सञ्चारमन्त्री गुरुङले भने ‘मन्त्रालयको  प्रशासन नै  फितलो’

सञ्चारमन्त्री गुरुङले भने ‘मन्त्रालयको  प्रशासन नै  फितलो’

काठमाडौं :  सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रालयको  प्रशासन फितलो भएको बताएका छन्।

बुधवार २०८१-८२ को दोस्रो त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै उनले मुख्य समस्या नै प्रशासन भएकाले यसलाई सबैले मिलेर सुधार गर्नुपर्ने बताए।

‘हाम्रो प्रशासन एकदमै फितलो छ। मुख्य समस्या नै प्रशासन हो। यसमा हामी सबैले मिलेर सुधार गरौँ’ उनले भने।

उनले प्रशासनसँगै नीतिगत कुराहरू मिलाउने काम गरिरहेको र हुलाक सेवा, रासस र गोरखापत्रको पनि नयाँ ऐन बनाउनुपर्ने आवश्यकता रहेको बताए।

उनले आफ्नो मन्त्रालयलगायत जहाँ पनि कर्मचारी र बजेटको अभाव हुने गरेको बताए।

‘हाम्रो विरासत नै गन्जागोल  छ। एक अर्कालाई आरोप प्रत्यारोप लगाउने र फोहोर थुपार्ने प्रवृत्ति छ। यसलाई हामीले सरसफाइ गर्नुपर्ने छ। हाम्रो मन्त्रालयलाई धेरै बजेट नै राखेको छैन। जहाँ पनि कर्मचारीको अभावसँगै बजेटको पनि अभाव हुन्छ’ उनले भने।

उनले विद्यमान जनशक्ति भए पनि कार्य क्षमता र कार्यदल एकदमै कमजोर रहेको भन्दै कार्य क्षमता र कार्यदल कमजोर भएकाले लिडरसिपको भूमिका कमजोर देखिएको दाबी गरे।

माघ ३०, २०८१ बुधबार १८:३१:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।