सबैले विधिको शासन मान्नुपर्छ : ज्ञानेन्द्र शाही

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाही ज्ञानेन्द्रले सबैले विधिको शासन मान्ने र कानुन पालना गर्ने अवस्था सिर्जना गर्नुपर्ने बताएका छन्।
प्रतिनिधि सभाको आजको बैठकमा दलीय आधारमा बोल्नेक्रममा सांसद शाहीले सत्तारूढ दलका नेता तथा कार्यकर्ताले गल्ती गर्दा पनि उनीहरूलाई कानुन नलाग्नु विधिको शासनको उल्लङ्घन रहेको बताए।
सर्वसाधारणका लागि एक खालको कानुन र नेता तथा कार्यकर्तालाई अर्को खालको कानूनको अभ्यास सरकारले गरेको आरोप सांसद शाहीले लगाए।
बैठकमा एमालेका सांसद वासुदेव घिमिरेले सरकारले सुशासन कायम गर्न, सेवा प्रवाहलाई छरितो बताउन र लगानी प्रवर्द्धनका लागि अध्यादेश ल्याएको बताए। अध्यादेशमाथि प्रतिपक्षले विरोध गर्नु जायज नरहेको उनको भनाइ छ।
अध्यादेशको प्रक्रियामा कुनै त्रुटि नरहेको तर अध्यादेशमा राखिएका विषयवस्तु संशोधन गर्नुपर्ने भए त्यसमाथि संसद्मा छलफल गर्न सकिने उनको भनाइ छ।
माघ २९, २०८१ मंगलबार १९:२१:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।