५५ वर्ष पुरानो वाग्मती पुलको बिम चर्कियो, डाइभर्सन गरेर मर्मत सुरू

५५ वर्ष पुरानो वाग्मती पुलको बिम चर्कियो, डाइभर्सन गरेर मर्मत सुरू

चन्द्रपुर : पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहट र सर्लाही जिल्लाका बीचमा रहेको वाग्मती नदीको पुल मर्मत थालिएको छ।

डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले डेढ किलोमिटर ड्राइभर्सन बनाएर पुल मर्मत सुरुआत गरेको हो। केही दिनअघि पुलको बिम (गिर्डर) चर्किएको थियो।

पुलको पूर्वतर्फ ४ र ५ नम्बरको स्परमाथि जडान गरिएको बिम झण्डै आठ सेन्टिमिटर चर्किएको कार्यालयका प्रमुख अरुणकुमार कर्णले जानकारी दिए।

यही माघ २६ गते डाइभर्सन बनाएर २८ गतेदेखि पुल मर्मतको काम थालिएको  उनले जानकारी दिए।

करिब ५५ वर्षअघि नेपाल सोभियत सङ्घ सहयोगअन्तर्गत निर्माण भएको वाग्मती नदी पुलको चार-पाँच नम्बर स्परको बीचमा रहेका बिममा रहेको बेरिङ राख्ने ‘प्याडेस्टल’ कङ्क्रिट फुटेको उनले बताए।

पुलमा आधुनिक प्रविधिबाट उच्च गुणस्तरको कङ्क्रिट हालेर ढलान गरिने काम भइरहेको प्रमुख कर्णले जानकारी दिए। यही बेला अन्य बिमको पनि सरसफाइ तथा बेरिङ र कङ्क्रिटको अवस्था हेर्ने उनले बताए।

पुल आगामी फागुन २ गतेभित्र सञ्चालनमा ल्याउनेगरी काम भइरहेको छ।

माघ २५ गते सडक डिभिजन कार्यालयले पत्रचार नै गरेर २७ गतेदेखि सवारी आवागमनमा रोक लगाइएको थियो। पुलको बिम चर्किएपछि सवारी आवागमन थप जोखिमपूर्ण बनेको थियो।

माघ २९, २०८१ मंगलबार ११:२८:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।