नारायणहिटी हत्याकाण्डबारे राजा वीरेन्द्रका एडिसी शाहको नयाँ दाबी ‘घाइते दीपेन्द्रलाई रत्नले घृणाले हेर्दै नहेरी फर्किनुभयो’

नारायणहिटी हत्याकाण्डबारे राजा वीरेन्द्रका एडिसी शाहको नयाँ दाबी ‘घाइते दीपेन्द्रलाई रत्नले घृणाले हेर्दै नहेरी फर्किनुभयो’

काठमाडौँ : २०५८ जेठ १९ मा नारायणहिटी दरबारमा भएको राज परिवारको हत्याकाण्डबारे नेपाल प्रहरीका पूर्व एआइजी सुरेन्द्र बहादुर शाहले नयाँ तथ्य सार्वजनिक गरेका छन्। कुनै समय राजा वीरेन्द्र शाहको व्यक्तिगत सुरक्षामा समेत खटिएका उनले दरबार हत्याकाण्डको मुख्य व्यक्ति तत्कालीन युवराज दीपेन्द्र शाह नै भएको दाबीसहित अहिलेसम्म सार्वजनिक नभएका केही नयाँ घटनाक्रम सार्वजनिक गरेका छन्।

शाहले पत्रकार सुधीर शर्माको कार्यक्रम 'अनि अब' मा कुरा गर्दै दरबार हत्याकाण्ड भएको दिनका नयाँ विषयहरू सार्वजनिक गरेका हुन्।

उनले शर्मासँगको कुराकानीमा भनेका छन् ‘मोटिभेट कसले गर्यो त्यो फरक कुरा हो तर घटनामा दीपेन्द्र संलग्न हुन् भन्नेमा शङ्का रहेन।’

कार्यक्रम अनि अबमा पूर्व एआइजी शाह र पत्रकार शर्मा।नेपाल प्रहरीमा प्रहरी निरीक्षकको रूपमा प्रवेश गरेका शाह एआइजी तहमा पुगेर अवकाश पाएका प्रहरी अधिकारी हुन्। उनी नेपाल प्रहरीमा विशेष ब्युरोमा रहेर माओवादी सशस्त्र द्धन्द्धकालमा गोप्य अप्रेसनहरूको बनाउनेदेखि लिएर अलकायदको सम्पत्तिको खोजीमा राष्ट्र संघको विशेष समितीमा समेत खटिएका प्रहरी अधिकारी हुन्।

गम्भीर अपराधको अनुसन्धानमा दक्खल भएका उनले हत्याको घटनामा दीपेन्द्र संलग्न रहेको दाबी गर्न अहिलेसम्म सार्वजनिक नभएको नयाँ तथ्यलाई समेत उल्लेख गरेका छन्। उनले सो कार्यक्रममा जे उल्लेख गरे यो त्यसैको आधारमा लेखिएको हो।

राजा वीरेन्द्रको एडिसी, नीराजनसँग दोस्ती

राजाको सुरक्षामा सैनिकसँगै प्रहरीसमेत दरबारमा खटिने गरेका थिए। उनी प्रहरी निरिक्षकहुँदै २०४७ देखि २०४९ सम्म दुई वर्ष राजा वीरेन्द्रको एडिसीको रूपमा नारायणहिटी दरबारमा खटिएका थिए।

उनी दरबारमा एडिसीको रूपमा खटिदा अधिराजकुमार नीराजनसँग मित्रता भएको थियो। जेठ १९ मा नीराजनले उनको साथीको घरमा बेलुकाको खाना खानेगरी सुरेन्द्रलाई बोलाएका थिए।

त्यो दिन दरबारमा पार्टी रहेको र उनले बेलुका नौ बजे आसपास आउँछु भनेकाले शाह नीराजनले भने अनुसार उनको साथीको घरमा गएका थिए।

तर नौ बजिसक्दा पनि नीराजन आएनन्। त्यसपछि उनले दरबारमा प्रहरीबाट एडिसीमा खटिएका निरज श्रेष्ठलाई फोन गरे। उनले अहिले कुरा मिल्दैन घर गए हुन्छ भनेर फोन राखेपछि शाह आफ्नो घर गए।

घर गएर सुत्ने तरखर गरिरहेकै बेलामा उनलाई फोन आयो। फोन गर्ने उनै श्रेष्ठ थिए। श्रेष्ठले दरबारमा के भयो सबै घटना बताए।

‘त्यो भन्दा सकिङ समाचार के हुन्छ र । त्यसपछि कुरा गर्दागर्दै म गाडीमा चढेर निस्किएर सिधै आइजिपीको निवासमा गएँ’ उनले भनेका छन्।

त्यो बेलामा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक थिए प्रदीप शमशेर जबरा। जबराले उनलाई आफ्नो बेडरुममै बोलाए। उनी बेडरुममै गएर ‘दरबारको घटना थाहा भयो’ भनेर सोधे।

‘के पड्क्यो भन्छन्। के हो भएको थाहा छ?’ दरबारभित्र त्यो बेलासम्ममा राजा वीरेन्द्रसहित अधिकांश दरबारका सदस्यहरू मारिइसकेका थिए। राणाले सोधेपछि शाहले आफूलाई जानकारी भएको सबै घटना भने।  

त्यो बेलामा राणाको बडीगार्ड थिए रविन्द्रप्रताप शाह। उनीहरू तीनै जना सिधै छाउनीमा रहेको सैनिक अस्पताल गए। त्यहाँ जाँदा प्रधानसेनापति प्रज्वल शमशेर राणासहित अधिकांशहरू पुगिसकेका थिए।

‘अधिकांश छाउनीमा पुगिसकेका थिए। त्यहाँ के कुरा गर्ने भन्ने भयो। कोही कसैसँग बोलेका थिएनन्।’

बडामहारानी रत्नले घृणा गर्दै घाइते नाति दीपेन्द्रलाई हेरिनन्

करिब राती एक बजेतिर अस्पतालमा बडामहारानी रत्न राज्यलक्ष्मी शाह आइन्। त्यहाँ डा खगेन्द्र श्रेष्ठसहित बडामहारानी रत्नको पछि लागे। अस्पतालमा वीरेन्द्र, ऐश्वर्या, नीराजन लगायतका दरबारका सदस्यहरूको शव अलग अलग कोठामा राखिएको थियो।

डा श्रेष्ठले रत्नलाई यो सरकारको, यो महारानीको भन्दै कोठाहरू देखाउँदै लगेका थिए। त्यो बेलामा दीपेन्द्र अचेत थिए। उनको उपचार चलिरहेकै थियो।

दीपेन्द्रको उपचार भइरहेको कोठा अगाडि पुगेपछि डा श्रेष्ठले ‘क्राउन प्रिन्सको यहाँ छ भनेर देखाए। तर बडामहारानी रत्नले घृणाको दृष्टिले फरक्कै फर्किएकी थिइन्।

‘कसले प्रोत्साहित गर्यो त्यो अलग कुरा भयो तर आफ्नो बजैले मर्न लागेको नातिलाई नहेरी जसरी घृणा गरेर फरक्क फर्किनुभयो त्यसले नै के भएको हो देखायो, शाहले कार्यक्रममा भनेका छन्।

अस्पतालमा रत्नले प्रधानसेनापति राणालाई ‘सिमानाको रक्षा गर्नु’ भनेर निर्देशन दिएको शाहले बताए।

‘दरबारमा केही भयो भने राजापछि बडामहारानीले इन्चार्ज लिने परम्परा रहेछ। उहाँलाई सीमामा केही होला कि भन्ने चिन्ता रहेछ। सीमाको सुरक्षा गर्नु भनेर निर्देशन दिनुभयो।’

त्यो बेलामा ज्ञानेन्द्र शाह पोखरामा थिए। उनी हेलिकप्टरमा बिहान ८ बजे अस्पताल आइपुगे ज्ञानेन्द्र शाह आइपुगेपछि सबैलाई घर जान भनेको शाहले बताए।

‘वीरेन्द्र सरकार दीपेन्द्र बाबु छोरा मात्र थिएनन्। उत्तराधिकारी पनि थिए। युवराज राजा हुन चाहन्छन् नै। राज्य सत्ताका लागि नेपालमा धेरै घटना भएको छ’ उनले भनेका छन्।

घटनाको अनुसन्धानमा लापरबाही

दरबार हत्याकाण्डको योजनाकार को हो? घटनाका प्रत्यक्षदर्शीदेखि लिएर तत्कालीन अवस्थामा गठन गरेको छानबिन समितिसम्मले दीपेन्द्र शाहलाई नै कारक उल्लेख गरेका छन्। शाहले पनि त्यही दोहोर्याए। तर तत्कालीन छानबिन समितिको प्रतिवेदनका आधारमा मात्र अझैँ पनि दरबारमा गोली चलाउने दीपेन्द्र हुन् भन्नेमा शङ्काहरू भने देखिन्छ।

यसको सबैभन्दा ठुलो कारण हो फितलो अनुसन्धान। दरबार हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्या, नीराजन, श्रृतीसहितका परिवारका सदस्य मारिए। अचेत रहेकै बेलामा दीपेन्द्र राजा घोषित भए। उनको पनि मृत्यु भएपछि ज्ञानेन्द्र राजा घोषित भएका थिए।

मृतकहरूको पोस्टमार्टम भएन।  घटनालाई अपराधको रूपमा नहेरी राजनीतिक रूपमा हेरेर छानबिनको जिम्मेवारी प्रधानन्यायाधीशले पाए। समितिमा प्रधानसेनापति केशवप्रसाद उपाध्यक्ष र सदस्यमा सभामुख तारानाथ रानाभाट र विपक्षी दलको नेता माधवकुमार नेपाल तोकिए। पछि नेपालले समितिमा बस्न अस्वीकार गर्दै राजीनामा दिएपछि दुई जनाले छानबिन गरेर प्रतिवेदन सार्वजनिक गरेका थिए।

‘अनुसन्धान सम्झेर एकदम दुख लाग्छ। अनुसन्धानको जिम्मेवारी त अनुसन्धान गर्ने निकायलाई दिनुपर्ने हो। तर घटनालाई राजनीतिक रूपमा हेरियो। अनुसन्धान गर्नेलाई दिइएन।’

माघ २८, २०८१ सोमबार ००:५४:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।