उकेरा टप थ्री : सादगी स्वास्थ्यमन्त्री’ प्रदीपको बदमासीदेखि पत्रकारिताको गोल्डमेडलिस्ट चेतनाको अनुभवसम्म

उकेरा टप थ्री : सादगी स्वास्थ्यमन्त्री’ प्रदीपको बदमासीदेखि पत्रकारिताको गोल्डमेडलिस्ट चेतनाको अनुभवसम्म

काठमाडौँ : विद्युत् लाइन भूमिगत गराउने जिम्मा पाएको ठेकेदारको लापरबाहीका कारण मेलम्ची खानेपानीको पाइप फुट्दा बुधवार बबरमहल क्षेत्र जलमग्न भयो। पाइपबाट निस्किएको पानीका कारण बन कार्यालय, विशेष अदालत अनि काठमाडौँ जिल्ला अदालतको भुईतला पुरै डुब्यो। क्षति कति भयो सार्वजनिक भएको छैन।

बुधवारै प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारीहरूको सङ्गठनमाथि सरकारले रोक नलगाउने दाबी गरे। एक कार्यक्रममा सहभागी भएका उनले कर्मचारीको सङ्गठन गर्न पाउने अधिकार सरकारले संरक्षण गर्ने दाबी गरे। त्यही कार्यक्रममा उनले आफूले २०८१ असारमा प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणासम्म गरे।

अब बुधवार उकेरामा प्रकाशित टप थ्री समाचार

सादगी स्वास्थ्यमन्त्री’ प्रदीपको बदमासी

उकेराले बुधवार स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा विभाग अन्तर्गतको टेन्डर प्रक्रियामा भइरहेको बदमासीबारे समाचार प्रकाशित गर्यो। स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य उपकरण तथा सामग्री खरिदमा मिलेमतोको चक्र चलिरहेको लामै समय भयो।

गठबन्धन बदलिएपिच्छे मन्त्रीहरू बदलिए। तर स्वास्थ्य उपकरण तथा सामग्रीको खरिदको मिलेमतो कुनै मन्त्रीले भत्काएनन्, उल्टो संस्थागत गरे।

स्वास्थ्यमा युवा नेता पौडेल आएपछि उनले मन्त्रालयमा सुधार गर्ने दाबी गरेका थिए। हरेक दिनजसो केही न केही नयाँ घोषणा पनि गर्दै आएका छन्। तर खरिद मिलेमतो भत्काउन न उनले सार्वजनिक रूपमा कुनै प्रतिबद्धता नै व्यक्त गर्ने गरेका छन् न त मिलेमतोको जालो भत्काउनै सक्रिय देखिएका छन्।

उनी मन्त्री भए लगत्तै विभाग लगायतका सङ्घीय सरकार अन्तर्गतका अस्पतालको प्रमुखहरू बदले। तर खरिदको प्रक्रिया बदलेनन्। मिलेमतोको प्रमाण सार्वजनिक हुँदा समेत उनी मौन छन्।

उकेराले खरिद प्रक्रियामा भएका बदमासी र उनको संलग्नताबारे तथ्यसहितको समाचार प्रकाशित गरेपछि बुधवारै मन्त्रालयले विज्ञप्ति सार्वजनिक गरेर खरिदमा मन्त्री नभई कर्मचारी जिम्मेवार हुने दाबी गर्यो। तर मिलेमतोमा अगाडि बढेको खरिद प्रक्रियाबारे मन्त्रालय मौन नै रह्यो। उसले न मिलेमतो नभएको दाबी गर्यो न छ छानबिनकै प्रतिवद्धता।

पुरा समाचार : १८ करोडको स्वास्थ्य उपकरण खरिदमा मिलेमतो, कर्मचारीमार्फत सेटिङ

पत्रकारिताको गोल्डमेडलिस्ट चेतना भन्छिन् ‘गल्ती औँल्याउँदा पत्रकार रिसाउँछन्

मिडिया सम्बन्धी बहसका लागि उकेराले तीन वर्षदेखि निरन्तर प्रकाशित गर्दै आएको चौथो अङ्क स्तम्भ अन्तर्गत बुधवार पत्रकारितामा त्रिभुवन विश्वविद्यालयबाट गोल्ड मेडल प्राप्त चेतना कुँवरको धारणा प्रकाशित गर्यौँ।

फ्याक्ट चेकरसमेत रहेकी चेतनाले अनुसन्धान पत्रमा आधारित समाचार लेखनमा भइरहेको कमजोरी र प्रकाशित समाचारबारे तथ्य जाँच हुँदाका प्रतिक्रियाबारे आफ्नो अनुभव साझा गरेकी थिइन्।

उनले भनिन् :

आजका पाठक/दर्शक अनि स्रोता हिजोका दिनमा जस्तो कुनै पत्रिका वा टेलिभिजन वा रेडियोले जे भन्ने त्यसैमा विश्वास गर्ने अवस्थामा छैनन्। पत्रिका/टेलिभिजन/रेडियो अनि अनलाइनबाट प्रकाशित हुने समाचार कति सत्य हो भनेर पाठक/दर्शन अनि स्रोताले नै तथ्य जाँच गर्न सक्ने अवस्था हो अहिलेको। यो गजबको परिवर्तन हो। तर, अहिलेका मिडिया हाउस सञ्चालकहरूले यो सत्य स्वीकार गर्नै सकेको देखिँदैन।

पुरा समाचार : अध्ययन प्रतिवेदनको चिरफार गर्ने सवालमा हाम्रा मिडिया बायस्ड छन्

बल्ल लाग्यो 'शिवश्व'

पशुपति क्षेत्र विकास कोष अन्तर्गतको गोठाटारको बालुवाखानीमा भएको भ्रष्टाचारबारे सर्वोच्च अदालतमा दायर पुनरावेदनको निवेदन आठ वर्षदेखि विचाराधीन थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको अभियोग पत्रका आधारमा विशेष अदालतले ठेकेदारलाई दोषी ठहर गरे पनि कोषका पदाधिकारीसहितका सरकारी कर्मचारीहरूलाई सफाइ दिएको थियो।

विशेषको फैसलाविरुद्ध सर्वोच्चमा परेको पुनरावेदन आठ वर्षपछि बल्ल बुधवार फैसलाको चरणमा पुग्दा यस अगाडि विशेषबाट सफाइ पाएकाहरूसमेत गरेर नौ जना दोषी ठहर भए। दोषी ठहर हुनेहरूमा एमाले र नेपाली कांग्रेसका नेताहरू समेत परे।

सर्वोच्चले कोषका तत्कालीन सदस्यसचिव तथा एमाले नेता निर्मल कुइँकेललाई ६ वर्ष कैद र ८३ लाख ४१ हजार रुपैयाँ जरिवाना तोक्यो। कोषका अर्का पूर्व सदस्य सचिव सुशील नाहाटालाई ६ वर्ष कैद र ९१ लाख ६३ हजार रुपैयाँ जरिवाना हुने फैसलामा उल्लेख छ। नहाटा नेपाली कांग्रेसका नेता हुन्।

पुरा समाचार : 'शिवश्वलाग्यो : आठ वर्षमा बल्ल टुङ्गियो पशुपति बालुवाखानी भ्रष्टाचार मुद्दाएमाले र कांग्रेसका नेतासहित ९ जना दोषी

माघ ३०, २०८१ बुधबार २३:१६:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।