स्कुलबाट घर फर्किँदै गरेकी किशोरीलाई मारिदिने धम्की दिएर बलात्कार, आरोपी किशोर फरार

काठमाडौं : धनगढीस्थित एक विद्यालयको कक्षा-७ मा अध्ययनरत किशोरी विद्यार्थी बलात्कृत भएकी छन्।
गत बिहीबार साँझ बाजुराबाट अध्ययनका लागि धनगढी आएकी १४ वर्षीया किशोरीलाई एक किशोरले आफ्नै घरमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार स्कुलबाट घर फर्किने क्रममा सडकमा रोकेर युवकले धम्क्याउँदै आफूसँग नहिँडे मारिदिने धम्की दिएका थिए। त्यसपछि उनी धनगढीकै १८ वर्षीय किशोरसँगै उनको घर पुगेकी थिइन्।
‘हामीले शनिबार मात्र घटनाबारे जानकारी पाएका हौं’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी कबिन्द्रसिंह बोहराले भने, ‘किशोरीमाथि घरमै बलात्कार गरेको आरोप छ। आरोपित युवक फरार छन्।’
आरोपी युवकको खोजी भइरहेको डिएसपी बोहराले बताए।
माघ २७, २०८१ आइतबार ११:१२:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।