सत्ता टिकाउनकै लागि प्रहरी कुट्ने अखिलका विद्यार्थीमाथि अनुसन्धान भएन : शिशिर खनाल

सत्ता टिकाउनकै लागि प्रहरी कुट्ने अखिलका विद्यार्थीमाथि अनुसन्धान भएन : शिशिर खनाल
फाइल तस्बिर

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् शिशिर खनालले ड्युटीमा खटिएका प्रहरीलाई कुट्ने एमालेनिकट विद्यार्थी संगठनका विद्यार्थीलाई कारबाही नगरिएको प्रति असन्तुष्टि व्यक्त गरेका छन्।

मंगलबारको संसद्को आकस्मिक समयमा बोल्दै सांसद खनालले ड्युटीमा रहेको प्रहरी कुट्नेलाई प्रहरीले अनुसन्धान गर्ने हिम्मत समेत नगरेकोमा आश्चर्य प्रकट गरेका हुन्।

सत्ताधारी दलमा रहेका विद्यार्थीहरूले क्याम्पस र कक्षाकोठामा दादागिरी गरेको भन्दै उनले प्रहरीले कारबाही नगरेपछि क्याम्पसमा कसरी पढ्ने वातावरण हुन्छ भन्दै प्रश्न समेत गरेका छन्।

एक विद्यार्थीको म्यासेज पढ्दै उनले सोधे, ‘क्याम्पस र कक्षाकोठामा सधैँ उहाँहरूको दादागिरि चल्थ्यो। तर अब पुलिसले पनि आँट नगरेपछि कसरी क्याम्पसमा पढ्ने वातावरण हुन्छ?’

कहिले नेविसंघका विद्यार्थीले गृहमन्त्रीको फोटो देखाएर प्राध्यापक थर्काउने त कहिले सत्ता टिकाउने बहानामा अखिल समर्थक विद्यार्थीहरूलाई प्रहरीले अनुसन्धान गर्न समेत आँट नगर्ने अवस्थाले देश र प्रणालीप्रति युवाहरूको चरम निराशा छाइरहेको उनको भनाइ छ।

उनले थपे, ‘देश छोडेर धेरै युवाहरू विदेश गए भन्नेबारेमा सदनमा सांसदहरू चिन्तित भएको सुन्छु। तर एउटा पक्षलाई पक्षपोषण गरेर दलीय विद्यार्थी संगठनका विद्यार्थीहरूका लागि मात्र यो देश सुरक्षित छ भनेर हामी नेपाली युवाहरूलाई यही देश बस भन्ने सन्देश दिइरहेको छौँ त!’

‘दुई तिहाइको बहुमत छ। गृहमन्त्री आफैँले कमान्ड गरेको प्रहरीको सुरक्षा दिन सक्दैन भने नेपाली युवा कसको अनुहार हेरेर यो देशमा बसिदिनुपर्ने? तपाईंहरूलाई भोटै मात्र हाल्न यो देश बसिदिनुपर्ने हो त?’, उनले प्रश्न गरे।

उनले गृहमन्त्री रमेश लेखकले कुर्सीमा बसिरहने नैतिकता गुमाइसकेको समेत बताए।

उनले थपे, ‘आफ्नो कमान्डमा रहेको प्रहरीलाई सुरक्षा दिन नसक्ने गृहमन्त्रीले कुन नैतिकताले आफ्नो कुर्सीमा बस्ने हो? जवाफ दिनुपर्यो।’

माघ २९, २०८१ मंगलबार १३:५६:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।