चौथो अंग : अध्ययन प्रतिवेदनको चिरफार गर्ने सवालमा हाम्रा मिडिया बायस्ड छन्

मिडियाको काम घटनाको जानकारी मात्रै दिने होइन, स-सूचित गराउने पनि हो। मिडियाले भ्रष्टाचार भयो भने उल्लेख त गर्छ तर कसरी भइरहेको छ भन्ने अनुसन्धानमा देखिएका तथ्यलाई त्यति महत्त्व दिएको देखिँदैन। लेख्नुपर्ने त त्यही हो नि!
स्वभाविक रूपमा मिडिया आफैँले अनुसन्धान केन्द्रले गरे जसरी काम गर्न गाह्रो हुनसक्छ। तर, अरूले गरेका अध्ययन प्रतिवेदन/जर्नल लेख तथा अनुसन्धानलाई आम मान्छेमा पुग्ने गरी समाचार भने लेख्नुपर्नेमा त्यसो भइरहेको छैन।
अन्तर्राष्ट्रिय मिडियाले आम चासोको विषय छ भने जुनसुकै क्षेत्रको अध्ययनलाई कभर स्टोरी नै बनाएको देखिन्छ। तर, हाम्रा मिडिया अनुसन्धान केन्द्र र विश्वविद्यालयमा भएका अध्ययन अनुसन्धानबाट निकै टाढा छन्।
खासमा मिडिया, अनुसन्धान केन्द्र अनि विश्वविद्यालयको समन्वय हुनुपर्ने हो। तर, नेपालमा त्यसो हुन सकिरहेको छैन। जसले गर्दा आम पाठक र दर्शकमा अनुसन्धान भएका विषयहरू पुग्नै सकेको छैनन्।
सच्चिन ‘नचाहने’ पत्रकार
मैले सक्रिय पत्रकारिता गरेको छैन। तर, रेडियोमा आउने समाचार अनि पत्रिकामा आउने समाचारले मलाई सधैँ तानिरह्यो। रहरमै कक्षा ११ र १२ देखि नै पत्रकारिता पढेँ।
स्नातकोत्तर गर्दासम्म मलाई आफैँ रिपोर्टिङ गरौँ भन्ने लागेन तर मिडियामा आउने कन्टेन्टमा आधारित रहेर कहिले तथ्य जाँचकर्ता त कहिले विश्लेषणका लागि चाहिने तथ्याङ्क बनाउन केन्द्रित भएँ।
विश्वविद्यालयमा पढाइएका सैद्धान्तिक पक्ष अनुसार हामीले काम गर्यौँ भने लागू पनि हुन्छ। उदाहरणका लागि ‘मिडिया इस्यु’ भन्ने विषय पनि छ। यो भनेको विकास, लैङ्गिकता, वातावरण लगायत मिडियामा आउने इस्युको विविधिकरण बारे हो। यो विषयको पढाइ मैले काम गर्ने संस्थालाई निकै उपयोगी भयो।
विश्वविद्यालयमा पढाइने कुनै पनि विषयलाई कसरी आफ्नो कामसँग समेट्ने भन्ने कुरा त्यो विद्यार्थीको खुबीमा भर पर्छ। विषय अनुसार काम गर्यो भने हामीले विश्वविद्यालय पढेका कुरा धेरै जसो व्यावहारिक नै हुन्छन्।
त्रिभुवन विश्वविद्यालयको ५०औं दीक्षान्त समारोहमा नारायण शान्ति मिश्र पदक प्राप्त गर्न पनि सफल भएँ। हुन त म विद्यालय तहदेखि नै कक्षा टप गर्दै आएको हो। पदक प्राप्त गरेपछि केही निजी सञ्चारमाध्यमले काम गर्नका लागि अफर पनि गरे।
तर, अहिले म आफैँ मिडिया अनुसन्धान र विद्यावारधी (पिएचडी) गरिरहेकाले पनि कतै गइनँ। मलाई समाचार लेख्नभन्दा पनि समाचारका तथ्य जाँच गर्ने अनि त्यसको विश्लेषण गर्न मनपर्छ।
केही दिनअघि लुम्बिनीमा कति प्रतिशत पर्यटक बढे भन्ने विषयमा माइसंसार सञ्चालक उमेश सरले एउटा भिडियो बनाउनुभएको थियो। मूलधारको मिडियाले सामान्य प्रतिशत हिसाब निकाल्दा गरेको गल्ती थियो त्यो। त्यो गलत छ भनेर लेख्दा राम्रो रेस्पोन्स आएन। गल्तीलाई औँल्याउँदा बरु भिड्ने र त्यही सही हो भन्न नछाड्नेहरू देखिए।
मान्छेबाट गल्ती हुन्छ, तर सच्याउनुपर्छ। आफैँ तथ्य जाँच पनि नगर्ने अनि अर्काले औँल्याउँदा समेत नसच्चिने प्रवृत्ति देखिन्छ नेपाली मिडियामा। मैले लेखेपछि सक्कियो भन्ने भ्रम देखिन्छ। तर, यसले समग्रमा पत्रकारितालाई राम्रो गर्दैन अनि विश्वसनियता पनि गुम्छ। अहिले देखिएको समस्या यही हो। त्यसैले मिसलिडिङ भयो अथवा तथ्य जाँच नगरी समाचार प्रकाशन तथा प्रसारण भयो भने सच्याउने हो। माफी माग्ने हो। तर खै किन हो हाम्रो मिडियाले तथ्य जाँचलाई रुचाएको देखिँदैन।
गल्ती देखाउनु होच्याएको हैन, निगरानी हो। अन्य देशमा भइरहेको अभ्यास हेर्ने हो भने तथ्य जाँचका लागि जनशक्ति नै राख्ने गरिएको देखिन्छ। तर, नेपालमा व्यावसायिक न्यूजरुमले उत्पादन गरेको तथ्यबारे अर्को पक्षले शुल्क नलिई तथ्य जाँच गर्दा धन्यवाद हैन उल्टो गाली खाइन्छ।
मिडिया वाच डग हो, तर अब मिडियाका कन्टेन्टको वाच गर्ने अरु पनि संस्था छन्। यो नेपालमा मात्र हैन अन्तर्राष्ट्रिय अभ्यास हो। अब नेपाली मिडियाले यो बुझ्नुपर्छ। मिडियाको कन्टेन्टको तथ्य जाँच गर्नु भनेको यो क्षेत्रलाई कमजोर बनाउनु हैन। बलियो बनाउनु हो।
कुनै विषय गलत छ भने पाठक वा दर्शक भ्रमित हुन्छन्। जानाजान वा अनजानमा फैलिएको भ्रम चिर्ने काम हो तथ्य जाँचकीको। यसमा तथ्यपरक समाचार प्रकाशन अनि प्रशारण गर्ने संस्थाका सञ्चालक अनि समाचार कक्षको लिडर खुसी हुनुपर्ने हो। तर उल्टो रिसाएको देखिन्छ।
मिडियाको छैन समन्वय
शुरूमै भनेँ, मिडियाले विभिन्न क्षेत्रले गरेको अनुसन्धानलाई कम प्राथामिकता दिन्छ। विश्वविद्यालयमा विषय अनुसार विविध अन्वेषण भइरहेको हुन्छ। त्यस्तै अनुसन्धान केन्द्रले पनि अध्ययन अनुसन्धान गरिरहेका हुन्छन्। तर त्यो अनुसन्धान र मिडियाबीचको दूरी निकै टाढा छ। खासमा भन्ने हो भने ती अन्वेषणहरू मिडियाले कभर गर्नु पर्ने हो। तर खै भएकै देखिन्न।
किन यस्तो त ?
पहिलो समस्या, हाम्रा मिडिया बायस्ड छन्। फलानोले गरेको अनुसन्धान किन छाप्ने? भन्ने धारणा हावी देखिन्छ। कुनै अनुसन्धानकर्तालाई अनुसन्धानकर्ताको रूपमा नहेरेर उसको व्यक्तिगत आस्थातिर लगेर जोडिदिने समस्या देखिन्छ। यो ठीक हैन।
अनुसन्धान केन्द्र वा व्यक्तिको कमजोरी हुनसक्छ। समस्या वा कुनै कमजोरी देखिए मिडियाले चिरफार गर्न सक्नुपर्छ। अनुसन्धान भनेको कसैले बताए वा उल्लेख गरे वा टिप्पणी गरे भन्ने खालको सतही हैनन्। बायस्ड नै भए नि कुनै न कुनै तथ्य र सिद्धान्तमा टेकेको हुन्छ। कुनै अनुसन्धान गलत छ भने मिडियाले यो कारण यो अनुसन्धान गलत छ भनेर भन्न सक्नुपर्यो। तर भन्न सक्दैनन्। यसो हुनु मा अनुसन्धानको सामग्री र यसमा रुचि कम भएर हुन पनि सक्छ।
त्यसको प्रभाव विश्वविद्यालयले गरिरहेका अन्वेषणमा देखियो। ती कस्ता छन् भनेर जान्न पत्रकारले पढ्नु त पर्यो। प्रेस विज्ञप्तिलाई तल र माथि गरेर समाचार लेख्ने बानी परेपछि अनुसन्धान प्रतिवेदन पढेर लेख्न अलि समय लाग्ने हुन्छ। यसमा त व्यक्तिगत ज्ञान पनि चाहिन्छ। कुनै अध्ययन गलत हो भन्नका लागि त्यसबारे ज्ञान त चाहियो नि! भाषणको समाचार लेखेजस्तो सहज हुन्न नि अध्ययन प्रतिवेदनको चिरफार गर्न। समस्या यहीँ हो।
अनुसन्धान भएका विषय लेख्न मिडियाले कन्जुस त गर्छ नै, सँगै मिडियासँग जोडिएकाहरूको समाचार पनि लेख्दैन मिडियाले। कुनै पत्रकारले पुरस्कार पाउँदा समाचार लेख्ने मिडियाले कुनै पत्रकारले तलब नपाउँदा, पत्रकार असुरक्षित हुँदा समाचार लेख्दैनन्। हाम्रा सम्पादकहरूलाई रिपोर्टरको पक्षमा बोल्न साह्रै गाह्रो हुन्छ। यो किन भएको होला ? सम्झदा नि उदेक लाग्छ।
अन्त्यमा,
पत्रकारिता नयाँ ढङ्गले जाँदैछ। मिडिया मात्रै होइन, अब समाजमा सूचना प्रवाह गर्ने माध्यमहरू थपिएका छन्। सामाजिक सञ्जालको प्रभाव बढिरहेको छ अहिले। पाठक/दर्शक अनि स्रोताको क्षमता बढिरहेको छ। तर, त्यसको तुलनामा मिडिया हाउसहरूको क्षमता बढ्न सकेको छैन।
आजका पाठक/दर्शक अनि स्रोता हिजोका दिनमा जस्तो कुनै पत्रिका वा टेलिभिजन वा रेडियोले जे भन्ने त्यसैमा विश्वास गर्ने अवस्थामा छैनन्। पत्रिका/टेलिभिजन/रेडियो अनि अनलाइनबाट प्रकाशित हुने समाचार कति सत्य हो भनेर पाठक/दर्शन अनि स्रोताले नै तथ्य जाँच गर्न सक्ने अवस्था हो अहिलेको। यो गजबको परिवर्तन हो। तर, अहिलेका मिडिया हाउस सञ्चालकहरूले यो सत्य स्वीकार गर्नै सकेको देखिँदैन।
मिडिया हाउसमा काम गर्नेको संख्या घटेको हैन बढेकै छ, मात्र माध्यम फरक भइरहेको हो। समाचारकक्षले गर्न नसकेको एउटा काम इन्टर्न हो। इन्टर्नबाट नयाँ क्षमता अनुसारको जनशक्ति चयन गर्न सकिन्छ। तर, यहाँ त नेपाल टेलिभिजनमा इन्टर्न गर्दा अहिले उल्टो पैसा तिर्नुपर्ने अवस्था छ। अनि नयाँ जनशक्ति कसरी चयन हुन्छ?
विश्वविद्यालयका विद्यार्थीलाई समाचारकक्षसम्म जोड्ने हो भने त इन्टर्नमा खुला हुनु पर्यो नि मिडियामा। तर छैन। अनि कसरी मिडियामा नयाँ जनशक्ति आउँछन्?
(त्रिभुवन विश्वविद्यालय पत्रकारिता विभागकी गोल्डमेडलिस्ट कुँवर अहिले काठमाडौं विश्वविद्यालयमा विद्यावारिधी गर्दैछिन्। सेन्टर फर मिडिया रिसर्चसँग आबद्ध भएकी उनीसँग प्रजु पन्तले पत्रकारिताको अध्ययन र मिडियाबारे केन्द्रित भएर गरेको कुराकानीमा आधारित)
चौथो अंगका पुराना श्रृंखला :
माघ ३०, २०८१ बुधबार १०:३२:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।