अख्तियार चुक्न र झुक्न नहुनेमा राष्ट्रपतिको जोड

अख्तियार चुक्न र झुक्न नहुनेमा राष्ट्रपतिको जोड

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोग कसैको दबाब र प्रभावमा नपरी काम गर्नुपर्नेमा जोड दिएका छन्। आयोगको ३४औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले कसुर र कसुरदारको वर्गीकरण नगरी निष्पक्ष रूपमा काम गर्न आयोग तयार रहेको विश्वास व्यक्त गरे।

‘भ्रष्टाचारको प्रकृति र स्वरूपमा आएको परिवर्तनसँगै अनुसन्धान र अभियोजन प्रक्रियालाई पनि आधुनिकीकरण गर्नुपर्छ,’ राष्ट्रपति पौडेलले भने।

उनले सूचना प्रविधिको विकाससँगै भ्रष्टाचारका तरिकाहरू पनि जटिल बन्दै गएको भन्दै चिन्ता व्यक्त गरे।

राष्ट्रपतिले भ्रष्टाचारसम्बन्धी विधेयकहरू लामो समयदेखि अलपत्र परेकोप्रति चिन्ता व्यक्त गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराए। नेपाल भ्रष्टाचार नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको पक्षधर राष्ट्र भएकाले सोही अनुरूप कानुन र संयन्त्र परिमार्जन गर्नुपर्ने उनको भनाइ थियो।

तीन पत्रकारलाई सुशासन पत्रकारिता पुरस्कार 

कार्यक्रममा सुशासन पत्रकारिता पुरस्कारबाट नयाँ पत्रिकाका नवराज मैनाली, नागरिक दैनिकका टपेन्द्र कार्की र कान्तिपुर टिभीका रमेश धमलासहित तीन जना सञ्चारकर्मी पुरस्कृत भए। सभामुख देवराज घिमिरेले प्रत्येक विजेतालाई जनही २५ हजार रुपैयाँको पुरस्कार प्रदान गरेका थिए।

माघ २८, २०८१ सोमबार १८:०८:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।