भ्रष्टाचार मुद्दामा बयान फेर्ने सरकारी साक्षीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा बयान फेर्ने सरकारी साक्षीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
सरकारी साक्षीको रूपमा अदालतमा पेश गरिएका बाराको सिम्रौनगढ नगरपालिका-११ बस्ने दिपेश यादवले भ्रष्टाचार मुद्दामा अनुसन्धानको क्रममा गरेको वयान व्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टी भएपछि मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।
उनका अनुसार नेपाल सरकार वादी र वीरेन्द्र प्रसाद साह कानू प्रतिवादी भएको घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षीको रूपमा पेश गरिएका दिपेश यादवले अनुसन्धान अधिकृत समक्ष गरेको बयान कागजको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टी भएको थियो।
अब प्रतिवादी वीरेन्द्र प्रसाद साह कानूलाई रकम भुक्तानी दिए वापत घुस/रिसवत रकम ७८ हजार रूपैयाँ दिएको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसुर भएकोले दिपेश यादवलाई बिगो ७८ हजार रुपैयाँ कायम गरी मुद्दा दायर गरिएको घिमिरेको भनाइ छ।
उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन एवं घुस रकम ७८ हजार रुपैयाँ सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जफत गर्न समेत माग गरिएको छ।
माघ २९, २०८१ मंगलबार १०:२८:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।