एमयू स्ववियु निर्वाचन : चैत २० भित्र निर्वाचन गर्न उच्च अदालत सुर्खेतको परमादेश

सुर्खेत : मध्यपश्चिम विश्वविद्यालय (एमयू)को स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन यही चैत २० भित्र गर्न उच्च अदालत सुर्खेतले परमादेश जारी गरेको छ।
माघ १५ मा उच्च अदालत सुर्खेतका न्यायाधीशद्वय मदन पोख्रेल र मातृकाप्रसाद भण्डारीको संयुक्त इजलासले दिएको उक्त आदेशको पूर्णपाठ आज सार्वजनिक भएको हो।
आदेशमा मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा विगत लामो समयदेखि स्ववियु निर्वाचन भएको नदेखिँदा यही चैत्र २० भित्र निर्वाचन सम्पन्न गरेर त्यसका लागि निर्वाचन समिति गठन गर्नुपर्ने भए गठन गरी निर्वाचन तालिका प्रकाशनमा मतदाता नामावली प्रकाशन मितिसम्म अध्ययनरत सम्पूर्ण विद्यार्थीहरू निर्वाचनमा सहभागी हुने सुनिश्चितता प्रदान गर्न भनिएको छ।
आदेशको पूर्णपाठमा भनिएको छ, ‘जहाँसम्म मध्यपश्चिम विश्वविद्यालय स्ववियु निर्वाचन स०८१ भदौ २८ का दिन मतदान गर्ने गरी भएको निर्वाचनका सम्पूर्ण कार्यक्रम तथा निर्वाचन तालिकामा समावेश भएका कतिपय विद्यार्थीहरूको सत्रान्त समाप्त भइसकेको हुँदा उक्त निर्वाचन तालिकाको औचित्य समाप्त भएकोले रिट निवेदनको मागदावी बमोजिम उत्प्रेषणको आदेशद्वारा बदर गरिरहनु परेन। स्वतन्त्र विद्यार्थी युनियनको कानून बमोजिम आवधिक रुपमा हुनुपर्ने निर्वाचन विभिन्न कारणले समयमा हुन सकेको नदेखिँदा कानून बमोजिम स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सहभागी हुने विद्यार्थीहरूको मताधिकारको सुनिश्चितता गरी निर्वाचन गन विपक्षीहरुका नाममा परमादेशको आदेश जारी गर्नुपर्ने देखिन आयो।’
मध्यपश्चिम विश्वविद्यालयको स्ववियुको निर्वाचन ०८१ भदौ २८ मा तोकिएको थियो। निर्वाचन अधिकृतको कार्यालयले भदौ ५ मा प्रकाशन गरेको अन्तिम नामावलीमा आफूहरूको नाम समावेश नभएपछि बायोलोजी समूह पाँचौं सेमेस्टरका विद्यार्थी रञ्जित विकलगायतका विद्यार्थीहरूले भदौ २६ मा विश्वविद्यालयको कार्यकारी परिषद्लाई विपक्षी बनाइ रिट दायर गरेका थिए।
उक्त रिटको सुनुवाई गर्दै भदौ २७ मा उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोख्रेलको एकल इजलासले निर्वाचन रोक्न अल्पकालीन अन्तरिम आदेश दिई कार्यकारी परिषद्का नाममा कारण देखाऊ आदेश समेत जारी गरेको थियो।
त्यसपछि असोज ६ मा दुवै पक्षलाई बोलाएर तत्कालीन न्यायाधीशद्वय लोहित चन्द्र शाह र माधव धितालको संयुक्त इजलासले स्ववियु निर्वाचन विरुद्ध परेको रिटमा अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइरहन नपर्ने आदेश दिएको थियो।
स्ववियुको सभापतिका लागि विभिन्न दलसँग आबद्ध विद्यार्थी संगठन र स्वतन्त्रसहित सात जनाको उम्मेदवारी परेको थियो। असोज ८ मा नेपाल विद्यार्थी संघले समयमा निर्वाचन गर्नुपर्ने माग राख्दै केन्द्रीय कार्यालयमा तालाबन्दी समेत गरेको थियो।
मध्यपश्चिम विश्वविद्यालयमा पहिलो स्ववियुको निर्वाचन २०७३ भदौ ८ मा भएको थियो। ०७६ सालमा तत्कालीन पदाधिकारीहरूको पदावधि सकिएपछि विश्वविद्यालय स्ववियुविहीन बनेको छ।
तीन वर्षपछि ०७९ चैत ५ मा विश्वविद्यालयमा स्ववियुको निर्वाचनको तालिका तोकिए पनि अन्तिममा आएर विद्यार्थीले आफूहरू मतदानमा सहभागी हुन पाउनुपर्ने मागसहित अदालतमा रिट दायर गरेपछि निर्वाचन प्रक्रिया स्थगित भएको थियो। विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसमा निर्वाचन ०७९ चैतमै निर्वाचन भइसकेको छ।
यसअघि स्ववियु निर्वाचन समितिले प्रकाशित गरेको नामावली अनुसार मध्यपश्चिम विश्वविद्यालयमा तीन हजार ३ सय ८९ जना विद्यार्थी छन्।
माघ २८, २०८१ सोमबार २२:०१:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।