प्यालेस्टिनीहरूलाई राख्न नमान्ने देशहरूको सहयोग रोक्ने ट्रम्पको चेतावनी

प्यालेस्टिनीहरूलाई राख्न नमान्ने देशहरूको सहयोग रोक्ने ट्रम्पको चेतावनी

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा प्यालेस्टिनीहरूलाई राख्न नमान्ने देशहरूको सहयोग रोक्ने चेतावनी दिएका छन्।

सोमबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले भनेका छन्, ‘यदि ती देशहरूले प्यालेस्टिनीहरूलाई स्थान दिएनन् भने, म उनीहरूको सहयोग रोक्नेछु।’

जोर्डनका राजा अब्दुल्लाह द्वितीय वाशिंगटन डीसी पुगेको समयमा ट्रम्पले यस्तो चेतावनी दिएका हुन्। अब्दुल्लाह द्वितीयले मंगलबार ह्वाइट हाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट गर्ने कार्यक्रम छ।

यसैबीच, एक पत्रकारले ओभल अफिसमा राष्ट्रपति ट्रम्पलाई उनले राजा अब्दुल्लाहलाई थप प्यालेस्टिनीहरूलाई स्वीकार गर्न कसरी मनाउनुहुन्छ भन्ने प्रश्न गरेका थिए।

जसको जवाफमा ट्रम्पले भने, ‘मलाई लाग्छ कि राजा अब्दुल्लाह सहमत हुनेछन् र मलाई लाग्छ अन्य देशहरू पनि यसमा सहमत हुनेछन्। उनीहरू सबै उदार स्वभावका छन्।’

राष्ट्रपति ट्रम्पले फेब्रुअरी ४ मा गाजा पट्टीमा अमेरिकी नियन्त्रणको प्रस्ताव गरेका थिए। अमेरिकाले गाजा पट्टीमा पुनर्निर्माणको काम गर्ने बताएका थिए।

यसअघि ट्रम्पले प्यालेस्टिनीहरूलाई इजिप्ट र जोर्डनमा स्थायी रूपमा ‘बसोबास’ गर्नुपर्ने पनि बताएका थिए। यद्यपि, जोर्डन लगायत त्यस क्षेत्रका अन्य देशहरूले ट्रम्पको सुझावमा आपत्ति जनाएका थिए।

यस सन्दर्भमा अर्का पत्रकारले राष्ट्रपति ट्रम्पलाई सोधे कि यदि जोर्डन र इजिप्टले प्यालेस्टिनीहरूलाई गाजामा राख्न सहमत नभएमा के उनीहरूलाई दिइने सहयोग रोकिनेछ?

यसको जवाफमा ट्रम्पले भने, ‘हो, यो सम्भव हुनसक्छ, बिल्कुल, किन नहुने? यदि तिनीहरूले त्यसो गरेनन् भने, म मद्दत रोक्नेछु।’

माघ २९, २०८१ मंगलबार १२:१५:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।