विवादित सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभामा पेस भयो, एमाले बाहेकका दलका सांसद विपक्षमा

विवादित सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभामा पेस भयो, एमाले बाहेकका दलका सांसद  विपक्षमा

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले विवादित सामाजिक सञ्जाल सम्बन्धित विधेयक राष्ट्रिय सभामा पेस गरेका छन्।

अभिव्यक्ति स्वतन्त्रताको उपभोग गरेकै आधारमा जेल र उच्च जरिवानाको प्रावधान राखिएको विधेयकको तीव्र विरोध भइरहेको छ।

आइतबारको राष्ट्रिय सभा बैठकमा गुरुङले सामाजिक सञ्जाल सम्बन्धित विधेयक पेस गर्दै मन्त्री गुरुङले सामाजिक सञ्जालको प्रयोगलाई  व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन स्पष्ट कानुन निर्माण गर्नुपर्ने आवश्यकता रहेको दाबी गरे।

उनले भने,‘सामाजिक सञ्जालको प्रयोगलाई  व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन स्पष्ट कानुन निर्माण गर्नुपर्ने आवश्यकता छ। नेपालमा सूचना प्रविधि क्षेत्रमा भएको विकास सँगसँगै सामाजिक सञ्जालको प्रयोग बढिरहेको छ। सामाजिक सञ्जालको प्लेटफर्म र प्रयोगकर्तालाई जिम्मेवार तथा जवाफदेही बनाई मर्यादित बनाएर नियमन गर्ने सम्बन्धमा बनेको विधेयक पेस गर्दछु।’

विधेयकमा सामाजिक सञ्जालमा राखिएका सामग्रीमा लाइक र कमेन्ट गरेको आधारमा समेत जरिवाना र जेल हुनसक्ने प्रावधान राखिएको छ। सरकारले व्यवस्थित बनाउने बहानामा अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने मनसाय राखेपछि त्यसको तीब्र विरोध भइरहेको छ।

विधेयकबारे सरकारमा रहेका एमाले र नेपाली कांग्रेसमध्ये कांग्रेसका सांसदहरू संशोधनको पक्षमा देखिएका छन्। तर एमालेका नेतृत्वदेखि सांसदहरुसम्म विधेयक जस्ताको त्यस्तै पारित गर्नुपर्ने पक्षमा देखिएका छन्। माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू पनि विधेयकको विपक्षमा देखिएका छन्।

माघ २७, २०८१ आइतबार १७:२६:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।