ज्ञानेन्द्र शाहीको चेतावनी 'भोलि मान्छे मारिए भने?'

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले अन्तर्जातीय विवाह गरेका सर्लाहीमा सत्यन्द्र राम र नेहा रौनियारको विषयमा गृहमन्त्रीको जवाफ मागेका छन्।
सोमबारको प्रतिनिधि सभामा बैठकमा सत्यन्द्र र नेहाको सम्बन्ध छुटाउन गृहमन्त्रीको निर्देशनमा प्रहरीले पक्राउ गरेकाले यस विषयमा गृहमन्त्रीले संसद्मा आएर जवाफ दिनुपर्ने भन्दै उनले सभामुखसँग रुलिङको माग गरे।
'सत्ययन्द्र राम र नेहा रौनियारको बिहे प्रकरणमा जसरी गृहमन्त्रीले/प्रहरीले पक्राउ गर्यो, यो विषयमा बोल्दै संसद्मा गर्दा आधा बोलेपछि माइक काटिन्छ। विधिको शासनमा यस्तो हुँदैन, उनले भने, सभामुखलाई अनुरोध गर्न चाहन्छु- गृहमन्त्रीलाई यसको जवाफ माग गर्नको लागि त्यो कुर्सीको रुलिङ गरिदिनुस्।'
सभामुखलाई आग्रह गर्दै उनले अगाडि थपे, 'होइन भने, भोलि हतियार उठेर मान्छे मारिन खोजे भने यसको जवाफ कसले दिन्छ?'
त्यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले यही विषयमा कुरा राख्दै गर्दा माइक काटिएको थियो।
अन्तर्जातीय विवाहमा राज्य संयन्त्रले नै दमन गरेको भन्दै सन्तोषले भनेका थिए, ‘व्यवस्था परिवर्तन गर्यौं, संविधान निर्माण गर्यौं, तर आज हरेक वर्ष दलित समुदायले अन्तर्जातीय विवाह गरेकै कारण मारिनुपर्ने, प्रेम गरेका कारण दलित समुदाय घरबास उठीबास लाग्नुपर्ने, अनि राज्यका संयन्त्र, राज्यका संस्थान दलितका अधिकार कुल्चन र दलितलाई मान्छे नहुन दिनका लागि प्रयोग हुनुपर्ने?’
आकस्मिक समयमा बोलेका उनले यसो भन्दै आफ्ना सबै कुरा राख्न नपाई समय सकिएर माइक काटिएपछि पनि केही समय बोलिरहेका थिए।
बरहथवाका नेहा रौनियार र सत्यन्द्र रामको प्रेमविवाहमा गृहमन्त्री लेखकको निर्देशनमा छुटाउन खोजिएको आरोप छ।
रामविरूद्ध बालविवाहको मुद्दा दायर गरिएको र प्रहरीले उनलाई मुम्बईसम्म पुगेर पक्राउ गरेको समाचार सार्वजनिक भएको थियो। तर, गृहमन्त्री रमेश लेखकले भने यसको खण्डन गर्दै आएका छन्।
माघ २८, २०८१ सोमबार १९:२७:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।