च्याम्पियन्स लिग : अग्रता जोगाउन नसक्दा रियलसँग हार्यो सिटी

काठमाडौं : युरोपेली च्याम्पियन्स लिगअन्तर्गतको प्ले अफमा रियल मड्रिडले म्यानचेस्टर सिटीलाई तीन–दुई गोलले हराएको छ।
म्यानचेस्टरको इतिहाद रंगशालामा गएराति सम्पन्न खेलमा सुरुवाति अग्रता जोगाउन नसक्दा सिटी पराजित भएको हो। घरेलु समर्थकमाझ सिटीका फरवार्ड अर्लिङ हाल्यान्डले १९औँ मिनेटमा सुरुवाती अग्रता दिलाएका थिए।
पहिलो हाफको अन्तिम मिनेटमा हाल्यान्डको अर्को सानदार प्रहार क्रसबारमा लागेर फर्किएको थियो। भिन्न रणनीतिका साथ मैदान फर्किएको रियलले दोस्रो हाफमा सानदार पुनरागमन गर्यो।
६०औँ मिनेटमा फरवार्ड किलियन एम्बाप्पले रियललाई पुनरागमन गराए। उनको भली गोलसँगै खेल बराबरीको अवस्थामा पुगेको थियो। ७६औँ मिनेटमा भिनियसयस जुनियरको प्रहार गोलकिपरले बचाएका थिए। ८०औँ मिनेटमा घरेलु टिमले पेनाल्टी पायो। फिल फोडेनलाई रियलका डिफेन्डरले बक्स भित्र लडाएपछि सिटीले पेनाल्टी पाएको हो।
उक्त पेनाल्टीमा हालान्डले सानदार गोल गरेपछि सिटीले दुई–एकको अग्रता बनाएको थियो। ८६औँ मिनेटमा ब्राहिम डियाजले गोल गरेपछि उक्त अग्रता तोडियो। भिनिसयसको प्रहार गोलकिपरले रोकेपछि रिबाउन्डमा डियाजले गोल गरे।
प्रतिस्पर्धात्मक बनेको स्टपेज समयमा रियलका फरवार्ड जुड बेलिङ्घमले गोल गर्न सफल भए। उनले इन्ज्युरी समयको दोस्रो मिनेटमा गोल गरेका हुन्। यससँगै खेलमा रियलले पुनरागमन जित निकालेको हो। तर यो जित मात्रै रियललाई प्ले अफमा पुग्नको लागि पर्याप्त हुने छैन। दुई टिमबीच अर्को हप्ता रियलको बर्नाबेउ रंगशालामा दोस्रो लेगको खेल हुनेछ।
सो खेलपछिको समग्र विजेता च्याम्पियन्स लिगको अन्तिम १६ मा पुग्नेछ।च्याम्पियन्स लिगमा गएराति नै भएको अर्को खेलमा युभेन्टसले पिएसभीलाई २–१ ले हराएको छ।
माघ ३०, २०८१ बुधबार ०८:२३:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।