स्वास्थ्य मन्त्रालयको दाबी ‘खरिदमा मन्त्री हैन कर्मचारी जबाफदेही’

काठमाडौँ : स्वास्थ्य मन्त्रालयले मन्त्रालय अन्तर्गत हुने खरिद सम्बन्धी कार्यमा सम्बन्धित निकायका प्रमुख नै पूर्ण रूपमा जिम्मेवार हुने दाबी गरेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जारी गरेको विज्ञप्तिमा खरिद सम्बन्धी कार्यमा सम्बन्धित निकायका प्रमुख नै पूर्ण रूपमा जिम्मेवार हुने तथा कानुनको पालना नभएमा उक्त खरिद कार्यमा संलग्न कर्मचारीहरू नै जबाफदेही हुनुपर्ने उल्लेख छ।
उकेराले पछिल्लो समय स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा विभाग अन्तर्गत अगाडि बढेको टेन्डरमा भएको मिलेमतोबारे प्रमाणसहित समाचार प्रकाशित गर्दै आएको छ। बुधवार जारी विज्ञप्तिमा कुनै सञ्चारमाध्यम र समाचार भने उल्लेख गरिएको छैन।
विज्ञप्तीमा स्वास्थ्य सेवा विभागबाट भइरहेको सार्वजनिक खरिदको विषयमा अनावश्यक रूपमा मन्त्रालय र मन्त्रीलाई जोडेर केही अनलाइन मिडियाबाट नियमित रूपमा समाचार प्रकाशन भएकोमा गम्भीर ध्यानाकर्षण भएको मात्र उल्लेख छ।
‘सार्वजनिक खरिद ऐन, २०६३ को दफा ७ को उपदफा (१) मा ऐन बमोजिमको कार्यविधि पूरा गरी खरिद सम्बन्धी कार्य गर्ने, गराउने जिम्मेवारी सम्बन्धित सार्वजनिक निकायको प्रमुखको हुनेछ भन्ने स्पष्ट कानुनी व्यवस्था भएकाले स्वास्थ्य सेवा विभाग तथा मन्त्रालय मातहतका विभिन्न निकायबाट नियमित रूपमा भइरहने खरिद प्रक्रियामा मन्त्रालय र मन्त्रीको कुनै संलग्नता नहुने’ उल्लेख छ।
प्रचलित कानुन बमोजिम खरिद सम्बन्धी कार्यमा सम्बन्धित निकायका प्रमुख नै पूर्ण रूपमा जिम्मेवार हुने तथा कानुनको पालना नभएमा उक्त खरिद कार्यमा संलग्न कर्मचारीहरू नै जवाफदेही हुनुपर्ने स्पष्ट कानुनी प्रबन्धको बेवास्ता गरी मन्त्री र मन्त्रालयका पदाधिकारीलाई अनर्गल आक्षेप लगाएको विज्ञप्तिमा दाबी गरिएको छ।
सार्वजनिक खरिद कानुन अनुसार मन्त्रालय अन्तर्गतको खरिदमा खरिदको रकम अनुसार सम्बन्धित कार्यालय प्रमुखदेखि सचिवको भुमिका हुन्छ। खरिदको कुनै निर्णयमा मन्त्रीले हस्ताक्षर गर्नु पर्दैन। तर मन्त्रालय अन्तर्गत हुने गतिविधिको प्रत्यक्ष निगरानी, नियमन र निर्देशनको अधिकार सम्बन्धित मन्त्रीमा हुन्छ नै।
कहिकतै, केही बदमासी भएमा त्यसबारे छानबिन गर्ने, सत्यतथ्य खुलाउने र बदमासी देखिए कार्वाहीको दायरामा ल्याउने जिम्मेवारी मन्त्रालयकै हो। उकेराले स्वास्थ्य सेवा विभागले अगाडि बढाएको टेण्डर कसरी निश्चित कम्पनीको उत्पादक मेसिनसँग मात्र मिल्नेगरि स्पेशिफिकेशन लक्ड गरिएको छ भन्ने प्रमाणसहित समाचार प्रकाशित गरिरहेको छ।
विभागले बदनियतका साथ अगाडि बढाएको खरिद प्रक्रियाबारे भने विज्ञप्ति मौन छ। विज्ञप्तीमा सबै जिम्मेवारी कर्मचारीको हो भनेर मन्त्रीलाई खरिदबाट पूर्ण अलग राखिएको छ। तर खरिदमा बदमासी देखिए मन्त्रालयले निर्वाह गर्ने जिम्मेवारीबारे बिज्ञप्ती मौन छ।
मन्त्रालय र विभागबारे उकेरामा प्रकाशित समाचार
माघ ३०, २०८१ बुधबार १८:०९:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।