रविसहितको धरौटी रद्द गरी थुनामा राख्न माग गर्दै निवेदन, २९ पृष्ठको प्रमाण पेश

काठमाडौं : स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको बचत रकम अपचलन प्रकरणमा धरौटीमा छुटेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित चार जनालाई पुर्पक्षका लागि धरौटीमा छाड्ने आदेश बदर गरी थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन दायर भएको छ।
उच्च सरकारी वकिल कार्यालयले सोमबार लामिछानेसहित निवर्तमान लेखा समिति सदस्य सुनिता नेवा, वर्तमान कर्जा उपसमिति सदस्य कमल लामा र गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्व सञ्चालक छविलाल जोशीविरुद्ध २९ पृष्ठको निवेदन दायर गरेको हो।
जिल्ला अदालत काठमाडौँले यसअघि लामिछानेसँग ६० लाख, जोशीसँग ५० लाख, नेवासँग ४ लाख र लामासँग ३ लाख धरौटी माग गरेको थियो। उनीहरू सबैले तोकिएको धरौटी रकम बुझाएर छुटेका थिए।
सरकारी वकिलको उल्लेख गरेको ६ बुँदे प्रमाण
पुर्पक्षका लागि थुनामा राख्न माग गरिएको निवेदनमा सरकारी वकिलले ६ बुँदे प्रमाणहरू उल्लेख गरेका छन्।
निवेदनमा लामिछानेले गोर्खा मिडिया नेटवर्क प्रालिमा १५ प्रतिशत सेयर खरिद गरी प्रबन्ध निर्देशक बनेको र पछि सो सेयर जीवी राईलाई १ करोड ८० लाख रुपैयाँमा बिक्री गरेको उल्लेख छ।
ग्लोबल आइएमई बैंकमा लामिछाने, जोशी र राईमध्ये एक जनाको हस्ताक्षरबाट सञ्चालन हुने खाता खोलिएको, लामिछानेको हस्ताक्षरबाट स्वर्णलक्ष्मी सहकारीलाई १६ वटा चेकमार्फत ९० लाख १६ हजार रुपैयाँ भुक्तानी गरिएको निवेदनमा उल्लेख छ।
लामिछानेको हस्ताक्षरबाट ग्लोबल आइएमई बैंक खाताबाट ८२० वटा चेकमार्फत ४९ करोड १८ लाख बढीको वित्तीय कारोबार गरिएको, लामिछाने र अन्य सञ्चालकहरूबाट १,२३७ वटा चेकमार्फत ५९ करोड ४९ लाख बढीको कारोबार भएको र सहकारीको सफ्टवेयर सिस्टममा लामिछाने र राईको नाममा फोरह्विलर र इको सेभेन सिटर भ्यानको लागि ८८ लाख बढीको ऋण लिएको विवरणलाई रविसहितलाई पुर्पक्षमा राख्ने प्रमाणको रूपमा उल्लेख गरिएको छ।
सङ्गठित अपराधको आरोप
सरकारी वकिलले लामिछानेसहितका प्रतिवादीहरूले सहकारीको मूल्य, मान्यता र नियम विपरीत विभिन्न कम्पनीहरूमा बिना धितो ऋण प्रवाह गरी व्यक्तिगत प्रयोजनमा खर्च गरेको र गोरखा मिडियाको आवरणमा बचतकर्ताहरूको रकम ठगी गरेको आरोप समेत लगाएको छ।
निवेदनमा लामिछानेले सहकारीको रकम अपचलन गरी ठगी गरेको कुरा स्पष्ट रूपमा देखिएको र यो कार्य सङ्गठित रूपमा भएको थप जिकिर समेत गरेको छ।
रविसहित पूरक अभियोग पत्र दायर भएकाहरू पोखराको सुर्यदर्शन सहकारी, काठमाडौँको स्वर्णलक्ष्मी, चितवनको सहारा र बुटवलको सुप्रिम सहकारीको रकम अपचलनको अभियोगमा धरौटीमा छुटेका छन्। सानो पाइला सहकारीको पूरक अभियोग पत्र दर्ता हुन बाँकी छ।
उता जिल्ला अदालत कास्कीले रविसहितलाई धरौटीमा छोड्न दिएको आदेश विरुद्ध समेत उच्च अदालतमा निवेदन परिसकेको छ। रविले समेत धरौटी रकम धेरै भएको दाबीसहित कास्कीको उच्च अदालतमा निवेदन दिएका छन्।
माघ २८, २०८१ सोमबार १९:०८:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।