मान्छेहरू कांग्रेस कम्युनिष्टको विचारमा गयो भन्छन् तर, कम्युनिष्ट कांग्रेसको विचारमा आएको हो : मन्त्री प्रदीप

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कम्युनिष्टहरूले नेपाली कांग्रेसको विचार आत्मसात गरिरहेको बताएका छन्।
सोमबार ‘गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति’ विषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै उनले कांग्रेस कम्युनिष्टको विचारमा गयो भन्ने टिप्पणी भइरहेको भन्दै उनले कम्युनिष्टहरूले कांग्रेसको विचार आत्मसात गरेको बताए।
नेपाली कांग्रेसका नेतासमेत रहेका उनले भने, ‘नेपाली कांग्रेस पार्टी नेपालको राष्ट्रिय राजनीतिको विश्वविद्यालय हो। यही विश्वविद्यालयमा पढेर अरु नेताहरूले दल खोल्नुभयो। दलको नेता बन्नुभयो। मान्छेहरू भन्ने गर्छन् कांग्रेस कम्युनिष्टको विचारमा गयो। तर होइन। कम्युनिष्ट कांग्रेसको विचारमा आएको हो। नेपाली कांग्रेसको विचार कम्युनिष्टहरूले आत्मासात गरेका हुन्।’
त्यस्तै, उनले कांग्रेसले जनताको पक्षमा काम गरेर देखाउन सत्तालाई महत्व दिइरहेको बताए।
आज नेपालको राजनीतिमा प्रतिस्पर्धी शक्तिहरू परम्परागत संख्यामा सीमित नरहेको भन्दै आलोचनात्मक कोणबाट नभई अझै परिष्कृत हुन जरुरी रहेको उनको भनाई छ।
‘प्रतिस्पर्धीसँगै हामी सत्तामा बसेको स्थिति छ। सत्तालाई विशेष महत्व दिएर गएका हौं। जनताको पक्षमा काम गरेर देखाउन सत्तालाई महत्व दिएका छौं। निर्वाचन प्रतिस्पर्धात्मक हुन्छ नै तर आज नेपालको राजनीतिमा प्रतिस्पर्धी शक्तिहरू परम्परागत संख्यामा सीमित छैनन्। बढेको स्थिति छ,’ उनले भने।
माघ २८, २०८१ सोमबार २१:३२:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।