पाथीभरा केबलकार विवाद : विरोधी समूहद्वारा व्यवसायी केन्द्रित आन्दोलनको घोषणा

काठमाडौं : सरकार वार्तामा गम्भीर नरहेको दाबी गर्दै पाथीभरा केबलकार निर्माणको विरोधमा रहेको मुक्कुमलुङ ताङ्सेःप चुम्भोका ११ संस्था र १० राजनीतिक दलले व्यवसायी केन्द्रित आन्दोलन घोषणा गरेका छन्।
उनीहरूले सोमबार जारी गरेको विज्ञप्ति वार्ताप्रति सरकार गम्भीर नरहेको उल्लेख छ। तर आन्दोलनको नयाँ कार्यक्रम भने केबलकार निर्माणमा संलग्न लगानीकर्तामध्ये एक केन्द्रित छ।
विज्ञप्तिमा उनीहरूले ताप्लेजुङका प्रतिनिधि सभाका सांसद योगेश भट्टराईको विरोध गरेका छन्। भट्टराईले स्थानीयको रोजगारी र केबलकारमा स्थानीयको सेयरबारे प्रस्ट भएर केबलकार निर्माण अगाडि बढाउनुपर्ने धारणा सार्वजनिक गरेका थिए।
संयुक्त विज्ञप्तिमा उनीहरूले केबलकार निर्माणमा संलग्न चन्द्र ढकाल संलग्न पब्लिक लिमिटेड रहेको ग्लोबल आईएमई बैंक र आईएमई समूह केन्द्रित आन्दोलन घोषणा गरेका हुन्। विज्ञप्तिमा माघ २९ देखि फागुन ९ सम्म ग्लोबल आईएमई बैंक र आईएमई समूहको बहिष्कार गर्ने उल्लेख छ।
फागुन ६ देखि ८ सम्म 'मुक्कुमलुङ बचाऔँ पदयात्रा' गर्ने, फुङलिङ नगरपालिका कार्यालय घेराउ गर्ने, केबलकार निर्माण सामग्रीको ढुवानीमा रोक लगाउने, काठमाडौं, इटहरी र बिर्तामोडमा विरोध सभा गर्ने र कोशी प्रदेशका सबै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने उल्लेख छ।
मुक्मुलुङ पाथीभरा केबलकार निर्माण विवाद चर्किएपछि पछिल्लो समय विरोधमा कोशीका पहिचानवादी राजनीतिक समूह मिसिएका छन्। सरकारले वार्ताका लागि समिति गठन गरेर माघ २२ मा सहमति गरेको थियो।
दोस्रो वार्ता माघ २७ मा गर्ने तोकिए पनि आन्दोलनरत समूहका प्रतिनिधीहरुले सरकारी कर्मचारीको नेतृत्वमा नभई मन्त्रीको नेतृत्वमा उच्चस्तरीय समिति गठन गर्न माग गरेका थिए।
सोमबारै उता फुङलिङ नगरपालिका प्रमुख अमिर मादेनले ‘नो केबलकार समूह’ लाई वार्ताबाट नभाग्न आग्रह गरेका थिए। उनले नगरपालिकामा सात वटा वडाका अध्यक्षलाई सँगै राखेर आन्दोलनरत समूहलाई वार्ताबाट नभाग्न र सहमति गरेर आउन आग्रह गरेका थिए।
माघ २८, २०८१ सोमबार १८:५४:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।