सर्लाहीको अन्तर्जातीय विवाह प्रकरणमा गृहमन्त्रीको राजीनामा मागिरहेका सुनार पक्राउ

काठमाडौं : सर्लाहीमा अन्तर्जातीय विवाह गरेका दलित युवामाथि अत्याचार गरेको आरोपमा गृहमन्त्री रमेश लेखकलाई बर्खास्तीको माग गर्दै आएका खगेन्द्र सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दलितका लागि दलित अभियानका संयोजकसमेत रहेका सुनारलाई सोमबार संसद भवनको निषेधित क्षेत्रमा प्रवेश गर्न लागेपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए।
'निषेधित क्षेत्रमा प्रवेश गर्न थालेपछि नियन्त्रणमा लिएका हौं,' एसपी बोहोराले भने।
गत मंगलबारदेखि सुनारको अभियानले अन्तर्जातीय प्रेमविवाह गरेका सर्लाहीका दलित युवा सत्येन्द्रकुमार रामलाई गृहमन्त्रीकै प्रत्यक्ष संलग्नतामा यातना दिइएको भन्दै काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गर्दै आइरहेको छ।
अभियन्ता सुनारले जनताको जिउधनको सुरक्षाको जिम्मा लिएर बसेको संस्थाको प्रमुख र नेतृत्वबाट भएको अपराध क्षमायोग्य नहुने भन्दै गृहमन्त्रीले राजीनामा दिएर मात्र पनि नहुने भनिरहेका छन्।
बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामको प्रेमविवाहमा गृहमन्त्री लेखकको निर्देशनमा छुटाउन खोजिएको आरोप छ।
रामविरूद्ध बालविवाहको मुद्दा दायर गरिएको र प्रहरीले उनलाई मुम्बईसम्म पुगेर पक्राउ गरेको थियो। अन्तर्जातीय विवाह छुटाउनकै लागि गृहमन्त्रीकै निर्देशनमा यसरी यातना दिइएको उनीमाथि आरोप छ।
तर, गृहमन्त्री लेखकले भने त्यसमा आफ्नो संलग्नता नभएको दाबी गरेका छन्।
माघ २८, २०८१ सोमबार १६:२४:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।