अनलाइन जुवा खेलाएको आरोपमा २३ भारतीय पक्राउ, एनपिएलसँग सम्बन्धित भए/नभएको अनुसन्धान हुँदै

काठमाडौं : जिल्ला प्रहरी परिसर काठमाडौंले सट्टाबाजीमा सङ्लग्न २३ भारतीय नागरिकलाई आज सार्वजनिक गरेको छ।
काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-३ गैरीगाउँस्थित दोर्जे शेर्पाका घरमा अनलाइन जुवा खेलाइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको थियो।
पक्राउ परेका व्यक्तिको साथबाट प्रहरीले ८१ हजार, ८८ थान मोबाइल, १० थान ल्यापटप, भारतीय विभिन्न बैँकको एटिएम ८ वटा भारतीय सिम ५० वटा, एउटा नेपाली सिम, भारतीय नागरिकको नाममा रहेको स्थायी लेखा (प्यान कार्ड) ५ वटा, ३ वटा लाइसेन्स र कारोबारको हिसाब राखिएको नोटबुक ७ वटासमेत बरामद गरेको थियो।
पक्राउ गरिएकाहरूलाई सट्टेबाजी गर्न नहुने कसुरमा जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पत्रकार सम्मेलनमा प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी अपिल राज बोहराले यस प्रकरणमा ३ अर्ब १३ करोड बढीको अनलाइन जुवा खेलाएको हालसम्मको अनुसन्धानबाट खुलेको जानकारी दिए।
‘आरोपीहरुबाट प्राप्त नोट बुकमा कारोबारको हिसाब टिप्ने गरेको देखिन्छ। जसमा ३ अर्ब १३ करोड भन्दा बढीको कारोबार भएको देखियो। जुवाको साथै क्रिप्टोकरेन्सीमा लगानी समेत गरेको देखिएको छ। यस विषयमा जानकारसँग कुरा गरेर कति लगानी गरेको हुन्, त्यसबारे अध्ययन हुँदैछ,’ उनले भने।
प्रहरीका अनुसार आरोपीहरु एनपिएलको समयमा आएर जुवा खेलाएको हो वा होइन भन्ने बारेमा समेत अनुसन्धान भइरहेको बोहराले बताए।
‘भर्खरै एनपिएल सकियो। उनीहरु एनपिएलकै समयमा आएर जुवा खेलाएको हो वा होइन भन्ने बारेमा अनुसन्धान गर्दैछौँ,’ उनले भने।
माघ २९, २०८१ मंगलबार २१:०७:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।