स्कुल बस दुर्घटनामा आठ वर्षीय बालक र चालकको मृत्यु, ३९ जना घाइते

स्कुल बस दुर्घटनामा आठ वर्षीय बालक र चालकको मृत्यु, ३९ जना घाइते

काठमाडौँ: काठमाडौँको दक्षिणकाली नगरपालिका-३ मा विद्यालयको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि विभिन्न अस्पतालमा पुर्याइएको छ।

विद्यालयका विद्यार्थी बोकेको बस दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा गाडीका चालक र एक आठ वर्षीय बालक रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जानकारी दिए।

उक्त दुर्घटनापछि उद्धारको काम सकिएको र केही घाइतेलाई आफन्तले समेत उपचारका लागि लगेको उनले बताए। अन्य ३९ जनाको भने विभिन्न अस्पतालमा उपचार भइरहेको छ। विद्यालयको छुट्टी भएर घर जाने क्रममा भन्ज्याङमा जुनकिरी इङ्लिस स्कुलको बस दुर्घटना भएको प्रहरीले जनाएको छ।

बा १ क ५६६४ नम्बरको उक्त बसमा ८ कक्षासम्मका विद्यार्थी सवार रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

माघ २७, २०८१ आइतबार २१:२७:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।