दिल्लीमा एक सिट नजितेको कंग्रेसले आम आदमी पार्टीको भोट काटिदियो, जसको फाइदा भाजपालाई!

एजेन्सी : करिब तीन दशकदेखि दिल्लीमा चुनावी जितको प्रतीक्षा गरिरहेको भारतीय जनता पार्टी (भाजपा)लाई अन्ततः राज्यको सत्ता प्राप्त भएको छ। योसँगै आम आदमी पार्टी (आप) ११ वर्षपछि सत्ताबाट बाहिर भएको छ।
भाजपाले यसअघि पछिल्लोपटक सन् १९९३ मा दिल्लीमा चुनाव जितेको थियो। पछिल्ला केही निर्वाचनमा पनि भाजपाले दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीको अनुहार देखाएर प्रतिस्पर्धा गरेको थियो। तर, जित टाढा रह्यो।
भाजपाले यसबीचमा राज्यस्तरमा पटक–पटक नेतृत्व फेरे पनि त्यसको फाइदा भएको थिएन।
भाजपाले योपल्ट पनि सम्भावित मुख्यमन्त्रीका रूपमा कसैलाई प्रस्तुत गरेन। तर, पार्टी मोदीका नाममा जनतामाझ उत्रियो र जित्न सफल भयो।
यो पनि : दिल्लीमा आम आदमी पार्टीले लज्जास्पद चुनाव हारेपछि केजरीवालले दिए भाजपालाई बधाई
बिबिसी हिन्दीले यो पटक भाजपाको जितमा ठूलो भूमिका खेलेका पाँच कारण औंल्याएको छ।
बजेटको प्रभाव
एकातिर दिल्लीमा विधानसभा निर्वाचनको प्रचारप्रसार भइरहेको थियो, अर्कोतर्फ बजेटमार्फत वित्तमन्त्री निर्मला सीतारमणले वार्षिक १२ लाख (भारू)सम्मको आम्दानीलाई करमुक्त बनाउने घोषणा गरिन्।
दिल्लीमा फेब्रुअरी ५ मा विधानसभा निर्वाचनका निम्ति मतदान भएको थियो। त्यसको ठिक चार दिनअघि गरिएको यो घोषणाले मध्यम वर्गमा ठूलो प्रभाव पारेको मानिएको छ।
यो पनि : दिल्लीमा आम आदमी पार्टी लज्जास्पद हार्नुको कारण- केजरीवालले आफ्नो छवि आफैं बिगारेका हुन्?
गएको जनवरीको मध्यमा केन्द्र सरकारले आठौँ तलब आयोग गठनको घोषणा गरेको थियो। दिल्लीमा ठूलो संख्यामा केन्द्रीय र राज्य सरकारका कर्मचारीहरू बस्छन्। र, यो घोषणाले भाजपालाई ठूलो चुनावी फाइदा पुर्याएको विश्वास गरिन्छ।
आम आदमी पार्टीविरुद्ध सरकारविरोधी लहर
आम आदमी पार्टी विगत ११ वर्षदेखि लगातार दिल्लीको सत्तामा थियो। यो अवधिमा आप सरकारले दिल्लीका जनताका निम्ति धेरै कार्यक्रम घोषणा पनि गर्यो।
निःशुल्क बिजुली र पानी, महिलाका निम्ति निःशुल्क बस यात्रा, वृद्धवृद्धालाई निःशुल्क तीर्थयात्रालगायत कार्यक्रम घोषणा गरिएको थियो। तर, के भयो कि दिल्लीका जनताको रोजाइमा यो पल्ट आम आदमी पार्टी परेन।
योपटक भाजपालाई अर्को एक फाइदा भएको मानिन्छ र त्यो हो, दिल्ली नगर निगम (एमसीडी)मा आम आदमी पार्टीको कब्जा।
यो पनि : दिल्ली निर्वाचनमा केजरीवाल र सिसोदिया पराजित, मुख्यमन्त्री आतिशी नौ सय मतले विजयी
आम आदमी पार्टीले एमसीडी नियन्त्रणमा लिएपछि पनि निगमसँग सम्बन्धित समस्या कम नभएको विज्ञको बुझाइ छ।
राज्य र एमसीडी दुवैमा सत्तामा रहे पनि राजधानीमा सरसफाइ, सडक र खानेपानीसँग सम्बन्धित कैयौँ अव्यवस्था छ। त्यसका निम्ति जनताले आम आदमी पार्टीलाई जिम्मेवार ठानेका छन्।
भ्रष्टाचारको आरोप
आम आदमी पार्टीको पराजयको एक प्रमुख कारण यसका ठूला नेता कथित मदिरा घोटालामा संलग्न रहेको आरोपलाई पनि मानिन्छ।
घोटालाको आरोपमा घेरिएका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल मात्र नभई दिल्ली सरकारमा मन्त्री भइसकेका मनीष सिसोदिया र सत्येन्द्र जैन पनि चुनाव हारे।
यो पनि : दिल्ली विधानसभा निर्वाचनमा भाजपाले बाजी मारेपछि के भन्छन् मोदी?
मुख्यमन्त्री हुँदा केजरीवालले आफ्नो सरकारी निवासमा गरेको परिवर्तनलाई भाजपाले ठूलो चुनावी मुद्दा बनाएको थियो। मोदीदेखि अमित शाहसम्मले चुनावी प्रचारका क्रममा यो मुद्दा उठाएका थिए।
टिकट वितरण र कंग्रेसको भूमिका
भाजपाले दिल्लीमा पछिल्लो चुनाव सन् १९९३ मा जितेको थियो। त्यसपछि राज्यका नेता–कार्यकर्तालाई एकताबद्ध गरी पार्टीलाई तल्लो तहमा व्यवस्थित राख्नु उसका निम्ति ठूलो चुनौती थियो।
भाजपाले अरू दलबाट आएका नेताहरूलाई पनि कुशलतापूर्वक प्रयोग गर्यो। भाजपाले यस्ता कतिपय नेतालाई विधानसभाको टिकट दियो। उनीहरू विजयी पनि भए।
यसमा भारतीय राष्ट्रिय कांग्रेसबाट भाजपामा गएका नेता तरविन्दर सिंह मारवाहको नाम महत्त्वपूर्ण छ। भाजपाले उनलाई टिकट दियो र मारवाहले जंगपुरा सिटबाट पूर्वउपमुख्यमन्त्री मनीष सिसोदियालाई हराए।
यस्तै, गान्धीनगरबाट पूर्वकांग्रेसी अरविन्दर सिंह लवली र मंगोलपुरीबाट राजकुमार चौहान विजयी भएका छन्।
यो पनि : दिल्लीमा भाजपाको सरकार बन्ने निश्चित भएपछि मोदीले गराए मुख्यमन्त्रीको सचिवालय सिल
कतिपय विशेषज्ञ यो विश्वास गर्छन् कि कंग्रेसले निर्वाचनमा एक सिट नजिते पनि यसले आम आदमी पार्टीको भोट घटायो। त्यसले भाजपालाई लाभ भयो।
यो निर्वाचनमा कंग्रेसले करिब ७ प्रतिशत मत पायो। उसले सन् २०२० को निर्वाचनमा पाँच प्रतिशत पनि मत प्राप्त गर्न सकेको थिएन।
हालको चुनावी नतिजाको पछिल्लो आँकडाअनुसार आम आदमी पार्टी र भाजपाबीच दुई प्रतिशत मतको मात्र अन्तर छ। यसरी हेर्दा भाजपाको जितमा कंग्रेसको प्रदर्शनको पनि थोरै भूमिका देखिन्छ।
नेसनल कन्फरेन्सका नेता तथा जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाले पनि आप र कंग्रेसबीचको लडाइँको फाइदा भाजपालाई भएको ट्विटमार्फत संकेत गरेका छन्। -बिबिसी हिन्दी।
यो पनि : दिल्लीमा २७ वर्षपछि भाजपाको कम्ब्याक, जनताले पत्याएनन् कंग्रेसलाई
माघ २७, २०८१ आइतबार ०८:१९:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।