स्वास्थ्यले ५० करोड भुक्तानी नदिँदा गंगालालमा १५ वर्ष मुनिकाको मुटुको निःशुल्क शल्यक्रिया रोकियो, प्रतिविरामी २ लाख ४० हजार मात्र छुट

स्वास्थ्यले ५० करोड भुक्तानी नदिँदा गंगालालमा १५ वर्ष मुनिकाको मुटुको निःशुल्क शल्यक्रिया रोकियो, प्रतिविरामी २ लाख ४० हजार मात्र छुट

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एकातर्फ निःशुल्क उपचारको घोषणाको बाढी नै ल्याएका छन्। उनले निःशुल्क उपचारको घोषणा गरेका शीर्षकहरू हेर्ने हो भने दर्जन नाघिसक्यो। कार्यान्वयन पक्ष कस्तो छ त? सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रको अवस्था नै काफी होला।

शहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रले  १५ वर्ष मुनिका बालबालिकाको मुटुसँग सम्बन्धित शल्यक्रियालगायतको उपचार निःशुल्क गर्दै आएको थियो। मन्त्रालयले दिनुपर्ने आर्थिक स्रोत रोकिदा चार महिनादेखि निःशुल्क उपचार रोकिएको छ।

दश वर्षदेखि अस्पतालले १५ वर्ष मुनिका बालबालिकाको मुटुसँग सम्बन्धित शल्यक्रियालगायतको उपचार निःशुल्क गर्दै आएको थियो। करिब चार महिनादेखि अस्पतालले यसमा शुल्क लिन थालेको छ।

पहिला सत् प्रतिशत निःशुल्क हुनेमा अहिले मुटुको शल्यक्रिया गर्नुपर्ने बालबालिकालाई दुई लाख ४० हजार रकम मात्रै छुट दिन्छ। गङ्गालाल स्रोतका अनुसार  रोगको प्रकृति अनुसार अधिकतम १५ लाखसम्म खर्च हुनसक्छ। पहिला जति खर्च लागे पनि सत् प्रतिशत निःशुल्क हुन्थ्यो। तर, अहिले अस्पतालले जम्मा २ लाख ४० हजार मात्र छुट दिने गरेको छ। मुटुको शल्यक्रिया गर्नुपर्ने बालबालिकालाई त्यो भन्दा बढी खर्च लागे बिरामी पक्षले नै पैसा तिर्ने गरेका छन्।

अस्पताल स्रोतका अनुसार सरकारले १५ वर्ष मुनिका पाँच सय जना बालबालिकाको मुटुको शल्यक्रिया तथा औषधि उपचारका लागि १२ करोड मात्रै रकम दिएको छ।

१२ करोड रकमलाई पाँच सय व्यक्तिमा भाग लगाउँदा एक जना बालबालिकाको उपचारका लागि दुई लाख ४० हजार मात्र पर्न आउँछ। त्यसैले गङ्गालाले अहिले दुई लाख ४० हजार रकम बराबर मात्रै छुट दिएको हो।

‘सरकारले १२ करोड छुट्टाएर १५ वर्ष मुनिका पाँच सय वटा अप्रेसन गर भन्यो। पहिला सरकारले जति रकम दिए पनि अस्पतालले निःशुल्क उपचार गर्ने गरेको थियो। अस्पतालले खर्च विवरण स्वास्थ्यमा पठाउँथ्यो। उनीहरूले केही मात्र भुक्तानी गर्थे,’ती कर्मचारीले भने,‘ केही रकम अस्पतालले व्यहोरेर सबै निःशुल्क हुन्थ्यो। अब भने सरकारले जति रकम दियो त्यही बाँडेर जति हुन्छ त्यति मात्र छुट दिन थालियो।’

स्रोतका अनुसार सरकारले सामाजिक सुरक्षा बापत निःशुल्क घोषणा गरेको आर्थिक वर्ष २०७९-८० र २०८०-०८१ को ४८ करोड रकम गङ्गालाल अस्पताललाई भुक्तानी गरेको छैन। सो रकमको भुक्तानी रोकिएपछि अस्पतालले आन्तरिकस्रोतबाट बेहोर्ने खर्च रोकियो। गङ्गालाल प्रशासन हरेक महिना भुक्तानी बाँकी रहेको बिल अनुसारको भुक्तानीका लागि मन्त्रालयमा ताकेता गर्ने गरेको देखियो। तर रकम भुक्तानी भने भएको छैन।

‘पुरानो ४८ करोड नै आएको छैन। बजेट भित्र त बस्नुपर्यो। भोली फेरी हाम्रो पेमेन्ट नगर्लान् भनेर अहिले सरकारले जति रकम दिएको छ त्यो बाँडेर प्रतिव्यक्तिको भागमा जति पर्छ त्यति छुट दिएका हौँ,’ अस्पतालका एक अधिकारीले भने।

गङ्गालाल प्रशासन स्रोतका अनुसार यो आर्थिक वर्षको माघ अन्तिमसम्ममा करिब साढे चार सय जना भन्दा बढी बालबालिकाको शल्यक्रिया भइसकेको छ। अब बाँकी त्यही ५० जनाले मात्र त्यो साढे दुई लाख छुट पाउने हुन्। त्यसपछिका बालबालिकाको अप्रेसन गर्नुपरे सबै शुल्क बेहोर्नुपर्ने देखियो।

गङ्गालाल स्रोतका अनुसार पहिले बालबालिकाको उपचारमा स्वास्थ्य मन्त्रालयले तोकिदिएको भन्दा बढी खर्च लागेमा स्वास्थ्य मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा भुक्तानी रकम मागिन्थ्यो। सरकारले पनि बेलाबखत रकम दिँदै आएको थियो। ‘खर्च भएको रकम अस्पतालले गनगन गरेपछि स्वास्थ्य (मन्त्रालय)ले अर्थलाई पठाउँथ्यो, अर्थले अलिअलि दिन्थ्यो,’ती चिकित्सकले भने।

 ती चिकित्सकका अनुसार गङ्गालालले बालबालिकालाई निःशुल्क उपचार गरे बापत सरकारसँग लिने रकको बक्यौता रकम बढ्दै गयो। त्यसपछि गङ्गालालले सरकारले जति रकम दिन्छ त्यो रकम बराबरको मात्रै छुट दिने निर्णय गर्यो।

‘अस्पतालमा निःशुल्क सेवा दिएर हरेक वर्षको बक्यौता बाँकी रहँदारहँदै अस्पतालको पैसा धेरै फस्यो,’ती चिकित्सकले भने,‘निःशुल्क गर्दा थप बक्यौता बढ्दै जाने भयो। अनि अस्पतालले कसरी धान्छ?’

माघ २७, २०८१ आइतबार २१:०१:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।