जब संसद्मा बिराजभक्तले कृष्ण सेन इच्छुकको कविता सुनाए

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलका उपनेता बिराजभक्त श्रेष्ठले सामाजिक सञ्जाल नियन्त्रण विधेयक सरकारको आलोचक दमन गर्ने हतियारको रुपमा ल्याइएको बताएका छन्।
सोमबार प्रतिनिधिसभाको बसेको बैठकमा शून्य समयमा बोल्दै उनले कानुन सबैका लागि हो भने सत्ताबाट झूट बोल्नेहरू पहिलो कारबाहीको सूचीमा पर्नुपर्ने बताए।
उनले भने, ‘के हामीसँग यति धेरै जेल छन्? जहाँ सामाजिक सञ्जाल नियन्त्रण विधेयकपछिका कसुरदारहरू राख्न सकियोस्। सरकार खुद्रे कुरामा लाखौँ करोडौं जरिबानाको मेन्यु ल्याउँदैछ। नागरिकलाई तपाईं बोल्दै हुनुहुन्छ भनेर धम्क्याइरहेको छ। तर झुटो आश्वासन दिने भ्रम फैलाउने असम्भव बाचा गर्नेहरू चाहिँ उन्मुक्त? के यो विधेयक साँच्चै न्यायका लागि हो कि सरकारको आलोचक दमन गर्ने हतियार?’
उनले कानुन सबैका लागि हो भने शक्ति र सत्ताबाट झूट बोल्नेहरू पहिलो कारबाहीको सूचीमा पर्नु पर्ने बताए।
सांसद श्रेष्ठले विधेयक मार्फत सरकारले प्राप्त अभिव्यक्ति स्वतन्त्रताको अधिकार खोस्न खोजेको आरोप लगाए।
उनले भने, ‘गंगालाल, धर्मभक्तले लडेर अभिव्यक्ति स्वतन्त्रताको अधिकार अहिले कुन बयलगाडाको चक्का खुस्किएर अड्किएको हो मैले बुझ्न सकेको छैन। सरकार त्यो बयलगाडाको चक्का लुकाउन खोजिँदैछ?’
यही सन्दर्भमा श्रेष्ठले कृष्ण सेन इच्छुकको कवितासमेत सुनाए।
‘हाम्रा विचारहरूमा प्रतिबन्ध लगाउँदै
हाम्रा ओठहरूमा ताल्चा झुन्ड्याउँदै
तिमी भन्छौ, गाउन त गाउ तर यो गीत नगाउ
हामी भने त्यही गीत गाइरहन्छौं।’
माघ २८, २०८१ सोमबार १५:२९:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।