकारको ख्याल गर्न आग्रह समेत गरेको छ।
फागुन १, २०८१ बिहीबार ००:४९:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।