शनिबारसम्म बन्धक रिहा नगरे युद्धविराम रद्द गर्ने नेतान्याहुको चेतावनी, भने- ‘हमास नसक्किएसम्म जारी रहन्छ’

एजेन्सी : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले शनिबार दिउँसोसम्म आफ्ना बन्धक रिहा नगरे युद्धविराम समाप्त गर्ने चेतावनी दिएका छन्।
टाइम्स अफ इजरायलका अनुसार नेतान्याहूले आफ्नो सुरक्षा मन्त्रिपरिषद्सँगको ४ घण्टाको बैठकपछि यो बयान दिएका हुन्।
यद्यपि, नेतान्याहूले सबै बन्धकहरूको रिहाइको बारेमा कुरा गरेका हुन् वा शनिबार रिहा हुने तीन बन्धकहरूको मात्र बारेमा कुरा गरेका हुन् भन्नेबारेमा अझै स्पष्ट भइसकेको छैन।
‘हमासले युद्धविराम उल्लंघन गरिरहेको छ र हाम्रा बन्धकहरूलाई रिहा गर्न अस्वीकार गरिरहेको छ। यसलाई ध्यानमा राख्दै, मैले गाजा वरिपरि सेनाको संख्या बढाउन आइडीएफलाई आदेश दिएको छु,’ उनले भने, ‘यदि हमासले शनिबारसम्ममा बन्धकहरूलाई रिहा गरेन भने युद्धविराम समाप्त हुनेछ। हाम्रो सेनाले फेरि युद्ध सुरु गर्नेछ र हमास नसक्किएसम्म यो जारी रहनेछ।’
इजरायलका रक्षामन्त्रीले सेनालाई सतर्क रहन र ‘गाजामा हुने कुनै पनि परिस्थिति’को सामना गर्न तयार रहन आदेश दिए। इजरायली सेनाले गाजा डिभिजनका सैनिकहरूको सबै बिदा रद्द गरेको छ, जसले इजरायलले युद्ध पुनः सुरु गर्ने तयारी गरिरहेको संकेत गरेको छ।
यसअघि हमासले इजरायली सेनाले गाजामा सहायता अवरुद्ध गरेर युद्धविराम उल्लंघन गरेको आरोप लगाएको थियो। यस्तो अवस्थामा उनले अर्को आदेश नभएसम्म बन्धकहरूको रिहाइ रोक्नेछन्।
यसअघि ट्रम्पले मंगलबार हमासलाई धम्की दिँदै इजरायलबाट अपहरण गरिएका सबै बन्धकहरूलाई शनिबारसम्ममा रिहा गरिएन भने गाजामा सबै कुरा ध्वस्त पारिने चेतावनी दिएका थिए।
उनले शनिबार दिउँसो १२ बजेसम्म सबै बन्धकहरूलाई फिर्ता नगरे युद्धविराम सम्झौता रद्द हुने समेत उल्लेख गरेका थिए।
माघ ३०, २०८१ बुधबार ११:१३:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।