कुम्भ मेलामा आज माघ पूर्णिमा स्नान, भक्तजनहरूको ठूलो भीड

एजेन्सी : भारतको उत्तर प्रदेशको प्रयागराजमा चलिरहेको कुम्भ मेलामा फेब्रुअरी १२ मा माघ पूर्णिमा स्नान सुरु भएको छ। यसका लागि ठूलो संख्यामा भक्तजनहरू त्रिवेणी संगममा पुगिरहेका छन्।
मेलामा कुनै पनि अप्रिय घटना हुन नदिन कडा सुरक्षा व्यवस्था मिलाइएको छ।
आज मेलामा भक्तजनहरूको ठूलो भीड हुने सम्भावनालाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा पारिएको अतिरिक्त मेला अधिकारी विवेक चतुर्वेदीलाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआईले जनाएको छ।
विवेक चतुर्वेदीले भने, ‘आज माघ पूर्णिमा स्नान हो। यसपालि मेलामा अनपेक्षित भीडभाड भएको छ। रातमा पनि भक्तजनहरूको आगमन जारी रहन्छ। प्रशासनले यसको लागि पूर्ण तयारी गरेको छ।’
चतुर्वेदीले जल प्रहरीले घाटहरूमा ब्यारिकेड लगाएको उल्लेख गर्दै त्यसबाहेक वाच टावरहरूबाट निगरानी बढाइएको समेत बताए।
यही मेलामा जनवरी महिनामा भागदौड मच्चिँदा धेरैको मृत्यु भएको थियो। अब यस्तो अवस्था आउन नदिन प्रशासनले सतर्कता बढाएको छ।
माघ ३०, २०८१ बुधबार ०७:५०:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।