मन्त्रीपरिषद् बैठक : एसियाली विकास बैङ्कको २७ करोड अनुदान स्वीकारदेखि कर्मचारी सरुवासम्मको निर्णय

मन्त्रीपरिषद् बैठक : एसियाली विकास बैङ्कको २७ करोड अनुदान स्वीकारदेखि कर्मचारी सरुवासम्मको निर्णय

काठमाडौं : सरकारले राष्ट्रपति कार्यालयका सचिव नारायणप्रसाद शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिव डा.रामप्रसाद घिमिरेलाई राष्ट्रपति कार्यालयमा सरुवा गरेर त्यहाँ कार्यरत सचिव शर्मालाई आयोगमा र अख्तियारका सचिव घनश्याम उपाध्यायलाई अर्थ सचिवमा सरुवा गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

बैठकले लुम्बिनी प्रदेश सरकारका कायममुकायम प्रमुख सचिव बाबुराम अधिकारीलाई सचिवमा बढुवा गरेर सोही प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय समेत गरेको छ। योसँगै मन्त्रिपरिषद् बैठकले भने १७ सह-सचिवको सरुवा गर्ने निर्णय समेत गरेको छ।

बैठकका अन्य निर्णयहरू

१.एसियाली विकास बैङ्कको एसिया प्यासिफिक डिजास्टर रेस्पोन्स फन्ड-२०२४ बाट फल्ड्स एन्ड ल्यान्ड्सलाइड इमर्जेन्सी रेस्पोन्स प्रोजेक्टका लागि प्राप्त हुने २० लाख अमेरिकी डलर (करिब २७ करोड ७३ लाख रुपैंया) अनुदान सहायता स्वीकार गर्ने।

२.६७० मेगावाट क्षमताको दुधकोशी जलाशययुक्त जलविद्युत आयोजना निर्माणका लागि आयोजनाको वित्तीय व्यवस्था सम्बन्धी पूर्व तयारी अगाडि बढाउन सैद्धान्तिक स्वीकृति प्रदान गर्ने।

३.२०८१ माघ २९ देखि फागुन २ सम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने थर्ड एनुअल इनर्जी विक कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीलाई सहभागी हुन स्वीकृति दिने।

४.२०८१ माघ २९ मा भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल-भारत विद्युत् व्यापार सम्झौता अन्तर्गतको संयुक्त सञ्चालक समितिको बैठकमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सहभागी हुन ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव (ऊर्जा) लाई स्वीकृति दिने।

५.सजाय माफी मुलतबी, परिवर्तन वा कम गर्ने सम्बन्धी कार्यविधि २०७१ खारेज गर्ने।

६.नेपाल र युक्रेनबीच कूटनीतिक, अफिसियल र सर्भिस राहदानीवाहकलाई भिषा छुट दिनेसम्बन्धी सम्झौता पत्र स्वीकृत गर्ने।

७.परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र ओमान सरकारको डिप्लोमेटिक एकेडेमीबिच हस्ताक्षर हुने कूटनीतिक अध्ययन र तालिममा सहकार्यसम्बन्धी समझदारी पत्र स्वीकृत गर्ने।

८.नेपाल सरकारको नाममा दर्ता रहेको सुर्खेत जिल्ला भेरीगंगा नगरपालिका वडा नम्बर ८ को ५३ रोपनी जग्गा मैनतडा सवस्टेशन निर्माणको लागि राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडलाई लिजमा उपलब्ध गराउन स्वीकृति दिने।

९.दैलेख जिल्लाको आठविस नगरपालिकाको स्वामित्वमा रहेको १५ शय्या क्षमताको आधारभूत अस्पताललाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत व्यवस्थापन र सञ्चालन गर्नेगरी हस्तान्तरण गर्न स्वीकृति प्रदान गर्ने।

१०.बिमा नियमावली, २०८१ स्वीकृत गर्ने।

११.नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा लुम्बिनी प्रदेशका कायममुकायम प्रमुख सचिव बाबुराम अधिकारीलाई बढुवा गर्ने।

१२.राजपत्राङ्कित विशिष्ट श्रेणीका सचिव नारायणप्रसाद शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा, सचिव नारायणप्रसाद शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा,अर्थ सचिव डा.रामप्रसाद घिमिरेलाई राष्ट्रपति कार्यालयमा सरुवा गरेर त्यहाँ कार्यरत सचिव शर्मालाई आयोगमा र अख्तियारका सचिव घनश्याम उपाध्यायलाई अर्थ सचिवमा सरुवा गर्ने।

१३.सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय: राजपत्राङ्कित प्रथम श्रेणी १७ सहसचिवको सरुवा गर्ने।

माघ ३०, २०८१ बुधबार १७:१७:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।