फागुन ५ देखि अन्तराष्ट्रिय महिला च्याम्पियनसिप

फागुन ५ देखि अन्तराष्ट्रिय महिला च्याम्पियनसिप

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप २०२५’ आयोजना हुँदैछ।
 
मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै संघले फेब्रुअरी १७ देखि २६ (२०८१ फागुन ५ देखि १४ सम्म) दशरथ रंगशालामा च्याम्पियनसिप आयोजना हुन लागेको जानकारी गराएको हो। 

एएफसी महिला एसियन कप/फिफा महिला विश्वकपको तयारी स्वरुप यो प्रतियोगिता आयोजना गर्न लागिएको हो। 

फिफा अन्तर्राष्ट्रिय विन्डोज अन्तर्गत खेलिने यस अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललगायत कीर्गिस्तान, म्यानमार र लेवननको सहभागिता रहनेछ। सहभागी टोलीहरु मध्ये कीर्गिस्तान फेब्रुअरी १३ र अन्य दुई टोली फेब्रुअरी १४ मा काठमाडौं संघले जानकारी दिएको छ।
 
सहभागी टोलीलाई एन्फा कम्प्लेक्सको खेल मैदान र नेपाली सेनाको भद्रकाली खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको छ। नेपालमा पहिलो पटक चार राष्ट्र सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको आयोजना हुन लागेको हो।
 
प्रतियोगिताको तयारीका लागि हाल ३० सदस्यीय नेपाली राष्ट्रिय महिला टोली मुख्य प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा बन्द प्रशिक्षणमा रहेको छ। प्रतियोगिताका खेलहरु राउन्ड रोबिन आधारमा खेलि शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ। खेलहरु दिनको २ र साँझको ६ बजे खेलिनेछ।

एन्फाले प्रतियोगिताको तयारी पुरा भएको जनाएको छ। प्रतियोगिताको टेलिभिजन प्रसारण, मार्केटिङ, टिकटिङ र डिजिटल अधिकार ब्रान्ड डिजिटल लोजिक प्रालिलाई प्रदान गरिसकिएको छ। 

प्रतियोगिताका सम्पूर्ण खेलहरु कान्तिपुर म्याक एच्डिबाट प्रत्यक्ष प्रशारण गरिनेछ। प्रतियोगिताको टिकट दर साधारण पारापिट तर्फ ५०० र भीआइपी तर्फ १००० तोकिएको छ। टिकट खल्तीबाट किन्न सकिनेछ।  

माघ २९, २०८१ मंगलबार १६:२६:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।