प्रधानमन्त्री ओलीले भने : कर्मचारीलाई संगठन खोल्ने हक छ, आन्दोलन गर्नु पर्दैन

काठमाडौं : निजामती प्रशासनमा दलगत संगठन खोल्न रोक्नेबारे छलफल चलिरहेको बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सिद्धान्त बमोजिम सङ्गठन गर्न पाउने हक रहेको र त्यसका लागि आन्दोलन गर्नु नपर्ने बताएका छन्।
नेपाल निजामती कर्मचारी सङ्गठनको १२ औँ महाधिवेशनको उद्घाटनमा उनले अहिले सबैका आवाज सुन्ने सरकार रहेकाले आन्दोलनमा उत्रनुपर्ने अवस्था नभएको भन्दै समयमा सेवा दिने कुरामा भने चुक्न नहुने बताए।
‘अहिले भएकोभन्दा अझ परिष्कृत सेवा दिनुपर्छ। यस सङ्गठनका कुनै पनि मान्छे भ्रष्टाचार र अनियमिततामा मुछिनु हुन्न। तपाईँबाट सेवा पाएको मान्छेले खुसी भएर तपाईँलाई निजामती सङ्गठनको मान्छे रहेछ भन्ने स्वतः चिनोस् र धन्यवाद देओस्’ उनले भने।
उनले सरकारी कर्मचारीका रूपमा यो पार्टी, त्यो पार्टी नभनी सबैलाई निष्पक्ष रूपमा सेवा दिनुपर्ने सुझाव दिए। प्रधानमन्त्री ओलीले सरकारमाथि घेराबन्दी भएर पनि कुनै समस्या नरहेकाले ढुक्कका साथ काम गर्न कर्मचारीलाई आग्रह गरे।
माघ ३०, २०८१ बुधबार १७:२९:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।