आतिशीले दिल्लीको मुख्यमन्त्री पदबाट राजीनामा दिइन्

आतिशीले दिल्लीको मुख्यमन्त्री पदबाट राजीनामा दिइन्

एजेन्सी : विधानसभा चुनावमा आफ्नो पार्टीको पराजयपछि आतिशीले आइतबार दिल्लीको मुख्यमन्त्री पदबाट राजीनामा दिएकी छन्।

आम आदमी पार्टी (आप) की नेत्रीले आइतबार राज निवासमा उपराज्यपाल भिके सक्सेनालाई आफ्नो राजीनामा बुझाइन्।

४३ वर्षीया आतिशी गत सेप्टेम्बरदेखि दिल्लीको मुख्यमन्त्रीको रूपमा कार्यरत थिइन्। अरविन्द केजरीवालले आफ्नो पदबाट राजीनामा दिएको केही दिनपछि उनी शीर्ष पदमा पुगेकी थिइन्।

उनी सुष्मा स्वराज र शीला दीक्षितपछि दिल्लीको तेस्रो महिला मुख्यमन्त्री बनेकी थिइन्। 

दिल्ली विधानसभा चुनावमा आप (आम आदमी पार्टी) ले ठूलो झट्का बेहोरेको छ। आपले आफ्नो पहिलेको ६२ सिटको तुलनामा मात्र २२ सिट मात्र जित्न सकेको छ।

आम आदमी पार्टीलाई सत्ताच्यूत गरेर २७ वर्षपछि राष्ट्रिय राजधानीमा सत्तामा फर्किएको भारतीय जनता पार्टी (भाजपा) ले शनिबार दिल्ली चुनावमा ऐतिहासिक जनादेश प्राप्त गरेको छ।

तथापि आतिशीले कडा प्रतिस्पर्धापछि कालकाजी सिट कायम राखिन् र भाजपाका रमेश बिधुडीलाई तीन हजार ५२१ मतको अन्तरले पराजित गरिन्।

आफ्नो व्यक्तिगत विजयलाई स्वीकार्दै, आतिशीले दिल्ली विधानसभा चुनावमा आपको हार स्वीकार गरिन् र भाजपाविरुद्ध लडाइँ जारी राख्ने प्रतिबद्धता जनाइन्।

विशेष गरी पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदियासहित पार्टीका धेरै शीर्ष नेताले आफ्नो निर्वाचन क्षेत्रहरू गुमाएको बेला कालकाजी निर्वाचन क्षेत्रमा आतिशीको जित आपका लागि विशेष छ।

भाजपाका परवेश वर्मा नयाँदिल्ली सिटमा पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालमाथि चार हजार मतभन्दा बढीको निर्णायक जितसहित विधानसभा चुनावमा विशाल विजेताको रूपमा उदाए।

राष्ट्रिय राजधानीमा आफ्नो पुनरागमनको आशा गरेको कांग्रेस फेरि कुनै पनि सिट जित्न असफल भयो।

माघ २७, २०८१ आइतबार १४:३६:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।