व्यवसायी उमाको प्रसव पीडा र खुसी : ‘बच्चा मरिसक्यो, डस्टविनमा फ्याँके हुन्छ' भनेको सुन्दा सहनै सकिन !

सानैदेखि मौरी मन पराउने उद्यमी उमा खत्रीले १२ वर्षदेखि सुदूरपश्चिम प्रदेशमा मौरी पालन गर्दै आएकी छन्। मौरी पाल्नेदेखि महको बजारीकरणमा समेत उनी संलग्न छिन्। कैलालीको घोडाघोडी नगरपालिकामा उनको आफ्नै फार्म र पसल छ।
सानै उमेरमा विवाह भएपछि गृहिणीमै सीमित भएकी उनले सन्तान हुर्की सकेपछि भने आफ्नो पेसा सुरु गरिन्। गाउँमा भएको लघु उद्यम सम्बन्धी तालिम लिएर उनी व्यवसायीक रूपमै उद्यम क्षेत्रमा लागिन्। अहिले उनी नेपाल मौरी पालक महासङ्घको केन्द्रीय उपाध्यक्ष, नेपाल किसान महासङ्घको केन्द्रीय सदस्य र नेपाल किसान मौरी संयोजक छिन्।
उनको दुई सन्तान काठमाडौँमै बसेर पढिरहेका छन्। उनै उद्यमी उमाले उकेराको नियमित स्तम्भ प्रसव पीडा र खुसीमा आफ्नो मातृत्व अनुभव यसरी सुनाइन् :
OOO
मेरो माइती दाङमा हो। छ वटा दाइहरू पछि म र मेरो बहिनी जन्मिएको। त्यै भएर पनि हो कि हाम्रो आमाले हामीलाई झन् बढी माया र स्याहार गरेर हुर्काउनु भयो।
हाम्रोमा बाटो राम्रो भए पनि स्कुल टाढा भएकाले पढाइमा अलि समस्या नै भयो। त्यसमाथि मेरो त बिहे पनि सानै उमेरमा भएपछि पढाइलाई निरन्तरता दिन सकिन।
एसएलसी भन्दा अगाडि दिनुपर्ने टेस्ट चैँ पास गरेँ। त्यसपछि त बिहे भइहाल्यो। बिहे भए लगत्तै बच्चा पनि भयो। विवाह मेरै रोजाइमा भएको हो। बुवाआमा सबैले मन पराउनु भयो। मेरो श्रीमान् र मेरो उमेर अन्तर चैँ १८ वर्षको थियो। बचपनमै बिहे गरियो, दुनियाँदारी त थाहा नै भएन नि।
सुदूरपश्चिममा त्यो बेला धेरै गाह्रो थियो। बिहे गरेको अर्को महिना रजस्वला हुँदा छाउ बस्नु पर्यो। हाम्रो दाङमा त्यस्तो चलन थिएन। बिहानै रजस्वला भएपछि मैले जेठानी दिदीलाई भनिहालेँ। उहाँले त सुन्ने बित्तिकै 'पाप्रोको बोट छोइन्छ पर जाऊ' भन्नुभयो। एउटा पाप्रोको बोट छोइएला भनेर मलाई यस्तो भन्नु भयो भनेर कस्तो रुन मन लागेको थियो।
पछि त कहिले नदेखेको ठाउँमा बस भन्नुभयो। पाँच दिन छाउ बस्नु पर्यो। एउटा पर्दा लगाएको सानो कोठा थियो। त्यहाँ एउटा खाट थियो। मलाई पाँच दिनसम्म निन्द्रा पनि लागेन।
हरेक महिना बस्न पर्थ्यो होला। तर अर्को महिना त मेरो गर्भ रहिसकेछ। त्यसपछि भने मैले कहिले छाउ बस्नु परेन। मैले जेठानी दिदी, जेठाजुहरू सबैसँग कुरा गरेँ। उहाँहरूले छोरीहरूलाई पनि बस्न दिनु भएन। सुदूरपश्चिममा पहिलाको जस्तै नभए पनि अहिले पनि धेरैले छाउ बार्ने गर्छन्।
म गर्भवती भएको दश महिनासम्म कुनै खोप लगाइन। पेट ठुलो हुन थालेपछि लाजले गर्दा बाहिर निस्किन मन लागेन। अहिले त सामाजिक सञ्जालले सब खुला छ नि। त्यसबेला त एकदम लजाएर बस्नुपर्ने अवस्था थियो। वान्ता भएको भयै। अनि खाना पनि खान मन नलाग्ने। सुरुमा त गर्भवती भएको भनेर चाल पनि पाइएन।
श्रीमानले पो अनुमान गर्नुभयो। त्यही भएछ। मलाई नौ महिनासम्मै वान्ता भइनै रह्यो। केही खायो कि वान्ता हुने भएर म सुतेको सुत्यै गर्थेँ। श्रीमान् काममा जानुहुन्थ्यो। दिनभर एक्लै हुँदा सुतेरै समय बित्यो।
अहिले यसो सोच्दा प्रेसर लो भएको हो कि जस्तो पनि लाग्छ। निकै कमजोरी पनि भयो। नानी जन्माउने बेलामा त मेरो शरीरमा रगतकै कमी भएछ। तौल पनि जम्मा ३९ केजी मात्र थियो त्यसबेला।
कम्मर अगाडि-पछाडि नमज्जाले दुख्ने रहेछ। मलाई स्याहार्न आमा दश/बाह्र दिन अघि नै आउनु भएको थियो। आमालाई मैले त सहनै सकिन भनेर भनेँ। आमाले तिमीलाई व्यथा लागे जस्तो छ भन्नुभयो। त्यो पीडा सम्झिँदा त ओहो! आमा बन्न धेरै गाह्रो छ। यति धेरै पीडा हुने रहेछ कि। तर फेरि आफ्नो सन्तान देखेपछि त्यो पीडा सबै क्षणभरमै हराउने रहेछ।
तीन दिनसम्म मलाई व्यथा लाग्यो। श्रीमान् हुनुहुन्नथ्यो। आमाले सकेसम्म घरमै हुन्छ कि भनेर बस्नु भएको थियो। श्रीमान् आउनु भएपछि हामी बसमा चढेर हस्पिटल गयौँ। आमा घरमै बस्नुभयो।
मलाई निकै गाह्रो भइसकेको थियो। हस्पिटलमा गएर हेर्दा त बच्चाले दिसा खाइसकेको रहेछ। नर्मल नै जन्म दिए पनि औजार हालेर झिक्नु पर्यो।
केही कुराहरू हामीलाई पहिला नै थाहा हुनुपर्ने रहेछ। नानी साढे तीन केजीको थिइन्। नानीलाई मेरो छातीमा राख्दिनुभयो। मलाई कस्तो माया लागिसकेको थियो। तर नानु रुँदै रोएन। नरोए पछि बच्चा त मर्यो भन्ने कुरा आयो।
नर्सहरूले मेरो टाँका लगाउँदै थिए। उनीहरूले कुरा गर्दै गर्दा 'बच्चा मरिसक्यो डसबिनमा फाल्दिऊ' भनेको सुनेँ। मैले त जुरुक्क उठेर मेरो बच्चालाई फालिस् भने म तँलाई केस गर्दिन्छु भनेछु।
नानी दुई घण्टासम्म रोएकै थिइन। पछि आइसियुमा राखियो। के-के गर्यो कुन्नि, रोएको आवाज आयो। अगाडि त दिसा खाइसकेको बच्चा काँ बाच्छ भनेको सुनेको थिएँ। नानी रुन थाले पछि दूध खुवाएँ। त्यहाँ बस्नै मन लागेन। आमा पनि साथमा हुनुहुन्नथ्यो। मैले श्रीमानलाई भनेर तुरुन्तै घर फर्किएँ। पुसको चिसोमा हामी बस चढेर घर आइहाल्यौँ।
घरमा आमाले पकाएको मिठो खाना खाएँ। नौ महिनासम्म राम्रोसँग खान नपाएको मैले त्यसबेला मज्जाले खाएँ। आमाले नै मलाई सबै स्याहार्नु भयो।
नानीलाई पनि नौ महिना भएपछि दादुराको खोप लगाउन पाएँ। तेल लगाउन सुँडेनी आउनुहुन्थ्यो। आमा र श्रीमानको साथ भएकाले मलाई निकै सहज भयो।
अर्को दुई वर्ष पछि त फेरि अर्को सन्तान भयो। त्यो बेला पनि गर्भ रहेको तीन महिनापछि मात्र थाहा भयो। बाबुको समयमा फेरि खाना पनि बेस्सरी रुचेको, वान्ता पनि भएन।
मेरो ज्यान पनि निकै ठुलो भएको थियो। त्यसबेला महेन्द्रनगरमा थिएँ। हस्पिटलमा दिदी पनि हुनुहुन्थ्यो। दिदी नै हस्पिटलमा भएपछि मलाई निकै सहज भयो। दोस्रो सन्तानको समयमा अनुभवले पनि काम गर्ने रहेछ।
दुवै सन्तान सानो-सानो भएकाले छोरीले छोराको जस्तो स्याहार पाउन सकिनन्। दूध पनि दुई वर्ष नपुग्दै छुटाउनु पर्यो। बाबुको समयमा धेरै बिरामी(व्यथा) पनि भएन। दिदी हस्पिटलमा हुनु भएकाले उहाँकै निगरानीमा सबै राम्रोसँग भयो।
बाबुको समयमा सबै सहज भए पनि उसको तौल भने नानीको जति थिएन। त्यो बेला सन्चो नभएर आमा आउन पाउनु भएन। लगभग दुई महिना जति हामीले काम गर्ने दिदी राख्यौँ। पछि सहज हुँदै गयो।
एउटा मात्र सन्तान हुनुभन्दा दुइटा हुनु राम्रो रहेछ जस्तो लाग्छ मलाई। अहिले दुवै जना स्नातक पढ्ने भइसके। तर पनि उनीहरू मलाई सानै लाग्छन्।
दुवैजना काठमाडौँको होस्टेलमा बसेर पढिरहेका छन्। दुवैको स्वभाव एकदम भिन्न छ। बाबु चर्को स्वरले बोलेको मन पराउँदैन। नानु फेरी चर्को स्वरले बोल्न पर्ने खालको छिन्।
बाबुलाई पनि सानैदेखि होस्टेलमा राखेको हो। उसले 'मलाई मार्दिनु तर होस्टेलमा नराख्नु' भन्थ्यो। त्यति भनेपछि उसलाई मैले सानोमा धेरै होस्टेलमा राखिन। त्यै भएर बाबु धेरै म सँग नै बस्यो। त्यही कारणले कहिलेकाहीँ छोरीले उसलाई भन्दा भाइलाई बढी माया गरेको सोच्छिन् कि जस्तो लाग्छ। तर एउटा आमाको लागि जति धेरै सन्तान भए पनि सबै बराबर नै हुन्छन्।
माघ २७, २०८१ आइतबार २०:१५:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।